जीतपुर-सिमराको राजस्व बढ्यो «
Logo

जीतपुर-सिमराको राजस्व बढ्यो

जितपुर– जीतपुरसिमरा उपमहानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा पहिलो चौमासिकमा ५१ प्रतिशतले राजस्व वृद्धि गरेको छ । आन्तरिक ठेक्का, विभिन्न प्रकारका कर, व्यवसाय, सेवा शुल्क बापतको राजस्वमा जीतपुरसिमरा उपमहानगर गतिशील बनेपछि राजस्व वृद्धि हुन थालेको हो ।

पहिलो चौमासिकमा आन्तरिक आयतर्फ गत आर्थिक वर्षको तुलनामा २ करोडले वृद्धि भई ६ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । उपमहानगरले भूमि तथा मालपोत करमा करिब एक करोडको वार्षिक लक्ष्य राखेकोमा पहिलो चौमासिकमा करिब ५४ लाख राजस्व संकलन भएको छ ।

अखेटोपहार तथा कवाडी करका नाममा २ करोड ५७ लाख रुपैयाँको लक्ष्य राखेको उपमहानगरले जडीबुटीसहितको कर संकलनमा सवा २ करोड राजस्व असुली गरेको छ । त्यस्तै वार्षिक ८० लाख रुपैयाँको बहाल शुल्क उठाउने लक्ष्य राखिएकोमा ७७ लाख संकलन भैसकेको छ । वार्षिक तीन करोडको लक्ष्य राखिएको सम्पत्ति करमा कार्तिक मसान्तसम्ममा ५१ लाख राजश्व संकलन भएको राजस्व शाखा प्रमुख रमेश सुवेदीले जानकारी गराए ।

लक्ष्य अनुसारको दुई शीर्षकमा कमजोर राजस्व संकलन देखिएको बताउँदै सुबेदीले भने,‘आर्थिक मन्दीको असर व्यवसाय दर्ता दस्तुरमा करिब २ लाख र नक्सा पासमा करिब २२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।’ उपमहानगरको साह, दुधौरा, बालगंगा खोलामा ८२ लाख ४० हजार ३६६ घन मिटर मात्र नदीजन्य पदार्थ उत्खनन गर्न ६ करोड ४७ लाख रुपैयाँ न्यूनतम कबोल रकममा बोलपत्र आह्वान गरिएको छ ।

औद्योगिक कोरिडोर क्षेत्र भएकै कारण विकास निर्माणमा अत्यधिक खपत हुने नदीजन्य पदार्थको उक्त कबोल रकम दोब्बर हुन सक्ने बताइएको छ । जिल्लाको अन्य स्थानीय तहहरूमा आन्तरिक आय खस्कँदो अवस्थामा रहे पनि जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेलले आन्तरिक आय वृद्धिका लागि राजस्व परिचालन संयन्त्र चलायमान गर्न थाले पछि आन्तरिक आयमा वृद्धि हुन थालेको बताइएको छ ।

यता नगर उद्योग वाणिज्य संघले उपमहानगरको राजस्व वृद्धिको आधार उद्योग व्यवसाय भए पनि निजी क्षेत्रले कार्यालयमा राजस्व तिर्ने सहज वातावरण नभएको आरोप लगाएको छ । उपमहानगरले कर तिर्न कार्यालय सहज नबनाएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए । उनले उपमहानगरलाई राजस्व तिर्न कर बाहेक उद्यमी व्यापारीले अतिरिक्त रकम दिनु पर्ने अवस्थामा हट्न्पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्