‘पृथ्वीको तापक्रम रोक्न पहल गरौं’ «
Logo

माग्ने होइन, अधिकारका रुपमा एजेण्डा राख्छाैं

‘पृथ्वीको तापक्रम रोक्न पहल गरौं’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप–२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरुले भोग्नुपरेको असरका बारेमा विश्व समुदायलाई ध्यानाकर्षण गराउने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री दाहालले सम्मेलनमा माग्नेका रुपमा नभएर अधिकारका रुपमा आफ्ना एजेण्डा राख्ने तयारीका साथ आफू सम्मेलनमा आएको बताए । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिको रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई कोप–२८ मा बलियो ढंगबाट उठाउने जानकारी दिए ।

दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको बताए । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै दाहालले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए । यूएईका लागि नेपाली राजदूत क्षेत्रीले यूएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्न सकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघका कार्यकारी सचिव सायमन स्टीलले पृथ्वीको बढ्दो तापक्रम रोक्नका लागि सबै मुलुकहरुले आ–आफ्नो स्थानबाट पहल अगाडि बढाउन आग्रह गरेका छन् । बिहीबारबाट दुबईमा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धी (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन उद्घाटन गर्दै उनले पृथ्वीको तापक्रम रोक्ने पहलका लागि आग्रह गरेका हुन् । पृथ्वीको बढ्दो तापक्रमका कारण भावी दिनमा मानव जगत तथा पृथ्वीकै अस्तित्व संकटमा पर्न सक्ने भन्दै उनले सबैलाई सचेत रहन आग्रह गरे ।

‘हामीले जलवायु परिवर्तनका जटिल समस्याहरु सामना गरिरहेका छाैं । मानव जातिको लागि सबैभन्दा तातो वर्ष बन्दै गइरहेकोे छ । जलवायु परिवर्तनकै कारण जनताको जीवन र जीविकोपार्जनमा समस्या थपिएको छ,’ उनले भने, ‘ग्लोबल स्टकटेकको सामना गर्नुपर्ने भएको छ । हाम्रो लक्ष्यमा प्रगति कस्तो छ र के कुरामा कमी भएको छ भन्ने मूल्यांकन गर्न सक्छौं । वर्तमान उत्कृष्ट अभ्यासहरूबाट हौसला लिँदै अझ बढी काम गर्न प्रोत्साहित गर्न सक्छौं ।’

कोप–२८ मा ग्लोबल स्टकटेकका विषयमा छलफल केन्द्रित हुनेछ । ग्लोबल स्टकटेक भनेको सन् २०१५ को पेरिस सम्झौताअनुरुप दिर्घकालीन लक्ष्य हासिल सम्बन्धि प्रगति विवरण हो । यही विषयको छलफलका साथ दुबईमा शिखर सम्मेलन समापन हुनेछ । कोप–२८ को स्टकटेकमा भएको छलफलका आधारमा जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण सम्बन्धि आगामी कदमहरुलाई निर्देशितका लागि संकल्प प्रस्ताव पारित गरिनेछ ।

कार्यकारी सचिव सायमनले मानवीय कारणले जलवायु परिवर्तनको समस्या बढ्दै गइरहेको र अब साझा हाम्रो घर अर्थात् पृथ्वीलाई सुरक्षित बनाउने प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए । ‘हामी हानि र क्षतिको प्रतिक्रियासहित यस संक्रमणबाट बच्न वित्तीय संयन्त्र बनाउनेछौं । हामी नयाँ ऊर्जा प्रणाली अलम्बनका लागि प्रतिबद्ध गर्ने निर्णय गर्छौं,’ उनले थपे, ‘हामी आगामी कोप–२९ मा नयाँ वित्तीय लक्ष्यका साथ अगाडि बढ्नेछौं । जलवायुको ठूलो परिवर्तनलाई कसरी वित्तपोषण गर्ने भनेर पनि सहमत हुनेछौं । सन् २०२५ को सुरुमा पक्ष मुलुकहरुले राष्ट्रिय रूपमा निर्धारित योगदानहरू प्रदान गर्नुपर्छ । अब तिनीहरूमा काम सुरु गर्नुहोस् ।’

सन् २०३० सम्ममा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्न गरिएको पेरिस सम्झौता कार्यान्वयन गर्न सबै पक्ष मुलुकहरु प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्