सहकारीको हिसाब मिलान गर्ने प्रतिबद्धता

पोखरा– ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले छिट्टै सहकारीको बचत कर्ताहरूको हिसाब मिलान गर्ने बताएका छन् । ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का अध्यक्षसमेत रहेका नेपालीले आफ्नो बुर्तिवाङ, पोखरा र काठमाडाैंमा मात्र १८ वटा घरसहितको जग्गा भएको दाबी गर्दै सेयरका बचतकर्ताहरूको अब उपयुक्त वातावरण भए लगत्तै हिसाब मिलान गर्ने बताएका हुन् ।
इमेज सहकारीमा १० हजार ऋण भएकाहरूले १० लाख माग्दै आफू र आफ्नो परिवारलाई नै ज्यान मार्ने धम्की दिएको कारण सम्पर्क बाहिर भएको उनले जानकारी गराए । मेयर तथा सहकारीका अध्यक्ष नेपालीले सबै क्षेत्रबाट आफ्नो सम्पत्तिमार्फत सहकारीका बचत कर्तालाई हिसाब हिमाल गर्ने वातावरण भए छिट्टै हिसाब मिलान गरी ढोरपाटन नगरपालिकामा फर्किने बताएका हुन् ।
आफ्नो सहकारीमा समस्या आउन थालेकोले ६ महिना भित्र सबैको हिसाब मिलान गर्छु भन्दा बचत कर्ताहरू एकै पटक सेयर फिर्ता माग्न आएसँगै केहीले आफूलाई ज्यान मार्ने धम्की दिएको कारण आफू सम्पर्क विहीन हुनु परेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी स्थापना गरी सर्वसाधारणको २ अर्ब अपचलन गरेको उक्त सहकारीका बचत कर्ताहरूले आरोप लगाउँदै आएका छन् ।
सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्क विहीन भएसँगै बचतकर्ताले पोखरा र बागलुङमा प्रहरी समक्ष उजुरीसमेत दिएका थिए । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाएको थियो ।
इमेज सहकारीका ५ सय २५ जना सेयर सदस्यहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा ५८ करोड बराबर हिनामिना गरेको आरोप लगाउँदै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बि.क.ले बताए । बागलुङमा उक्त सहकारीका ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको दाबी गरिएको छ ।