‘भाषण गरेर मात्र देश बन्दैन, उत्पादनमा लाग्नुहोस्’

सहकारी नेताहरुले भाषण मात्र गर्ने काम नगर्ने आरोप लाग्दै आएका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पनि उत्पादनमा लाग्न सहकारी नेताहरुलाई आग्रह गरेकी छिन् ।
‘सहकारीले भाषण मात्रै गर्छन् काम गर्दैनन भन्ने प्रश्न पनि उठिरहेको छ’ नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवसका अवसरमा विहिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले भनिन्, अब हरेक पालिकामा एक एक वटा उत्पादनका काम शुरु गर्नुपर्छ र त्यसको नेतृत्व सहकारी अभियन्ताले लिनुपर्छ ।’ उनले सबै अभियन्तालाई मन्त्रालयमा बोलाएर उत्पादनको काम गर्ने एक÷एक वटा होमवर्क दिएर पठाउनेसमेत बताइन् ।
सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नु भएन की भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफूले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको बताइन् । ‘सहकारी क्षेत्रलाई मन्त्रीले सहकारी बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ । तर मैले मज्जाले बुझेको छु’, उनले भनिन्, ‘अबको दिशा समृद्धि, विकासकै दिशा हो । सहकारीको स्रोत उत्पादनमा लगाउनुस् । उत्पादनमा लाग्नुस् भन्दा मन्त्रीले सहकारी बुझेन क्या हो भन्ने होइन । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस् भनेको सहकारीले सहकारीमै लगानी गर्नुस् भनेको हो ।’
लगानीको कुरा गरिरहँदा मन्त्री आफैले किन गरेन भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्ने भएकाले आफूले ३ गाउँको जमिन एकीकृत गरेर कागती खेती शुरू गरिसकेको मन्त्री अर्यालले जानकारी दिइन् । ‘मन्त्री आफैंले गरेन भन्ने प्रश्न उठ्ला भनेर मैले त शुरु गरिसकें । तीन गाउँका जमिन एकीकरण गरेर कागती लगाउन शुरु गरेका छौं । यस वर्ष ३० हजार कागती लगाउने योजना रहेको छ’ उनले भनिन् ।
सबै सहकारीमा एकै किसिमको व्याजदर निर्धारण गर्न सरकारले व्याजदर तोकेको भन्दै उनले यसमा अभियन्ताहरूको पनि साथ रहेको बताइन् । केही प्राविधिक कुरा मिलाउनु प¥यो भन्ने सुझाव आएको भन्दै त्यसलाई सक्दो सम्बोधन गर्ने आश्वासन पनि उनले दिइन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले उत्पादन र सेवा क्षेत्रमा काम गर्ने विभिन्न ऐन बाधक रहेको भन्दै त्यसलाई संसोधन गर्न माग गरे ।
दुई पत्रकार पुरस्कृत र सम्मानित
यसैबीच सहकारी पत्रकार समाजको स्थापना दिवसको अवसरमा दुई पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको छ । कार्यक्रममा ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कारबाट’ क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई र संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको छ । मन्त्री अर्यालले दुवै पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरिन् ।