Logo

कञ्चनपुरमा प्लास्टिकका झोला र फूल बेच्न नपाइने

महेन्द्रनगर- कञ्चनपुरमा प्लास्टिकका झोला र प्लास्टिक फूलगुच्छाहरू बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जिल्लामा प्लास्टिकका झोला फूलगुच्छाहरु बिक्री गर्न प्रतिबन्ध रहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाडपर्व र मेला महोत्सव तथा अन्य समारोहमा प्लास्टिक जन्य फुलगुच्छा लगायतका सामाग्री प्रयोगमा रोक लगाएको हो । त्यसैगरी ४० माइक्रोन भन्दा कमको प्लास्टिकका झोला र प्लास्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध लगाएको भएता पनि बजारमा भने, प्रयोगमा रहेको प्लास्टिकका झोलाहरूको माइक्रोन नाप्ने मसिन नहुँदा समेत चुनौती रहेको पाइएको छ ।

विशेष गरेर तिहार र छठ पर्वमा स्थानीयहरुले प्लास्टिकका मालाहरु र अन्य सामग्रीहरु बढी प्रयोग गर्ने गरेका छन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्लास्टिक जन्य फूलगुच्छा प्रतिबन्ध गर्न निर्देशन दिइसकेको जानकारी दिए । उनले भने, “प्रहरी र उद्योग वाणिज्य संघलाई प्लास्टिक जन्य फूलगुच्छा र प्लास्टिकका झोला प्रतिबन्ध भएको निर्देशन दिइसकेका छौं ।”

बजारमा बिक्री वितरण गरिएको भेटिए कानुन बमाजिम कारवाही गरिने उनले बताए । त्यसैगरी अहिले कतिपय किसानहरुले पुष्प खेती गरिरहेको अवस्थामा बजारमा आउने प्लास्टिकका फुलहरुले गर्दा अहिले किसानहरू मारमा परिरहेका छन् । साथै प्लाष्टिकका फूलहरुले वातावरणमा प्रत्यक्ष असर गर्ने भएकाले यसको प्रयोग र बिक्री वितरणमा प्रशासनले रोक लगाएको प्रति स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

प्रशासनले प्लास्टिक जन्य सामाग्रीमा प्रतिबन्ध लगाएपछि उद्योग वाणिज्य संघ कञ्चनपुरले व्यवसायिहरुलाई प्लास्टिकका फूलगुच्छा र प्लास्टिकका झोला बिक्री वितरण नगर्न आग्रह समेत गरेको छ् भने, कतिपय नगरपालिकाहरूले समेत प्लास्टिक जन्य फुलहरुमा प्रतिबन्ध गरेको छ । त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि प्लास्टिकका माला बिक्री वितरण गर्न नपाइने जनाएको छ । तिहारका बेला प्लास्टिकबाट बनेका माला बिक्री वितरण गर्न नपाइने भन्दै उक्त नगरपालिकाले पनि प्रतिबन्ध लगाएको छ ।

वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले उक्त नगरपालिकाले प्लास्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । प्लास्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए । अटेर गरेर प्लास्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानून अनुसार हदैसम्मको कारबाही गर्नुका साथै बिक्रीका लागि ल्याइएका माला समेत जफत गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्