Logo

मालागेडी टिप्न भ्याईनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटका स्थानीयबासीलाई अहिले मालागेडी टिप्न भ्याईनभ्याई छ । मालागेडीबाट निस्कने सुगन्धले हिजो आज छिल्लीकोट बासनादार बनेको छ ।

प्रायः रुख बिरुवा मालागेडी कै भएकाले पनि अचेल सो ठाउँको वातावरण मगमग बासना आउने भएको छ । लोपोन्मुख प्रजाति मालागेडी अर्थात सुगन्ध कोकिला छिल्लीकोट क्षेत्रमा प्रसस्त मात्रामा पाइने गरेको छ । हिमाली हावापानीको प्रभावमा हुर्केको मालागेडीको बोटबाट उत्पादन भएको फल उच्च गुणस्तरको रहेको बताइएको छ ।

अरु ठाउँमा फलेको मालागेडीभन्दा छिल्लीकोटमा फलेको मालागेडीले मुल्य राम्रो पाउने गरेको छ । बिहानदेखि साँझ सम्म स्थानीय बासी आफ्नो बारीमा मालागेडी संकलन गर्न मै व्यस्त हुने गरेका छन् । बाउ बाजेको पालामा रोपेको मालागेडीका रुख निकै ठूला ठूला छन् । पछिल्लो समय व्यावसायिक रूपमा यसको खेती गर्न थालेपछि रोपिएका रूपले पनि प्रसस्त मात्रामा फल दिन थालेको छ ।

जसले गर्दा दाङको यार्सा गुम्बाका रूपमा लिइएको मालागेडी बिक्री गरेर स्थानीयले मनग्य आम्दानी गर्ने गरेका छन् । दुधरासबाट उत्तर पहाडमा करिब १२ किलो मिटरको दुरीमा रहेको छिल्लीकोटमा मालागेडी जस्तै अरु थुप्रै आयुर्वेदिक वनस्पति रहेका छन् । सो क्षेत्रमा स्थानीयले व्यक्तिगत जमीन र सामुदायिक वन क्षेत्रमा पनि मालागेडी रोपेका छन् ।

‘यो हामीहरुको लागि यार्सा जस्तै हो, यहीबाट अक्सर हामीहरुको घर व्यवहार चल्छ, बहुमूल्य वस्तु भएकाले पनि धेरै फलोस् भन्ने अपेक्षा लिएका हुन्छौं, यो पटक विगत वर्षभन्दा राम्रो फलेको छ’, स्थानीय परबीर पुनले भने । उनले अचेल बिहानदेखि बेलुकी अबेरसम्म मालागेडीको रुख मुन फल संकलनमा बित्ने गरेको पनि बताए । दिनभर संकलन गरेको मालागेलीको फल सुकाएर बिक्री गर्ने गरेको उनले बताए ।

सोही ठाउँकी स्थानीय पुष्पा पुनका अनुसार छिल्लीकोटका सबै घरपरिवारले व्यावसायिक रूपमा मालागेडीको खेती गर्दै आएका छन् । स्थानीयको आम्दानीको मुख्य स्रोत नै यही मालागेडी हो । असोज लागेसँगै जामुन पाके जस्तै कालो भएर आफै खस्ने मालागेडी संकलन गर्न सजिलो होस् भन्दै रूख वरपरका सबै झाडी सफा गरेर मैदान बनाउने गरिन्छ । यसरी संकलन गर्दा छिटो छरितो हुने गरेको अर्का स्थानीय किसान पवित्रा रेउलेले बताइन् ।

‘यो ठाउँमा फलेका हरेक दाना मालागेडी निकै मुल्यवान छ । यो हामीहरुका लागि सबै थोक हाे,’ उनले भनिन् । पाखाभरी ठूलाठूला रूखमा फलेका मालागेडी यो पटक राम्रो फलेकाले छिल्लीकोट बासी विगत वर्षभन्दा धेरै आम्दानी हुनेमा विश्वस्त छन् । ‘गाउँमै ६ सय रुपैयाँ किलोसम्ममा बिक्री हुन्छ, यसका लागि हामीले बजार खोज्न जानु पर्दैन, मालागेडी किन्न मानिस घरमै आउँछन् । वर्षेनी यसको माग र मूल्य दुवै बढ्दै गएको छ’ रेउलेले भनिन् ।

नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्तीलगायतको कच्चा पदार्थ सुगन्ध कोकिला खरिद गर्न व्यापारीहरु घरमै पुग्ने गर्छन् । वैशाख–जेठमा फूल फूलेर असोजबाट पाक्न सुरु गर्ने यो वनस्पतीको फल निकै बासनादार हुन्छ । यहाँका हरेक घरका सदस्यहरु यतिबेला यो फल संकलन गर्न सरकारी तथा सामुदायिक वनमा भेटिन्छन् । स्कुले विद्यार्थीको दशैंतिहार विदा परेकाले पनि गाउँभरका सबै जसो यो समय मालागेडी संकलनमा व्यस्त हुने गरेका छन् ।

छिल्लीकोट क्षेत्रमा पर्ने खानी गाउँ, चुचुर्के, पिपलडाँडा, तिनुखोला, डोटेल डाँडा, पैयाँ टाकुरालगायतका आसपासमा मालागेडीका रुखै रुख छन् । ती रुख मुनि अचेल स्थानीयको दिन भर बसाइँ हुने गरेको छ । छिल्लीकोटमा खासगरी, धान बाहेक अरु अन्नबाली पनि राम्रो उब्जनी हुन्छ । तर, दुर्लभ वनस्पती सुगन्ध कोकिला अर्थात मालागेडी भने प्रशस्तै पाइन्छ । त्यहीँ मालागेडीको फल बेचेर स्थानीय किसानले वार्षिक झन्डै २ करोड रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् ।

हाल यो वनस्पतीको खेती अन्य पालिकामा पनि विस्तार हुने क्रममा छ । २६ जिल्लामा छिल्लीकोटबाट मालागेडीको बिरुवा पठाइएको स्थानीय कृषक परबीर पुन बताउँछन् । छिल्लीकोटमा सुगन्ध कोकिला अर्थात मालागेडी ठूलाठूला रुखहरु पहिल्यैदेखि थिए । सतीदेवीको दाहिने कुम पतन भएको मानिने मल्लागिरि पर्वतमा रहेका ती रुखमा फलेको बासनादार फललाई मालागेडी भनिन्थ्यो । यसको महत्व नबुझ्दा पहिले यो फल यत्तिकै खेर जान्थ्यो ।

तर अहिले छिल्लीकोटका बासिन्दाको आम्दानीको भरपर्दो स्रोत बनेको छ । रुख ठूलो हुने भएकाले फल पाकेर भुइँमा खसेको फल संकलन गरिन्छ । यो संकलन गर्न पनि सजिलो छ । बारीका काल्ना तथा वनमा आफै उम्रिएका रुख बूढो भएर सुक्दै जान थालेपछि यहाँका बासिन्दा नयाँ बिरुवा उत्पादन गरी हुर्काउने प्रयासमा छन् । पुराना रुख भएको ठाउँमा नयाँ बिरुवा रोपिएको छ । बिरुवाले ६ वर्षपछि फल दिने गर्छ । अहिले हरेक घरमा ५० बोटसम्म पुराना रुखहरु छन् ।

अरु नयाँ बोट पनि हुर्किइरहेका छन् । किसानको प्रयासलाई डिभिजन वन कार्यालयले पनि साथ दिएको छ । ‘डिभिजन वन कार्यालयले हरेक वर्ष आफ्ना नर्सरीहरुमा उन्नतजातका मालागेडीका बिरुवाहरु उत्पादन गरेर किसानहरुलाई निःशुल्क वितरण गर्दै आइरहेको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठ बताए । मुख्य गरी छिल्लीकोटमा पाइने सुगन्ध कोकिलाको अहिले तुलसीपुरकै १९ नम्बर वडा र बंगलाचुली गाउँपालिकाको १ देखि ५ नम्बर वडाका वनमा विस्तार गर्न थालिएको छ ।

छिल्लीकोटका किसानले मालागेडी बेचेर एक सिजनमा एक घरमा १ लाखदेखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । स्थानीय कृषक गीता वलीका अनुसार अहिले ६५ बढी घरपरिवारले व्यावसायिक रुपमा मालागेडी फलाउँदै आएका छन् । एक घरले एक वर्षमा थोरैमा पनि ६ देखि आठ क्विन्टल मालागेडी बिक्री गर्ने गरेको उनीहरु बताउँछन् । एउटा रुखबाट दुई क्विन्टलभन्दा बढी मालागेडीको फल उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्