Logo

पहाडमा जनसंख्या फर्काऊ

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकले मुलुकभित्रका विभिन्न पाटोका तस्बिर उजागर गरेको छ । सार्वजनिक तथ्यांकले वित्तीय पहुँच, सीपयुक्त जनशक्तिको अवस्था, घरसंख्या र बनावट, सरकारी अनुदानलगायतका विषयलाई देखाएको छ । संसारमा घरविहीन जनसंख्या ठूलो छ । हाम्रै छिमेकी मुलुक भारतमा लाखौं मानिस दैनिक फुटपाथमा सुत्ने गरेका छन् । तर, हामीकहाँ भने बस्नयोग्य रहेका ६ लाख घर रित्ता छन् ।

तथ्यांकअनुसार देशभरमा ७५ लाख ५२ हजार घर बनेका छन् । त्यसमध्ये ६ लाख घरमा मानिसको बसोबास छैन । कार्यालयले एक जना बसेको घरलाई आवासीय घर मानेर सर्वेक्षण गरेको थियो । तर, ६ लाख घरमा मान्छेको बसोबास नै देखिएन । यो पहाड र हिमालमा देखिएको तस्बिर हो । तराईमा रित्ता घर विरलै पाइएको छ । सर्वेक्षणले हिमाल र पहाडमा जनसंख्या कम हुँदै गएको देखाएको छ भने ३ सय १९ स्थानीय तहको जनसंख्या घट्दो क्रममा रहेको छ ।

कुन स्थानीय तहमा कस्ता प्रकृतिका र कति वर्ष पुराना घर छन् भन्ने तथ्यांकसमेत सार्वजनिक भएको छ । संसार गगनचुम्बी महलमा पुग्दा हाम्रोमा सबैभन्दा बढी एकतले मात्र घर बनाइएका छन् । कुल घरमध्ये ५९.८२ प्रतिशत एकतले छन् । यस्तै दुईतले २८.७८ प्रतिशत र तीनतले घर ९.१७ प्रतिशत बनेका छन् । सर्वेक्षणले १.३ प्रतिशत चारतले, ०.६४ प्रतिशत पाँचदेखि साततले, ०.०१ प्रतिशत आठदेखि नौतले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घर रहेको देखाएको छ ।

यसमध्ये पनि मधेस प्रदेशमा एकतले घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत छन् । पाँच वा सोभन्दा बढी तला भएका घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत छन् । पहाडी क्षेत्रमा दुईतले घरको संख्या बढी छ । एक सय वर्षभन्दा पहिले बनेका घरको संख्या कुल घरमध्ये ०.५ प्रतिशत रहेको छ । यस्तै चार वर्षभित्र बनेका घरको संख्या सबैभन्दा बढी २७.९५ प्रतिशत छ ।

यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये १०.२७ प्रतिशतले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएका छन् । अनुदान लिनेमा सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत छ । कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जना अर्थात् २५.५६ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता छ ।

यो संख्याले मुलुकमा वित्तीय साक्षरता, वित्तीय पहुँच ज्यादै न्यून रहेको देखाएको छ । कुल परिवारमध्ये २५.५९ प्रतिशतले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएका छन् । यस्तै व्यावहारिक सीप तथा तालिम लिएको जनसंख्या करिब ६ प्रतिशतमात्र छ ।

मुलुकको जनसंख्या कम भएर घर खाली भएका होइनन् । मुलुकको जनसंख्या करिब ३ करोड छ । घर खाली हुनुको मुख्य कारण बसाइँसराइ हो । मानिस अहिले सुविधाभोगी बन्दै गएको छ । सुविधा खोज्नु अस्वाभाविक पनि होइन । यसलाई अन्यथा भन्न मिल्दैन । पछिल्ला वर्षहरूमा तराई र सहरकेन्द्रित बसाइँसराइ उच्च गतिमा छ । युवापंक्ति विदेशमा गएका छन् । पहाड र हिमालमा बस्नेमध्ये अधिकांश महिला र वृद्धवृद्धा पनि तराई र सहर झरेका छन् । यस्तोमा गाउँ क्रमश: रित्तो हुँदै गएको छ ।

गाउँमा स्वास्थ्य सेवा कम छ भने स्तरीय शिक्षा पनि छैन । अधिकांश स्थानमा सडक पहुँच पुगेको छ, तर गुणस्तरीय छैन । वर्षाका धेरै महिना सवारी साधन चल्न सक्दैनन् । उमेर पुगेको जनसंख्यालाई स्वास्थ्य सेवा जुनसुकै बेला आवश्यक पर्छ । त्यस्तै बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउन खोज्नु अस्वाभाविक रहेन । यिनै बाध्यता र सुविधा खोज्दै घरवास छोडेर सहर र तराई झर्नेहरू बाक्लिँदै गएका छन् । हिमाल र पहाड छोड्नुमा कृषिबाट विगतमा जस्तै आम्दानी गर्न नसक्नु पनि अर्को एउटा प्रमुख कारण हो ।

स्वदेश नै छोडेर विदेश पलायन हुनेहरूका कारण पनि घर रित्ता हुन पुगेका छन् । सरकारलाई यो तथ्यांकले सहरी तथा राष्ट्रिय आवास योजनाको नीति निर्माण गर्न सहयोग पुर्‍याएको छ । तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र आवास योजना बनाउन पनि सघाउ पुग्नेछ । सरकारले हिमाल र पहाडमा जनसंख्या फर्काउने हो भने नीतिगत परिवर्तन जरुरी छ ।

दुवै क्षेत्रमा शिक्षा, स्वास्थ्य र सडक पहुँच राम्रो बनाउन सक्नुपर्छ । साथै कृषिबाहेक पनि आयआर्जनको बाटो खोल्ने व्यवस्था गर्नुपर्छ । यति भए मात्र पनि मानिस सहरको उकुसमुकुस र तराईको गर्मी खान झर्दैन । हिमाल र पहाड रित्ता हुनुअघि सरकारले बेलैमा सोच्नुपर्ने अवस्था यो तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्