Logo

खाद्यले तोक्यो खसी बोकाको मूल्य

फाइल तस्बिर ।

दाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लामा खसी बोका खरिदका लागि मूल्य निर्धारण गरेको छ । खरिद गरेर काठमाडौं पठाउनका लागि मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले मूल्य निर्धारण गर्ने गर्छ । बुधबार बसेको बैठकले मूल्य निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुुनारले बताए ।

उनका अनुसार जिउँदो खसी २५ केजीभन्दा माथिको प्रति केजी ५ सय ६२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यस्तै खसी २० देखि २५ केजीसम्मको प्रति केजी ५ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ । बोका १८ केजीभन्दा माथि प्रति केजी ५ सय ४२ रुपैयाँ निर्धारण गरिएको प्रमुख सुनारले बताए । मूल्य निर्धारणसँगै खसी, बोका खरिद गर्न सुरु गरिने समेत उनले बताए । मूल्य निर्धारण हुन नसक्दा खरिदको कामसमेत अगाडि बढ्न सकेको थिएन ।

सबै क्षेत्रबाट मूल्य ल्याएर समितिले मूल्य निर्धारण गरेको उनले बताए । व्यापार कम्पनीले यही असोज २८ देखि कार्तिक २ सम्म खसी बोका खरिद गरेर काठमाडौं पठाउने भएको छ । ढुवानीका लागि सूचना आह्वान गरी सकिएको प्रमुख सुनारले बताए । केही दिनमा त्यसको पनि टुङगो लाग्ने उनले बताए । ‘खसी बोका खरिदका लागि आवश्यक सबै प्रक्रिया पुरा भएका छन्’ उनले भने,‘खाद्य व्यापार कम्पनीले यो वर्ष सात सय खसी बोका काठमाडौं लैजाने भएको छ ।’ खसी बोका बिक्रीका लागि कृषकहरु सम्पर्कमा आइसकेको उनले बताए ।

‘कृषकहरु सम्पर्कमा आइरहनु भएको छ, बिहीबारदेखि नाम टिप्ने काम हुने छ’ उनले भने । सम्पर्कमा आएकासँग नपुग्ने भएमा तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका र देउखुरी भेगबाट खरिद गरिने प्रमुख सुनारले बताए । हरेक वर्ष खाद्य व्यापार कम्पनीले जिल्लाबाट खसी बोका खरिद गरेर काठमाडौं पठाउने गर्छ । यसले बाख्रा पालक कृषकलाई समेत सहजता हुने गरेको छ । ‘घर नजिकै राम्रो मूल्य पाउने भएकोले कृषकलाई समेत सहजता हुने छ’ प्रमुख सुनारले भने ।

प्रतिक्रिया दिनुहोस्