दस दिनमा करोड बढीको सामान बरामद

महेन्द्रनगर– जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तिहार लक्षित सम्भावित चोरी–तस्करी नियन्त्रणका लागि कञ्चनपुर प्रहरी प्रमुख एसपी थापा, प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त, हर्षबहादुर चन्द नेतृत्वको टोलीले फिल्डमै गएर अवैध सामान बरामद गरेको छ । दस दिनको अवधिमा कञ्चनपुर प्रहरीले भन्सार चोरी छली गरेको १ करोडभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
कञ्चनपुर प्रहरीको तथ्यांकअनुसार १ करोड २ लाख २१ हजार २५५ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ । कञ्चनपुर प्रहरीको तथ्यांकअनुसार साउन १० मा अपि भण्डारबाट ९ लाख र असार ११ मा ट्रपिराम फुलेलले सञ्चालन गरेको खनाल किराना पसलबाट म्याद गुज्रिएका सामानसमेत बरामद गरेर नष्ट गरेको छ ।
त्यसैगरी असोज ११ मा भीमदत्त नगरपालिका–६ सुकासाल क्षेत्रबाट ३ लाख ४६ हजार ५६५ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ भने असोज १४ मा भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रबाट ५ लाख ५ हजार ३५० रुपैयाँबराबरको अवैध सामान बरामद गरिएको छ । त्यसैगरी असोज १५ मा उक्त नगरपालिका–११ तिनताराबाट ५ लाख ६६ हजार ४ सय र असोज १५ मा रोहित टेड्र्सको नामबाट आएको ४९ लाख ६३ हजार ८४० रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान बरामद गरिएको छ ।
त्यसैगरी असोज १७ मा वेदकोट नगरपालिका–९ गृहलक्ष्मी उद्योगबाट बरामद गरिएको सामान आन्तरिक राजस्वको जिम्मा लगाएको छ भने असोज १७ मा भीमदत्त नगरपालिका–६ सुकासाल क्षेत्रबाट १ लाख ३८ हजार ६ सयबराबरको अवैध सामान बरामद गरिएको छ । यसैगरी असोज १८ मा भीमदत्त नगरपालिका–६ ऐठपुरका भुवन भाटको घरबाट १० लाखबराबरको सामान बरामद गरिएको छ भने असोज १९ मा भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरका सुशील गुप्ताले सञ्चालन गरेको हिमांशु प्लास्टिक स्टोरबाट ११ लाखको सामान बरामद गरिएको छ ।
असोज १९ बाट वेद कोट नगरपालिका–७ सुडाबाट हाम्रो ट्रेडर्स एन्ड सप्लायर्सबाट ३ लाख रुपैयाँबराबरको सामान बरामद गरिएको छ भने भीमदत्त नगरपालिका–३ न्यू त्रिपुरासुन्दरी ट्रेडर्स एन्ड सप्लायर्सबाट २ लाखको सामान बरामद गरिएको छ । त्यसैगरी पुनर्वास नगरपालिका–११ मोहना नदीको छेउबाट १ लाख ८९ हजार ३१० र दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजको बाबाथानबाट ४ लाख ५० हजारबराबरको सामान बरामद गरिएको छ । बरामद गरेको अवैध सामान प्रहरीले भन्सार चलान गर्दै आएको छ ।
प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्षबहादुर चन्द नेतृत्वको टोलीले भीमदत्त नगरपालिका–६ ऐठपुर र उक्त नगरपालिका–१८ महेन्द्रनगरमा भन्सार क्षेत्रबाटै क्यारिङकर्तालाई पछ्याउँदै २१ लाख रुपैयाँको सामान बरामद गरेका हुन् । उक्त घटनाले भन्सारको मिलेमतोमै अवैध सामान नेपाल भित्रिने पुष्टि गरिरहेको छ । कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले जिल्लाभरि भन्सार चोरी छलीविरुद्धमा प्रहरीले कारबाही गर्ने गरेको बताए ।
उनले भने, ‘यसअघि भन्सार चोरीछली तस्करी नियन्त्रणमा प्रहरीले अपनाएको विधिभन्दा अहिले पृथक् विधि अघि सारेर भन्सार चोरी तस्करी नियन्त्रणमा खटिएका छौं ।’ थापाका अनुसार उक्त अभियान निरन्तर चल्ने र केही समययता प्रहरीले जिल्लाका बजारबाट लाखौं रुपैयाँको अवैध सामान बरामद गरेको छ । गत वर्षदेखि कञ्चनपुर प्रहरी नेतृत्व एसपी कमल थापाले जिल्ला सम्हालेपछि चोरी तस्करीमा निर्मम भएर काम गर्दै आएका छन् ।
प्रहरीले निष्पक्ष भएर भन्सार राजस्व चोरी छलीविरुद्धमा एक्सनमा उत्रिनुपर्ने सुझाव स्थानीयले दिएका छन् । कसैले भन्सार, सीमा क्षेत्रमा रहेका प्रहरीसँग सेटिङ गरेर लाखौं कमाउने कसैले भन्सार तिरेर खाने गुजारा पनि नहुने भन्दै भन्सार राजस्व छलीविरुद्धमा प्रहरीको अभियानलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।