Logo

पर्वतका २८ प्रतिशत नागरिकले गरे स्वास्थ्य बीमा

पर्वत– जिल्लाको कुल जनसंख्यामध्ये २८ प्रतिशत जनसंख्या स्वास्थ्य बीमाको पहुँचमा आएका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय पर्वतकी संयोजक तथा जनस्वास्थ्य निरीक्षक टिकाकुमारी श्रीसका अनुसार गत वैशाख महिनासम्म जिल्लाका २४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएकोमा भदौ महिनाको अन्त्यसम्म आइपुग्दा २८ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् । चार महिनाको अवधिमा चार हजार १२० जनाले स्वास्थ्य बीमा गरेका हुन् ।

दर्ता अधिकारी श्रीसका अनुसार सबैभन्दा बढी कुश्मा नगरपालिकाका ३२.६८ प्रतिशतले स्वास्थ्य बीमा गरेका छन् । कुश्माको कुल जनसंख्या ३८ हजार एक सय एक रहेकोमा तीमध्येका १२ हजार ४५१ जनाले स्वास्थ्य बीमा गरेका छन् । यस्तै पैयुँ गाउँपालिकाको जनसंख्या १२ हजार ७२५ रहेकोमा त्यसको २५.६४ प्रतिशत अर्थात् तीन हजार २६३ जनाले, जलजला गाउँपालिकाको कुल जनसंख्या २१ हजार ११९ रहेकोमा त्यसको ३०.४५ प्रतिशत अर्थात् छ हजार ४३० जनाले स्वास्थ्य बीमा गरेका छन् ।

फलेवास नगरपालिकाको कुल जनसंख्या २० हजार ४६८ रहेकोमा पाँच हजार २८७ जनाले बीमा गरेका छन् । जुन २५.८३ प्रतिशत हो । यस्तै बिहादी गाउँपालिकाको जनसंख्या १० हजार ८२८ रहेकोमा त्योमध्येका १८.२४ प्रतिशत अर्थात् एक हजार ९७५ जनाले स्वास्थ्य बीमा गरेका छन् । मोदी गाउँपालिकामा बीमा गर्नेको संख्या २८.९९ प्रतिशत रहेको छ । त्यहाँको कुल जनसंख्या १८ हजार ७९४ मध्ये पाँच हजार ४४९ जनाले बीमा गरेका छन् ।

यस्तै महाशिला गाउँपालिकाका १४.३२ प्रतिशतले मात्रै स्वास्थ्य बीमा गरेका छन् । त्यहाँको जनसंख्या आठ हजार ११६ रहेकोमा एक हजार १६२ जनाले मात्रै बीमा गरेका हुन् । जिल्लामा रहेका ६१ वडामध्ये सबैभन्दा बढी स्वास्थ्य बीमा गर्ने वडा मोदी गाउँपालिका–५ बाजुङ रहेको छ । स्थानीय दर्ता सहयोगी पदमकुमारी मल्लका अनुसार बाजुङको जनसंख्या तीन हजार ९५७ रहेकोमा तीमध्येका ६२.६० प्रतिशत अर्थात् दुई हजार ४७७ जनाले बीमा गरेका छन् । सबैभन्दा कम स्वास्थ्य बीमा गरेको वडा मोदी गाउँपालिका–१ भूक रहेको छ ।

त्यहाँका ५.९३ प्रतिशत नागरिकले मात्रै स्वास्थ्य बीमा गरेका छन् । दर्ता सहयोगी मनिका घलेका अनुसार भूकको कुल जनसंख्या एक हजार ९३९ रहेकोमा तीमध्येका ११५ जनाले मात्रै बीमा गरेका छन् । स्वास्थ्य बीमामा काम गर्दै आइरहेका ‘फिल्ड’ रहने तथा कार्यालयमा रहेर काम गर्ने कर्मचारीका अनुसार जनतालाई स्वास्थ्य बीमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकता अनुसार सूचित गराउन नसक्दा बीमाप्रति आशातित आकर्षण आइरहेको छैन ।

वडाहरूमा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीहरूलाई तालिमको अभावका कारण सेवाग्राहीले बीमासम्बन्धी आवश्यक कुरा बुझ्न नसक्नु, सेवा प्रदायक अस्पतालबाट सहज रूपमा बीमितले (उपचार सेवा/औषधि) नपाएको गुनासो गर्नु, जिल्लाका सम्पर्क शाखा कार्यालयहरूमा आवश्यक जनशक्ति नहुनु, वडाहरूमा कार्यरत स्वास्थ्य बीमा दर्ता सहयोगीहरूको मोबाइल फोन बिग्रिएको अवस्थामा र नयाँ मोबाइलको फोन व्यवस्था गर्न नसकिएको लगायतका कारणले समस्या भइरहेको छ ।

नागरिकलाई कार्यक्रमको बारेमा सूचित गराउने, दर्ता सहयोगीहरूलाई ‘रिफ्रेसमेण्ट’ तालिम दिने, सेवा प्रदायक अस्पतालहरूले सहज रूपमा सेवा र औषधि प्रदान गर्ने, बीमाको काम गर्नका लागि जिल्लामा रहेको सम्पर्क कार्यालयलाई जिल्लाको छुट्टै कार्यालयका रूपमा विकास गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रममा विमितको फोटो खिच्नका लागि दर्ता कर्मचारीहरूलाई मोबाइल सेटको प्रबन्ध हुनुपर्ने लगायतका व्यवस्था भएमा बीमा कार्यक्रम प्रभावकारी हुने र यसमा धेरै नागरिकको आकर्षण बढ्ने सम्पर्क शाखा कार्यालय संयोजक श्रीसको विश्वास छ । यसका लागि स्वास्थ्य बीमा बोर्ड, स्थानीय तहहरू र सेवा प्रदायक अस्पतालले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्