Logo

स्याङ्जामा पनि डेंगु भित्रियो

स्याङ्जाको पुतलीबजार नगरपालिका २ का ३२ वर्षीय एकजना पुरुषमा डेंगु फेला परेको छ । जिल्ला अस्पताल स्याङ्जामा भदौ ५ गते भर्ना भएर उपचार गरिरहेको र भदौ ८ गते ल्याप परीक्षण गरेर हेर्दा डेंगु फेला परेको जिल्ला अस्पताल स्याङ्जाले जनाएको छ । डेंगु संक्रमित उक्त व्यक्तिको जिल्ला अस्पतालमा उपचारार्थ छन् ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा सहरी क्षेत्रमा ज्यादा पाइन्छ । स–साना पानीको पोखरीमा यसले फुल पार्ने गरेको जिल्ला अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर बुद्धीसागर अधिकारीले जानकारी दिए ।
खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी हुने गर्छ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

प्रतिक्रिया दिनुहोस्