Logo

बजार अनुगमनलाई तीव्रता

स्याङ्जा– चाडपर्वसँगै जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ । स्थानीय किराना, औषधि पसल, हार्डवेयर, होटल र बेकरी पसलमा प्रशासनले अनुगमन गरेको हो ।

कालोबजारी रोक्ने तथा उपभोक्ता हक संरक्षण गर्ने र व्यापारीलाई नियमन गर्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा जिल्लाका ११ पालिकामध्ये तीन पालिका चापाकोट, अर्जुनचौपारी र कालीगण्डकीमा अनुगमन गरिएको हो । चापाकोटको किसान स्टोस (मार्ट) ले मूल्यसूची नराखेको र ब्ल्यू डायमन्ड रक्सीमा रि–लेबलिङ गरेर बिक्री गरेको पाइएपछि १ लाख जारिवाना गरिएको छ ।

मार्टले ८ सय ८० रुपैयाँको रक्सीलाई केरमेट गरी पुनः लेबलिङ गर्दै थप २ सय थपेर १ हजार ८० रुपैयाँमा बिक्री गरेको भेटिएपछि कारबाहीमा परेको हो । यस्तै मूल्यसूची नराखेको र बिलबिजक जारी नगरेको भन्दै न्यू राधाकृष्ण ट्रेडर्स र सोनी दामाचौर हार्डवेयरलाई ६०/६० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै मूल्यसूची नराखेकोमा खनाल स्टोर्सलाई ५० हजार र पाठक हार्डवेयरलाई बिल बिजक जारी नगरेकोमा २० हजार जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

यस्तै अर्जुनचौपारीको बजार क्षेत्रका १२ वटा पसल अनुगमन गरेको र म्याद गुज्रेका सामान भेटिए पनि मूल्यसूची राख्ने र बिल बिजक जारी गर्ने गरेको भेटिएको अनुगमन टोलीले बताएको छ । मूल्य र उत्पादन मिति नराखी अर्जुनचौपारीमा बिक्रीमा राखिएको पनिरको उत्पादक कम्पनी तीनदोबाटो दुग्ध उत्पादक डेरी प्रालि गल्याङ नगरपालिका–८ लाई कारबाहीको प्रक्रिया अगाडि बढाएको पौडेलले बताए ।

कालीगण्डकी गाउँपालिकाको व्यवस्थापनमा टोलीले मिर्मी बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा विगत एक वर्ष अगाडिदेखि मिति सकिएका एक हजार पाँच प्रतिबोरा पर्ने २० किलोको १० बोरा चामल र दुई वर्ष अगाडिदेखि उपभोग्य मिति सकिएका पेयदार्थको रूपमा रहेको दुई क्रेट कोक खाल्टो खनेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले चाडपर्वमा व्यापारीले कालोबजारी गर्ने बताउँदै उपभोक्तालाई सजग रहन आग्रह गरे । उनले उपभोग्य वस्तु खरिद गर्दा उत्पादन मिति र समाप्त मिति हेर्नुपर्नेमा जोड दिए । टोली आएको थाहा पाएपछि नियम नमान्ने केही व्यवसायी पसल बन्द गरेर समेत भागेका थिए ।

उपभोक्ता मञ्च, प्रशासन, प्रहरी, पालिका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको अनुगमनमा मूल्यसूची नराखेको, म्याद गुज्रेका सामान बिक्री गरेको, बिल बिजक जारी नभएको भेटिएको थियो । अनुगमनमा बिस्कुट, घिउ, लिची जुस, पीठो, बियर, सुजी, बदामलगायतका सामग्री जफत गरी नष्ट गरिएको थियो । अनुगमन निरन्तर चलिरहने र नियमविपरीत चलाइएका पसल सबैलाई कारबाहीको दायरमा ल्याउने पौडेलले बताए ।

कालोबजारी बढ्यो

खोटाङमा चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि बढेको छ । जिल्लामा चिनीको मूल्य अधिक बढेको छ । चिनीसँगै चामलको मूल्य पनि अकासिएको छ । चाडपर्वसँगै जिल्लामा म्याद नाघेका खाद्यवस्तुको सामान बिक्री हुने सम्भावना देखिएको छ । अहिलेसम्म सरोकारवाला निकायले बजार अनुगमन गरे पनि उपभोक्ताले यसको लाभ लिन सकेका छैनन् ।

आठ गाउँपालिका र दुई नगरपालिका रहेको खोटाङ जिल्लामा बजार अनुगमन प्रभावकारी नहुँदा गुणस्तरीय वस्तुको उपभोगमा समस्या रहेको छ । चामल तरकारी, तेल, मसला माछा मासुलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेका कारण सर्वसाधारणलाई घरमा सामान्य घर खर्च धान्न पनि कठिन भएको छ । आफूले लगाएको खेतीबाट ६ महिना पनि खान नपुग्ने अवस्था रहेको भन्दै स्थानीय पेशल खत्री चाडपर्वले मूल्य बढाएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्