आईएमएफ मिसन टोली र सिबिफिनबीच भेट

काठमाडौं- आईएमएफका टिडिआन किन्दाको नेतृत्वमा आएको टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) का अध्यक्ष पवनकुमार गोल्यानसँग भेट गरेको छ ।
भेटमा मिसन टोलीका प्रमुख किन्दासहितका प्रतिनिधिले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वाभाविक भए तापनि नेपाल सरकारले तत्काल सुधारका कदम चाल्न आवश्यक रहेको बताएका छन् ।
नेपालजस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरूको सम्भावित भूमिकाका विषयमा जिज्ञासा टोलीले व्यक्त गरेको थियो ।
सो अवसरमा सिबिफिनका अध्यक्ष गोल्यानले समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरूमा आईएमफसँग निरन्तर छलफल तथा संवाद भइरहेको बताए । उनले नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यावहारिक पक्ष र विकास साझेदार संस्थाहरूको भूमिकाका विषयमा प्रकाश पारेका थिए ।
अध्यक्ष गोल्यानले नेपालको कृषि, वनपैदावर, ऊर्जा, पयर्टनलगायतका क्षेत्रमा देखिएका अथाह सम्भावनालाई ध्यान दिँदै सरकार तथा मातहतका नियामक निकायले मैत्रीपूर्ण नीति र वातावरण बनाई समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पुँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिनुपर्ने, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहितका प्राथमिकता दिइनुपर्ने उल्लेख गरे ।
त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थामार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले टोलीसमक्ष आग्रह गरे ।
सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्रप्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीको सामना गरिरहेको भए तापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको बताएको पनि सिबिफिनले जनाएको छ ।