अभिभावक ढुक्क, विद्यार्थी प्रशिक्षित

सिन्धुपाल्चोक – सदरमुकाम चौतारास्थित कृष्ण रत्न गंगा माविमा अध्ययनरत रञ्जिता श्रेष्ठ साथीहरू विमारी भएको अवस्थामा सामान्य प्राथमिक उपचार आफै गर्न सक्छिन् । विद्यालयको कक्षाकोठामै हेल्थ ट्रेनिङ पाएकी उनी सामान्य चोटपटक लागेमा ड्रेसिङलगायत अन्य सेवा दिन सक्ने भएकी छिन् ।
कार्यक्रमपछि उनले सामान्य उपचार गर्न सक्ने भएकी हुन् । कक्षा नौ र दशका विद्यार्थीलाई विद्यालयमै नर्सले तत्कालका लागि सामान्य उपचार गराउने विधिबारे प्रशिक्षण दिएपछि रञ्जितासहित विद्यालयका विद्यार्थीहरू प्रशिक्षित भएका हुन् ।
गत वर्ष मंसिर तेस्रो साताबाट प्रदेश सरकारको कार्यक्रम अन्तर्गत यो विद्यालयमा नर्सको व्यवस्था गरिएको थियो । विद्यालयमै ‘मिनी अस्पताल’ भएपछि बालबालिका लाभान्वित हुनुका साथै अभिभावक ढुक्क भएका छन् । विद्यालयमा नर्सको व्यवस्थाले छोराछोरीको स्वास्थ्यप्रति ढुक्क रहेका अभिभावक कालीदेवी कटुवालको भनाइ छ । नर्स हुनुअगावै छोरी ममता विद्यालयमा बिमारी हुँदा आफूलाई चिन्ता लाग्ने गरेको उनले बताइन् ।
बालबालिकालाई कुनै बेला चोटपटक लाग्दा, टाउको, पेट दुख्दा, छात्राहरू महिनावारी भएको बेलाको समस्यालगायतलाई विद्यालयमै समाधान गर्ने गरिएको विद्यालय नर्स दिपा श्रेष्ठ प्रधानले जानकारी दिइन् । विद्यालयमा कार्यक्रम लागू भएपछि विद्यार्थीहरूले व्यक्तिगत सरसफाईमा पनि विशेष ध्यान पु¥याएका छन् । छात्राहरू बालिकाबाट यौवनअवस्थामा प्रवेश गर्ने प्रक्रियाका बेला पनि विद्यार्थीहरूलाई सहज भएको छ ।
विद्यालयको स्वास्थ्य कक्षमा उपचारका लागि आवश्यक सबै सामग्री छन् । एउटा बेड राखिएको छ । औषधी प्रसस्तै छ । प्रदेश सरकार र जिल्ला अस्पतालले दिएको औषधीले अहिलेसम्मका लागि पुगिरहेको प्रधान बताउँछिन् ।
यो विद्यालयमा नर्स कार्यक्रम लागू हुनुअघि विद्यार्थीहरूमा मास हिस्टेरियाको समस्या थियो । विद्यालयका प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठका अनुसार दिनहुँ २÷३ जनासम्म विद्यार्थीलाई यस्तो समस्या देखिएकोमा अहिले यसको पूरै रोकथाम भएको छ । “छात्राहरूलाई नर्सले परामर्श दिन थालेपछि यो समस्या अहिले पूर्ण रुपमा निर्मूल भएको हो,” प्रधानाध्यापक श्रेष्ठले भने । विद्यार्थी दिनहुँ विमारी हुन थलेपछि अस्पतालसम्म पु¥याउनका लागि विद्यालयले एम्बुलेन्स खरिद गर्ने योजनासमेत बनाइसकेको थियो । कहिलेकाहीँ एम्बुलेन्स अभाव हुँदा विमारीलाई अस्पताल लैजान मुस्किल हुने भएपछि खरिद नै गर्ने सोच बनाएको श्रेष्ठ बताउँछन् ।
सदरमुकाम चौतारामा रहेको यो विद्यालयमा एक हजार चार सय विद्यार्थी छन् । हालसम्म ७ सय २१ विद्यार्थीले विद्यालयमै उपचार लिएको तथ्यांक छ । विद्यार्थीको स्वास्थ्यका लागि आमाहरूलाई जंक फुड प्रयोग नगर्न चेतना प्रवाह गरिएको नर्स प्रधानले बताइन् ।
किशोर बुढाथोकी