पोखरामा बजार अनुगमनसँगै चार पसल कारबाही «

पोखरामा बजार अनुगमनसँगै चार पसल कारबाही

पोखरा– पोखरामा आइतबारबाट बजार अनुगमन सुरु गरिएको छ । बजार अनुगमनका क्रममा जरिवानासहित चारवटा पसल कारबाहीमा परेका छन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अगुवाइमा भएको बजार अनुगमनमा दुई पसललाई जरिवानासहित कारबाही गरिएको छ भने दुई पसललाई चेतावनी दिइएको छ ।

जिल्ला अनुगमन समिति कास्कीले पोखराको चिप्लेढुंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ र पोखरा ५ प्रस्र्याङमा रहेको केसी स्टोर्सलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताए । भागिरथ स्टोर्सका करिब १९ हजारबराबरका खाद्य वस्तु नष्ट गरिएको उनले बताए । बजार अनुगमनका क्रममा उपभोक्तालाई म्याद गुज्रिएका सामान बिक्री गरी चरम ठगी गरेको भेटिएपछि उक्त पसललाई तत्कालै जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जनाए ।

भागिरथ स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र ८ लिटर हेलो तेल गरी २१ पोका खाने तेलसहित लेबल नलगाएको झिलिंगा, कीरा परेको २४ किलो ९ सय ग्राम सुपारी र केही कुहिएको नरिवलसमेत भेटिए पनि उक्त वस्तु टोलीले नष्ट गरेको छ । समितिले स्टोर्सका सञ्चालक विवेककुमार गुप्तालाई तीन दिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय, कास्कीमा हाजिर हुन निर्देशन दिएको छ ।

त्यसैगरी टोलीले केसी स्टोर्समा बिक्रीका लागि राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको ३ बोतल फ्यान्टा, प्रतिकिलो ९७ रुपैयाँमा खरिद गरेको चिनी १ सय २० रुपैयाँमा बिक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताए । नापतौलका यन्त्रसमेत दर्ता नगरेको भन्दै प्रक्रियाका लागि तीन दिनभित्र प्रशासनमा हाजिर हुन सञ्चालक तेजबहादुर केसीलाई निर्देशन दिइएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा जथाभावी मूल्य बढाएको भन्दै पोखराका करिब २५ भन्दा बढी खाद्य स्टोर्सका बारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन सुरु गरेको ढकालले बताए । समितिले अनुगमनलाई निरन्तरता दिने भएको छ । साथै, उनले आम उपभोक्तालाई आफू पनि सचेत भई कुनै वस्तुको गुणस्तर, लेबल, त्यसको म्याद ख्याल गर्न आग्रह गरे । टोलीले मालेपाटनमा रहेको आदर्श स्टोर्समा लेभल नलगाएको कीरा परेको ओखर र कपुर गरी ८ सय १५ रुपैयाँबराबरको सामान नष्ट गरेको छ ।

सो स्टोर्सका सञ्चालक राकेश यादवलाई तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, कास्कीमा हाजिर हुन निर्देशन दिएको छ । त्यस्तै मालेपाटनमा नै रहेको नारायणी रिफाइनरी उद्योगले बिनासाइनबोर्ड पसल सञ्चालन गरेकाले प्रक्रिया पुर्‍याएर पसल सञ्चालन गर्न सञ्चालक जगत धामीलाई निर्देशन दिएको उपभोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल अथकले बताए । आम उपभोक्ता पनि सचेत हुनुपर्ने समय आएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्