Logo

दोहोरो करमा व्यावसायी

गल्छी (धादिङ)– दोहोरो करमा आफूहरू रहेको व्यवसायीहरूले बताएका छन । धादिङ उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधरण सभामा उनीहरूले त्यस्तो बताएका हुन् ।

साधारण सभामा मन्तव्य राख्दै बागमती प्रदेश सभा सदस्य एवं प्रमुख अतिथी मधुकुमार श्रेष्ठले व्यवसायीको हितका लागि राजनीति भन्दामाथि उठेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दोहोरो करको विषयमा बुझेर संसद् र आर्थिक विकास समितिमा कुरा उठाउने बताए ।

श्रेष्ठले व्यवसायीलाई फकाएर सात आठ प्रतिशतमा ऋण लगानी गर्ने, दुई वर्ष नपुग्दै १३/१४ प्रतिशत पुर्‍याउने गरेको जानकारी पाएकोमा बैंकको विरोध गरे । उनले सम्झौताको पालना गर्न बैंकलाई पनि आग्रह गरे । कोरोनापछि सबै भन्दा ठुलो समस्यामा व्यवसायीहरू रहेको भन्दै उनले व्यवसायीहरूले नेपालमा केही दिनअघि भएको शिक्षक आन्दोलनबाट एकता के हो भनेर सिक्नुपर्ने अपिल गरे ।

संघीयतापछि व्यवसायीहरू दोहोरो करको मारमा परेको उनीहरूको गुनासो छ । स्थानीय तहमा दर्ता गरेका फर्मलाई बैंकले हतपति ऋण लगानी नगर्ने, गरिहाले पनि १५ लाखभन्दा बढी नगर्ने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरे पनि स्थानीय तहमा कर तिर्नु पर्ने, संघीय सरकार मातहतको कर कार्यालयमा तिर्नु पर्ने गुनासो निजी क्षेत्रको छ ।

व्यवसायीहरूले जति कर तिर्न परे पनि एक ठाँउबाट तिर्ने व्यावस्था हुने पर्ने गल्छी गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारीले बताए । उद्योगी व्यावसायीहरू संस्था प्रति सचेत हुनुपर्छ । हक अधिकार प्रयोग गर्नेतर्फ अघि बढ्नु पर्छ । यसपालिको साधरण सभा राजनीति दल बेगरको रहेको छ । यसले निरन्तरता पाउनुपर्ने पूर्व अध्यक्ष बोदनाथ दुवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्