चाडपर्व र महँगी

राष्ट्र बैंकले गत बिहीबार प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको मूल्यवृद्धिको तथ्यांकले सबैलाई झस्काएको छ । साउनमा समग्र महँगी ७.५२ प्रतिशत पुगेको छ । साउनमा खाद्य तथा पेय पदार्थ समूह ८.९५ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.४२ प्रतिशत छ । सबैभन्दा बढी मरमसला समूहको उपभोक्ता मूल्यवृद्धि ४५.५६ प्रतिशत पुगेको छ । खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १२.१९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको मूल्य १०.८० प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको मूल्य भने १५.१३ प्रतिशतले घटेको छ ।
यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गत घरायसी उपयोगका वस्तुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.७९ प्रतिशतले मूल्यवृद्धि भएको छ । मुलुकका विभिन्न भागलाई तुलना गर्दा काठमाडौं उपत्यकाको महँगी ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत छ । साउनमा व्यवसायीले थोकमै ४.३४ प्रतिशत मूल्य बढाएका छन् । साउनमा नै चर्किएको महँगी चाडपर्वका महिना असोज–कात्तिकमा कस्तो होला ? सबैको चासो हुनु स्वाभाविकै छ । उद्योगी–व्यवसायीहरूले सामानको मूल्य बढाउन सधैं मौका पर्खिएका हुन्छन् ।
बाढीपहिरोजस्ता दैवी प्रकोपका घटनाले आपूर्ति श्रृंखला अवरुद्ध भएको मौका छोपी सामानको मूल्य बढाउने प्रचलन छ । जबकि त्यस्ता सामानको मौज्दात पर्याप्त रहेको हुन्छ । भारत र चीनले व्यापार नीतिमा परिवर्तन गरेका कारण आयात–निर्यातमा समस्या आए पनि त्यसैको निहुँमा मूल्य बढाइन्छ । रुस र युक्रेनबीच युद्ध भएपछि गत वर्षदेखि त्यसको बाछिटा नेपाली नागरिकका भान्सामा पनि परेको छ । विगतको परम्परालाई हेर्दा चाडपर्वमा महँगी बढ्नेमा कुनै शंका छैन । उद्योगी–व्यवसायीले सधैंजसो वर्ष चाडपर्वमा खाद्यान्नलगायतका वस्तु महँगोमा बेच्दै आएका छन् । त्यसैले यो वर्ष पनि महँगी निरन्तर हुनेमा ढुक्कै भए हुन्छ ।
हुने–नहुने दुवै वर्गले ऋणधन गरेरै भए पनि चाडपर्व मनाउनुपर्छ भन्ने मानसिकता नेपाली संस्कारमा छ । यही मानसिकताको वर्षौंदेखि उद्योगी–व्यापारीले फाइदा उठाइरहेका छन् ।
चाडपर्व सुरु हुनुअघि नै चिनीको मूल्य बढाइसकिएको छ । प्रतिकिलो १ सय रुपैयाँ हाराहारीमा बिक्री भइरहेको चिनी अहिले नै १ सय ३० रुपैयाँसम्म पुगेको छ । चिनी सबैभन्दा बढी खपत तिहारमा हुने गर्छ । चिनीपछि अहिले हरियो तरकारीको मूल्य बढाइएको छ । तरकारीमा सबैभन्दा सस्तो मानिने बन्दा र मुलाको मूल्य पनि छोइनसक्नु छ । अहिले बन्दाको थोक मूल्य नै ६५–७० रुपैयाँ पुगेको छ । गत वर्ष यतिबेला बन्दा प्रतिकिलो १२–१५ रुपैयाँमा पाइन्थ्यो । यस्तै गत वर्ष ४० रुपैयाँ भएको लोकल मुलाको थोक मूल्य अहिले ८५ रुपैयाँ छ । बजारमा यसलाई १ सय ५० सम्ममा बेचिएको छ ।
यी दुई मात्र होइन, अन्य सबै तरकारीको मूल्य पनि अकासिएको छ । गोलभेंडा, आलु, प्याज, काउली, फर्सी, घिरौंला, काँक्रोलगायत सबैको मूल्य बढाइएको छ । अहिले केही सस्तो पाइने भनेको सिमी र बोडी मात्र हो । मौसम सुरु नभएको बहानामा हरियो सागको मूल्य पनि उच्च छ । प्रतिकिलो १ सय रुपैयाँभन्दा कममा रायो साग पनि आउँदैन । खासमा अहिले तरकारीको मूल्य बढ्नुपर्ने कारण केही देखिँदैन । चाडपर्व सुरु भइनसकेको अवस्थामा यसको माग पनि बढिसकेको छैन । तैपनि विभिन्न बहाना पारेर महँगो बनाउने खेल रोकिएको छैन ।
केही महिनाअघि किसानले प्रतिकिलो ५ रुपैयाँमा पनि गोलभेंडा बिकेन भनेर सडकमा फाली विरोध जनाएका थिए । तर, त्यसको १५ दिनपछि यसको मूल्य १ सय रुपैयाँमाथि पुर्याइयो । व्यापारीले छिमेकी मुलुक भारतमा बाढी आएर गोलभेंडा उत्पादन घटेको र नेपाली उत्पादन भारत निर्यात भएको निहुँ बनाएर यहाँ मूल्य बढाए । चाडपर्वमा अधिकांश वस्तुको माग बढ्छ । त्यो स्वाभाविकै हो । हुने–नहुने दुवै वर्गले ऋणधन गरेरै भए पनि चाडपर्व मनाउनुपर्छ भन्ने मानसिकता नेपाली संस्कारमा छ । यही मानसिकताको वर्षौंदेखि उद्योगी–व्यापारीले फाइदा उठाइरहेका छन् ।
उद्योगी–व्यापारीले अस्वाभाविक र मौका छोपेर सामानको मूल्य बढाइरहँदा उपभोक्ता मारमा पर्दै आएका छन् । तर, उनीहरूको गुनासो सुन्ने कोही छैन । सरकारले हस्तक्षेप गर्न नसकेकै कारण व्यापारीको मनपरी चल्दै आएको छ । यो ठूलो धक्का नदिँदासम्म रोकिनेवाला छैन । किनकि बजार अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायका अधिकांश पदाधिकारी व्यापारीसँगै मिलेका छन् । त्यसैले उनीहरूको बजार अनुगमन देखावटीका लागि मात्र हो, हस्तक्षेप गर्न होइन । सरकारले नचाहेसम्म मौकामा चौका हान्ने व्यापारीहरूको रणनीति सफल भइरहनेछ ।