२ अर्ब ७२ करोड एफडीआई प्रतिबद्धता

भदौमा गरिएको लगानी स्वीकृति साउनको तुलनामा झन्डै चार गुणा कम हो । साउनमा १३ अर्ब १३ करोड ६० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको तथ्यांक छ ।
काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा उत्साहजनक रुपमा बढेको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता दोस्रो महिनामा भने धेरै घटेको छ ।
उद्योग विभागका अनुसार भदौमा २ अर्ब ७२ करोड २४ लाख रुपैयाँ बराबरको नयाँ लगानी प्रतिवद्धतासहित सेयर खरिद अनुमति, प्रविधि हस्तान्तरण सम्झौता शीर्षकमा कूल ३ अर्ब ८ करोड १० लाख वैदेशिक लगानी स्वीकृत भएको छ । अघिल्लो वर्षको भदौमा ३ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी स्वीकृत भएको थियो ।
विभागका अनुसार भदौमा गरिएको लगानी स्वीकृति अघिल्लो महिनाको तुलनामा झण्डै चार गुणा कम हो । साउनमा १३ अर्ब १३ करोड ६० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको तथ्यांक छ । जसमध्ये कूल ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको नयाँ लगानी स्वीकृत भएको थियो ।
विभागका सूचना अधिकारी रमिला भण्डारीका अनुसार भदौमा ५१ वटा नयाँ उद्योगमा २ अर्ब ७२ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । भदौमा नयाँ उद्योगभन्दा यसअघि दर्ता भइसकेका उद्योगमा बढी लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । भदौमा एसपीए (सेयर पर्चेज एग्रीमेन्ट) र एसएसए (सेयर सब्सक्रिप्सन एग्रिमेन्ट) शीर्षकमा ११ वटा उद्योगमा ३ अर्ब १६ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ ।
यस्तै, टीटीए (टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट) शीर्षकमा २ परियोजनाका लागि लगानी स्वीकृग गरिएको छ । ति उद्योग कार्यान्वयनमा आएसँगै कूल २ हजार २ सय १ रोजगारी सिर्जना हुने विभागले जनाएको छ । चालु आवका साउन र भदौ दुई महिनासम्ममा विभिन्न देशबाट १ सय ११ वटा नयाँ उद्योगमा १४ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ ।
साथै, दुई महिनाको अवधिमा एसपीए/एसएसएममार्फत् १२ वटा उद्योगमा ३ अर्ब २० करोड २१ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको विभागको तथ्यांक छ । चालू आवका दुई मनिहामा उद्योगमा लगानी प्रतिबद्धता आएकोमध्ये २ वटा ठूला, ५ वटा मध्यम र १०४ वटा साना उद्योग रहेका छन् । भदौसम्म विभागमा दर्ता भई लगानी प्रतिबद्धता जनाएका उद्योगबाट ५ हजार ५०२ जनाले रोजगारी पाउने छन् ।
विभागका अनुसार नेपालले हालसम्म ४ खर्ब ६४ अर्ब ६२ करोड ३१ लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाइएको छ । दुई महिनामा पर्यटन क्षेत्रमा ५३ वटा, सेवा क्षेत्रमा ४४ वटा, उत्पादन क्षेत्रमा ९ वटा, सूचना तथा प्रविधि क्षेत्रमा २ वटा, पूर्वाधार क्षेत्रमा २ वटा र कृषि क्षेत्रमा एउटा उद्योगमा लगानी प्रतिबद्धता जनाइएको छ । अघिल्लो आवको सुरुवातदेखि नै वैदेशिक लगानीमा गिरावट आएपनि चैतबाट भने केही सुधार देखिएको थियो ।
गत आर्थिक वर्षमा उद्योग दर्ता बढे पनि ती उद्योगमा प्राप्त लगानी प्रतिवद्धता भने घटेको थियो । उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ३२७ वटा उद्योग दर्ता भएका थिए भने ती उद्योगमा ३३ अर्ब ३९ करोड ६० लाख लगानी प्रतिबद्धता प्राप्त भएको थियो । गत वर्ष भने ३०८ वटामात्र उद्योग दर्ता भएका थिए । उद्योग दर्ताको संख्या बढेपनि लगानी प्रतिबद्धता रकममा भने ठूलो गिरावट आएको छ ।
अघिल्लो आव २०७८/०७९ मा ५४ अर्ब १५ करोडको प्रतिबद्धता प्राप्त भएको थियो । यसरी गत आवमा वैदेशिक लगानीमा कूल ३८.३३ प्रतिशतले गिरावट आएको विभागले जनाएको छ । गत आवमा वैदेशिक लगानीको सीमा घटाएर २ करोडमा सीमित गरिएका कारण उद्योग दर्ता संख्या भने बढेको पाइएको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा कूल ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएकोमा त्यसयताका कुनै पनि वर्ष सो बराबरको लगानी स्वीकृत हुन सकेको छैन । २०७२ को विनासकारी भूकम्प र नाकाबन्दीका कारण त्यसपछिका वर्षमा लगानी नगण्य स्वीकृत भएको छ भने पछिल्ला वर्षहरुमा कोभिड महमारी, विश्वव्यापी आर्थिक मन्दीलगायतका कारण लगानी बढ्न सकेको छैन ।