Logo

बजारभरि म्याद नाघेका खाद्यवस्तु

गजुरी– धादिङको बजारभरि म्याद नाघेका खाद्यवस्तु भेटिएको छ । संयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्दा त्यस्तो भेटिएको हो । राजमार्ग क्षेत्रका होटल, होटल आसपासका किराना पसलमा अनुगमन गर्दा म्याद नाघेका उपभोग्य वस्तुको बिक्री भइरहेको, उत्पादकले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए । जिल्ला बजार अनुगमन समितिले राजमार्ग क्षेत्रमा यात्रु लक्षित होटलहरूको भान्सा अधिकांशको फोहोर भेट्टाएको छ ।

‘हामीले अनुगमन गरेका किराना पसल र होटलहरूलाई सुझाव दिएका छौं । सुधार गर्न म्याद पनि दिएका छौं । केही किराना पसल र होटलहरूलाई अनुगमनको क्रममा जरिवाना गरेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । अनुगमनमा व्यवसाय दर्ता भए/नभएको, कर तिरे/नतिरेको, मूल्यसूची राखे/नराखेको, व्यवसायीले उपभोक्तालाई गर्ने व्यवहार, उपभोग्य वस्तुमा एमआरपी भए/नभएको, एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरे/नगरेको हेरिएको अनुगमन समितिले जनाएको छ ।

उपभोक्ताबाट म्याद नागेको सामान बिक्री गरेको, महँगो मूल्यमा बिक्री गरेको र सरसफाइ नभएको गुनासो आएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । ‘कार्ययोजना बनाएर उत्पादकदेखि उपभोक्तसम्मलाई अनुगमन गर्छौं । यसभित्र डिलर तथा थोक विक्रेता, वितरण, खुद्रा विक्रेता सबै पर्छन् । अनुगमन गर्ने मात्र होइन, नियमन पनि गर्ने भएकाले कसुरअनुसार दण्ड–जरिवाना सोही समयमा नै गर्छौं,’ पराजुलीले भने ।

अनुगमन गरिएको २० वटा होटल तथा आसपासका किराना पसलमध्ये ६ वटा कारबाहीमा परेका र ती होटल तथा किराना पसललाई उपभोक्ता ऐन २०७५ बमोजिम कारबाही गरिएको बजार अनुगमन समितिका सदस्य सचिव एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मेघनाथ गौतमले बताए । गल्छीस्थित घिमिरे बाजेको किराना पसल अनुगमन गर्दा म्याद नाघेका सामान बिक्रीका लागि राखिएकाले करिब १८ हजार ५ सय रुपैयाँबराबरको सामान नष्ट गरी ५ हजार जरिवाना गरिएको छ ।

कोइराले डाँडास्थित न्यू काष्ठमण्डप होटललाई एमआरपी मूल्यभन्दा बढीमा सामान बिक्री गरेको र यसअघिका निर्देशन पालना नगरेकाले ३० हजार जरिवाना गरिएको छ । चालिसे स्टाफ होटललाई व्यवसाय सञ्चालनसम्बन्धी कागजात नभेटिएको, मूल्यसूची स्पष्ट नभएकाले ५ हजार जरिवाना गरिएको छ । यसैगरी ज्यामिरेस्थित मोहन किराना पसललाई म्याद नाघेका सामान बिक्रीका लागि राखेको, मूल्यसूची अद्यावधि नभएको र नापतौलयन्त्र नवीकरण नभएकाले ५ हजार जरिवाना गरिएको छ ।

ज्यामिरेस्थित पाण्डे किराना पसललार्ई म्याद नाघेका सामान बिक्रीका लागि राखेको, मूल्यसूची अद्यावधि नभएको र नापतौल यन्त्र नवीकरण नभएकाले ५ हजार जरिवाना गरिएको छ । लालटिन बजारस्थित श्याम खाजा घरलाई किचन सरसफाइ नभएको र तोकिएभन्दा बढी मूल्यमा सामान बिक्री गरेकाले ५ हजार जरिवाना गरिएको कार्यालय प्रमुख एवं सदस्य सचिव गौतमले बताए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, राष्ट्रिय उपभोक्ता मञ्च, सञ्चारकर्मीहरू सहभागी रहेको पनि गौतमले बताए । अनुगमन गर्न तीनै तहको सरकारसँग संयन्त्र छ, तर प्रभावकारी हुन सकेको छैन । पर्वविशेषका अनुगमन देखावटी मात्र हुने गरेको छ । स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षलाई दिएको बजार अनुगमनको जिम्मेवारी राजनीतिसँग प्रभावित हुने भएकाले सक्रिय भएको छैन ।

बजार वस्तु र सेवा खरिद–बिक्री गर्ने स्थान भएकाले बजारमा व्यावसायिक गतिविधि वैध, स्वच्छ र प्रतिस्पर्धी हुनुपर्छ । यस्तो अवस्थामा मात्र उपभोक्ताको अधिकार संरक्षण हुन्छ । अवैध, अविश्वासी र गुणस्तरहीन वस्तुको बिक्रीले आम उपभोक्ताको स्वास्थ्यमा प्रभाव पार्छ । अनुगमन व्यवसायीलाई कारवाही गर्ने र दण्ड जरिवानाबाट राजस्व उठाउने प्रयोजनका लागि मात्रै नभई बजारमा सुधार ल्याउनु हुनपर्ने उपभोक्ताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्