Logo

दुबै सदनबाट स्व.नेम्वाङको शोक प्रस्ताव पारित

काठमाडौं- दुबै सदनको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकबाट स्व.नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई प्रतिनिधि सभा बैठकको सर्वसम्मतले पारित गरेकाे हाे । यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए ।

स्व. नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य,२०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिक संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य थिए । साथै २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधान सभाको अध्यक्ष थिए ।

यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका स्व. नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए । संविधान सभा मार्फत नेपालको संविधान निर्माणमा उनको अग्रणी भूमिका रहेको थियो । राष्ट्रिय सभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रबार अपरान्ह बजेर १ मिनेटमा बस्नेछ भने प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्