दोलखामा विद्युत खपत अभियान सुरु

दोलखा– विद्युत उत्पादनको जिल्लाको रूपमा रहेको दोलखामा विद्युत खपत अभियान सुरु भएको छ । स्थानीयस्तरमै उत्पादित विद्युत कसरी बढी खपत गर्न सकिन्छ भनेर चाहेजति विद्युत उपलब्ध गराउने तयारी गरेको छ । विद्युत खपत गराउन घरघरमा विद्युतीय चुलो र विद्युतीय गाडी प्रयोगमै जोड दिएको छ । आजभोलि दिनदिनै घरघरमा विद्युतीय चुल्हो प्रयोगकर्ता पनि बढेका छन् ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको भान्सामा विद्युतीय चुलो प्रयोग सुरु भएको छ । सेना र सशस्त्रले प्रयोग गरेका विद्युतीय चुलो ठूलो संख्यालाई खाना पकाउन प्रयोग भइरहेको छ । अघिल्लो आर्थिक वर्षमा गौरीशंकर गाउँपालिका र तामाकोसी गाउँपालिकामा विद्युतीय चुलो वितरण सुरु भएको छ । स्थानीयले चुलो प्रयोगसमेत थालेका छन् । अब ठूलो संख्यामा खाना पकाउने ठूला होटेल, विद्यालयका छात्रबास, सरकारी कार्यालयमा विद्युतीय चुलो प्रयोग गराउन छलफलसमेत भएको छ ।
विद्युतका लागि अब मागे जति उपलब्ध गराउने भएकाले ढुक्क भएर प्रयोग गर्न नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताए । ग्यासभन्दा विद्युतीय चुल्होबाट पकाउँदा आधा सस्तो पर्ने हुँदा ढुक्कले विद्युतीय चुलो प्रयोग गर्न पनि उनले आग्रह गरे । प्राधिकरणले विद्युतीय सुरक्षा र विद्युत खपत बढाउन चेतनामूलक कार्यक्रम पनि अघि बढाएको छ । केही समयअघि दोलखाकै दुर्गममध्येको एक विगू गाउँपालिका–८ थामीचागूमा पुगेर स्थानीय र विद्यार्थीलाई विद्युतीय सुरक्षा, विद्युतीय माध्यम प्रयोग गरेर महशुल भुक्तानी बारेमा जानकारी गराए ।
केही महिनायता काठमाडौंदेखि चरिकोटसम्म विद्युतीय सवारीसमेत चल्न थालेको छ । सुरुवाति चरणमा रोल्वालिङ यातायात सहकारी संस्थाले विद्युतीय गाडी चलाउन थालेपछि यात्रुको आकर्षण विद्युतीय गाडीमा भएपछि पूर्व अरनिको यातायात प्रालिले पनि विद्युतीय गाडी सञ्चालन गर्न थालेको छ । विद्युतीय सवारीको लागि एउटा चार्जिङ स्टेसन राखे तापनि पर्याप्त भएको छैन । चार्ज गर्न नपाएरै कहिलेकाँही समयमा गाडी चल्न नपाएको गुनासो पनि सवारीधनीको गुनासो छ ।
पूर्व अरनिको यातायात प्रालिका कर्मचारी कृष्ण थपलिया विद्युतीय गाडीमा यात्रुको आकर्षण बढ्दै गए तापनि कहिलेकाँही चाँर्जिङ अभावमा गाडी थन्क्याउनु पर्ने बाध्यता हुन्छ । ‘यात्रु लिएर काठमाडौंबाट गाडी आउँछन्, चरिकोट आइपुग्दा चार्ज सकिन्छ,’ उनले भने, ‘एउटामात्र चार्जिङ स्टेसन त्यसमा पछि थोरै क्षमताको धेरै समय लाग्ने हुँदा अर्को गाडी चार्ज गरिरहेको हुँदा पालो कुर्दाकुर्दै गाडी यतै राख्नु पर्ने बाध्यता छ ।’
विद्युतीय सवारीलाई प्रोत्साहित गर्न स्थानीय सरकार पनि लागेका छन् । भविष्यमा विद्युतीय सवारीलाई लक्षित गरेर चरिकोट, सुन्द्रावती, सिंगटी, जिरीलगायतका स्थानमा विद्युतीय चार्चिङ स्टेसन थप गर्न लागेका छन् । अन्य स्थानमा केही ढिला भए तापनि चरिकोटमा प्राधिकरणकै तर्फबाट चाँडै चार्जिङ स्टेसन तयार हुने वितरण केन्द्र प्रमुख ढकालले बताए । डिजेल र पेट्रोल गाडीभन्दा खर्च पनि असाध्यै कम आउने भएकाले पनि उपभोक्ता विद्युतीय गाडीप्रति आकर्षित हुँदैछन् । विद्युतीय सवारी चल्न थालेपछि यात्रुको रोजाइ पनि विद्युतीय हुन थालेको छ ।
आवाज नआउने, गन्धसमेत नआउने साना सवारी सुमोको भन्दा सिट पनि सजिलो हुनाले यात्रुको रोजाइ विद्युतीय सवारी हुने गरेका छन् । तर गाडीमा खर्च कम आउने भए तापनि भाडा भने अरु गाडीभन्दा कम छैन । विशेषगरी पुराना डिजेल गाडीमा यात्रु घट्नेभन्दै यातायात व्यवसायीले विद्युतीय गाडीको भाडा घटाउन मानेका छैनन् । खर्च कम हुने भएपछि भाडा पनि सस्तो हुनुपर्ने कालिञ्चोक गाउँपालिका–४ का नवराज पाठकको माग छ ।
दोलखाबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित एक दर्जन जलविद्युत आयोजनामा करिब ६ सय मेगावाट विद्युत उत्पादन हुन्छ । स्थानीय वितरण केन्द्रका लागि लामोसाँघु, सिंगटी, खिम्ती र गर्जाङ सबस्टेसनबाट विद्युत जोडिएका छन् । ४० हजार ४७८ घरधुरीमा विद्युत सेवा पुगेको छ । विगू गाउँपालिका–१ लप्ची गाउँका २० घरबाहेक सबै घरमा विद्युत सेवा पुगेको छ । जसबाट गत आर्थिक वर्ष २०७९/०८० मा १४ करोड ९७ लाख ७९ हजार रकम संकलन भएको छ ।
जुन अघिल्लो आर्थिक वर्षभन्दा ११ प्रतिशत बढी हो । विद्युत खपत नबढे पनि अघिल्लो वर्षको बक्यौक्ता असुलीले रकम संकलन बढेको हो । विद्युतको राष्ट्रिय प्रणालीमा २८६३ मेगावाट विद्युत जोडिएको मध्ये २६ सय ३३ मेगावाट जलविद्युतको मात्र रहेको छ । विद्युत खपत भने बढ्न नसक्दा अहिले विद्युत खेर गइरहेको छ । सहरी क्षेत्रमा पनि विद्युतीय चुलो र सवारी प्रयोग बढ्दै जाने हो भने आयातित ग्यासको विस्थापन र आफ्नै विद्युतको खपत बढ्ने पक्का छ ।