Logo

अन्त्येष्टिका दिन सार्वजनिक बिदा, एमालेले तीन दिन शोक मनाउने

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा, राजकीय सम्मानका साथ अन्त्येस्टि गरिने

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

त्यसैगरी विभिन्न दलका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन् । नेम्वाङलाई श्रद्धाञ्जलि दिन अहिले पार्टी मुख्यालयमा भीड लागेको छ । प्रतिनिधिसभामा इलामबाट निर्वाचत सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो । यस्तै सरकारले अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् । मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

त्यस्तै, नेकपा (एमाले)ले उपाध्यक्ष नेम्बाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्यांकन गर्दै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय तथा इलाम निर्वाचन क्षेत्र नं. २ मा शोक पुस्तिका राखिने छ । पार्टी र पार्टी सम्बन्ध जनवर्गिय संगठनको औपचारिक कार्यक्रम तीन दिनसम्म स्थगित गरिएको नेता ज्ञवालीले जानकारी दिए । यसैगरी पार्टीले असोज २ गते पार्टी मुख्यालयमा विशेष श्रद्धाञ्जलिसभा गर्ने निर्णयसमेत गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्