Logo

प्रधानमन्त्रीको चीन भ्रमणबाट कर्णालीमा विकासको अपेक्षा

जाजरकोट– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणबाट कर्णालीमा विकासको कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ । चीनको सिमानासँग जोडिएको कर्णाली प्रदेशको हिमाली जिल्लामा विकास निर्माणदेखि रणनीतिक महत्त्वका विभिन्न परियोजनामा चीनको लगानीका विषयमा समेत चासो देखिएको छ ।

ढिला गरी हुन गइरहेको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबाट गरिब प्रदेशको पगरी गुथेको कर्णालीले अपेक्षाका चाङ सँगालेर बसेको भन्दै प्रमुख प्रतिपक्ष दल तथा नेकपा एमालेका नेता यामलाल कँडेलले प्रदेश स्थापना दिवसकै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कर्णाली प्रदेशको स्थापना दिवसमा सुर्खेत आएका प्रधानमन्त्रीले कर्णालीका धेरै मुद्दा चीन भ्रमणको समयमा छलफल हुन गइरहेको सार्वजनिक रूपमै बताएका थिए ।

चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने कर्णालीवासीको अपेक्षा छ । त्यसैगरी भेरी करिडोर, कर्णाली करिडोरलगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा चीन सरकारको लगानीमा निर्माण होस् भन्ने कर्णालीवासीको आशा छ । प्रदेशको मेरुदण्डका रूपमा रहेका कर्णाली, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्गलगायतका महत्त्वपूर्ण सडक निर्माण ध्यान जानेछ भन्ने अपेक्षा रहेको नेकपा माओवादी केन्द्र स्थायी कमिटीका सदस्य कालीबहादुर मल्लले बताए ।

उनले भने, ‘कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम बढेको तर्फ र सडक पूर्वाधार विकासमा संघीय सरकारले विशेष जोड दिनुपर्ने प्रधानमन्त्रीसँग धेरै पटक छलफल भइसकेको छ ।’ मल्लले कर्णालीको अभाव, गरिबी र भूगोलमा बसेका नागरिकका बारेमा प्रधानमन्त्रीले चीनमा व्यापक कुरा उठाउने भरपर्दो समय रहेको बताए । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेलले भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

‘भेरी र कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजना राखेर निर्माण गरिदिए पुग्छ’, उनले भने, ‘सबै नेता यहाँ आउँदा कर्णाली तपाईंहरूको प्राथमिकतामा पर्छ भने पनि सिंहदरबार पुगेपछि कर्णाली केन्द्रको प्राथमिकतामा पर्दैन ।’ कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीले पनि सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । त्यस्तै हुम्लाको मुगु र डोल्पाले चीनलाई छुने गर्छ । ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेको कर्णालीमा ७९ वटा स्थानीय तह छन् । चीनले नाकाबन्दी गर्दा उपल्लो डोल्पाका सर्वसाधारणले सधैं पीडा पोखिरहेका छन् ।

डोल्पोबुद्धका ग्याल्पो भोटेले तीन वर्षअगाडि उपल्लो डोल्पा आउँदा प्रधानमन्त्रीले सीमा नाका खोल्ने विषयमा चीनसँग छलफल गर्छु भनी दिएको वचन यो पटक पूरा हुने आशा व्यक्त गरेका छन् । डोल्पाका प्रदेशसभा सदस्य शेरबहादुर बूढाले भेरी करिडोरलाई महत्त्व दिनुपर्ने माग गरेका छन् । १५ दिन हाट बजार लाग्ने मरिम तिन्जे, क्याटो नाका खोलेर सहजता ल्याउने वातावरण बनाइदिन आग्रह उनले गरे । उपल्लो डोल्पामा नुन, तेल र चामलकै समस्या रहेको भन्दै उनले जाजरकोट र जुम्लाको बीचमा निर्माण हुन लागेको सुरुङमार्गको कुरालाई पनि व्यापक रूपमा उठाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्