‘विद्युतीय चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र आउनुपर्छ’

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेशन बनाउनको लागि निजी क्षेत्र आउनुपर्ने बताएका छन् बुधबार नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशनको संयुक्त रुपमा उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको बिस्तार र चार्जिङ स्टेशन विस्तारको लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उल्लेख गरे ।
निर्देशक घिसिङले निजी क्षेत्रलाई चार्जिङ स्टेशन बिस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको बताए । उनले निजी क्षेत्र आएमा प्राधिकरणले दिनुपर्ने सेवा ट्रान्सफरमरदेखि विद्युत सप्लाईको साइटमा लगानी गरिरहेको उल्लेख गर्दै जग्गा र चार्जिङ स्टेशन लगानी गरे अरु सेविधाहरुमा प्राधिकरणले लगानी गर्ने प्रतिवद्धता जनाए । निर्देशक घिसिङले विद्युत प्राधिकरणले ५१ वटा स्थानको चार्जिङ स्टेशनको एक साथ उद्घाटनले देशभर विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।
पछिल्लो समय माईक्रो बस, ट्याक्सी र व्यक्तिगत सवारी साधनहरु गरी धेरै विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएको उनको भनाइ छ । घिसिङले चार्जिङ स्टेसनले गर्दा नेपालको यातायात क्षेत्रमा सस्तोमा यात्रा गर्न सकिने बताए । उनले चार्जिङ स्टेसनबाट चाँज गर्दा पेट्रोलिय पदार्थ भन्दा करिव १५ देखि २० गुणा सस्तो पर्ने भन्दै डिजेल पेट्रोलमा ६ हजा लाग्ने ठाउँमा ४ सय रुपैयाँले पुग्ने अवस्था रहेको बताए । उनले विद्युतीय सवारी साधनको प्रवर्द्धनले नेपालको विद्युत नेपालमा नै खपत हुने बताए ।
उनले विद्युतीय सवारी साधनको विकाससँगै पेट्रोलिय पदार्थको आयात कम हुने, व्यापारघाटा कम गराउने र विदेशी मुद्रा सञ्चितिमा पनि योगदान गर्ने उल्लेख गरे । उनले आगामी दिन नेपालको ग्रिन ऊर्जामा रुपान्तरण भएर नेपालको अर्थतन्त्रलाई राम्रो योगदान पुग्ने अपेक्षा रहेको बताए । उनले प्रधाधिकरण अझै ११ वटा थप विद्युतीय चार्जिङ स्टेसन बिस्तार गर्ने बताए ।
त्यस्तै, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले नेपालमा नै विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन गरी विद्युतीय पूर्वाधार तयार गर्नसके नेपालमा उत्पादन भएको जलविद्युत देशभित्रै खपत हुने बताए । उपाध्यक्ष सिटौलाले विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहन गरी पूर्वाधार तयार गरे मुलुकमा उत्पादित विद्युतलाई विदेश निर्यात गर्न नपर्ने बताए ।
उनले विद्युतीय सवारी साधनको विकास र बिस्तारको लागि विद्युतीय चार्जिङ स्टेशनहरु देशभर ५१ वटा मात्रै नभएर ५१ हजार हुन आवश्यक रहेको उल्लेख गरे । सार्वजनिक विद्युतीय सवारी साधनको लागि सरकारले सम्पूर्ण विद्युतीय पूर्वाधार तयार गर्न आवश्यक रहेको दाबी गरे । उनले सार्वजनिक विद्युतीय ठूला बसहरुको लागि सानो ठाउँमा चार्जिङ स्टेशनले काम नगर्ने बताए ।
उनले सार्वजनिक विद्युतीय सवारी साधनको विकासको लागि सरकारले सहजिकरण गर्नु आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले अहिले भएका नीति तथा कानूनहरुमा सहजिकरण गरिदिनुपर्ने बताए । सरकारले गोंगबु नयाँ बसपार्कमा सरकारले विद्युतीय चार्जिङ स्टेशन बनाउन उनले माग गरे ।