१० प्रतिशत घरमा विद्युतीकरण हुन बाँकी

धादिङ– पछिल्लो समय बिजुली बत्ती बाल्नमात्र नभई विद्युतलाई दैनिक जनजीवनसँग जोडेर हेर्न थालिएको छ । मानिसको रोजगारी, आयर्आजन तथा नवप्रवर्द्धनसँग जोडेर विद्युतको व्याख्या गरिएको छ । अझ मुलुक डिजिटल युगमा प्रवेश गरेपछि त एक सेकेण्ड बिजुली कटौती हुँदा पनि सेवा प्रदायक संस्था र कार्यरत कर्मचारी प्रति टीका टिप्पणी सुरु हुन्छ ।
धादिङमा आर्थिक वर्ष २०८०/०८१ सम्ममा शतप्रतिशत घरपरिवारमा बिजुली बत्तीको पहुँच पुर्याउने लक्ष्यसहित नेपाल विद्युत प्राधिकरण धादिङ केन्द्रले काम गरिरहेको छ । आव २०७९/०८० सम्ममा घरेलु प्रयोजनका लागि ६३ हजार मिटर जडान गरिसकेको धादिङ केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । बाँकी १० प्रतिशत घरपरिवारमा विद्युतिकरण गर्न टेण्डरमार्फत् काम भइरहेको छ ।
आव २०८०/०८१ को अन्तसम्ममा सबै घरपरिवारमा बिजुली बत्ती पुग्ने केन्द्र प्रमुख न्यौपानेले बताए । यस जिल्लामा औद्योगिक केन्द्र नभए पनि राजमार्ग क्षेत्रमा क्रसर, बालुवा प्रशोधन केन्द्र सञ्चालनमा छन् । बेनीघाट रोराङ गाँउपालिका–२ ताल्तीमा ह्वासिन सिमेन्ट उद्योग, धुनीबेंसी नगरपालिका–९ जुगेडीमा यूनाइटेड सिमेन्ट उद्योग र वडा नं. ७ खानीखोलामा मंगला सिमेन्ट उद्योग सञ्चालनमा छन् ।
जिल्लामा ६३ हजार मिटरबाट पाँच मेगावाट विद्युत खपत हुँदै आएको छ । यसैगरी यूनाइटेट सिमेन्ट उद्योगको १० मेगावाट खपत गर्ने क्षमता हो तर अहिले सरदर चारदेखि पाँच मेगावाट खपत गर्दै आएको छ । ह्वासिन सिमेन्ट उद्योगको २० मेगावाट खपत गर्ने क्षमता हो तर अहिले ६ देखि सात मेगावाट खपत गर्दै आएको छ । जिल्लामा नौवटा ग्रामीण सामुदायिक विद्युत संस्थामार्फत् पनि विद्युतीकण भएको छ ।
चारवटा सामुदायिक विद्युतीकरण गर्ने संस्था मैदी, मालिका, भैरवी र रणकालिका नियमित महशुल बुझाउनेमा पर्छन् । तर बाँकी पाँचवटाले नियमिति महशुल बुझाउन पनि कठिन छ । विद्युतभार कटौती गर्नुपर्ने अवस्था छ । समुदायले विद्युत वितरण गर्न सहज छैन । कुन बेला कहाँ के हुन्छ भन्न सकिन्न । विद्युत प्राधिकरण जोसँग प्रविधि, प्राविधिक, स्रोतसाधन हुँदा त अटुट रूपमा सेवा प्रवाह गर्न कठिन भइरहेको छ । सामुदायिक संस्थाले कसरी सेवा प्रवाह चुस्तदुस्त बनाउन सक्छन् केन्द्र प्रमुख न्यौपानेले बताए ।
अहिले धादिङबेसी, सल्यानटार, जरेखेत र नौबिसेमा विद्युत सबस्टेसन रहेको छ । प्रशाखा तथा नो लाइट १० वटा छ । अहिले नुवाकोटबाट धादिङबेसी र जरेखेत सबस्टेसनमा ल्याएर विद्युत विरतण गरिँदै आएकोमा अब मस्र्याङ्दीबाट ल्याएको १३२ केभीबाट सिद्धलेकको करमटारमा ट्रान्समिटर राखेर धादिङबेसी र जरखेत सबस्टेसनमा जोड्ने काम हुँदैछ । करमटारमा विद्युत जडान भए पनि अहिलेको जस्तो विद्युत देखिएका समस्या ९० प्रतिशत कमी हुने अनुमान रहेको केन्द्र प्रमुख न्यौपानेले बताए ।