जग्गा अधिग्रहण गर्दै एमसीए

आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनहुँ जिल्लाका विभिन्न स्थानीय तहका जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु गरेको हो ।
दमौली– नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित ४०० केभी विद्युत प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनहुँ जिल्लाका विभिन्न स्थानीय तहका जग्गा अधिग्रहणका लागि प्रक्रिया सुरु गरेको हो ।
त्यसका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १२ गते सूचना जारी गरेको छ । आँबुखैरेनी, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिकामा पर्ने जग्गा तथा जग्गामा रहेका घरगोठ, टहरा, कटेरा तथा रुख बिरुवासमेत स्थायी रूपमा अधिग्रहण गर्ने गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उदफा १ को प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सोसमेतको दाबीका लागि २१ दिने सूचना प्रकाशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
उक्त ऐनको दफा १० अनुसार सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा बालीनाली लगायत अन्य संरचना भए सोसमेतको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा दिन आग्रह गरिएको छ । साथै जग्गा प्राप्त गर्नुनपर्ने कुनै मनासिव कारण भए त्यसको कारण खोली ऐनको दफा ११ बमोजिम सूचना प्रकाशित भएको मितिले बाटाको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत् गृह मन्त्रालयमा उजुरी गर्न सकिने सहायक प्रजिअ गैरेले बताए ।
प्रसारणलाइन निर्माणका लागि आँबुखैरेनी गाउँपालिका–४ को पुरेबेशीबाट उत्तर, लोर्याङबाट दक्षिण, सिउरेनीबाट उत्तर, वडा नम्बर ४ कै काफलडाँडाबाट उत्तर, वडा नम्बर ५ को लाब्दीबाट दक्षिण, वडा नम्बर ५ कै बगाई नजिक, वडा नम्बर ६ को डाँडागाउँबाट उत्तर, सिरानुखोलाबाट दक्षिण, घोरेगाउँबेशीबाट उत्तर, ज्यामिरे र छापस्वाँराबाट दक्षिण, जलभञ्ज्याङ नजिकैको जग्गा अधिग्रहण गरिनेछ ।
बन्दीपुर गाउँपालिका–६ को बनगिया नजिक, कल्लेरीबाट उत्तर, गाम्पाबाट दक्षिण, बासपानीबाट उत्तर, वडा नम्बर ३ को माथिल्लो हलथुम्कानजिकै कुकुर्दीबाट दक्षिण, वडा नम्बर २ को बेलकुनाबाट दक्षिण, धितालडाँडाबाट उत्तर, व्यास नगरपालिका वडा नम्बर १४ को आफ्रेडाँडाबाट उत्तर, ठूडेगैराबाट दक्षिण, वडा नम्बर १३ को बेलभञ्ज्याङ, डाँडाचोकबाट दक्षिण, चारघरेबाट उत्तर, थामेडाँडा नजिकै, लामेटारीबाट दक्षिण, बेलचौताराबाट उत्तर, भड्खालाबाट दक्षिणतर्फको जग्गा अधिग्रहण गरिनेछ ।
ऋषिङ गाउँपालिकाको वडा नम्बर १ को डाँडाखुदीनजिकै बाँझोबाट उत्तर, अङ्गेरीथुम्का नजिकै तल्लो सेटाङबाट उत्तर, वडा नम्बर ६ को धरमपानीबाट उत्तर, ज्यामिरेखानबाट दक्षिण, वडा नम्बर ७ को देउरीपानीबाट उत्तर, वडा नम्बर ७ को बारी लिकन्दीबाट दक्षिण, वडा नम्बर ८ को नयाँ ऋषिङबाट उत्तर, झिरुवासबाट दक्षिण धारुङबाट उत्तर, वडा नम्बर ८ कै धरुम भञ्ज्याङबाट दक्षिणको जग्गा अधिग्रहण गरिनेछ ।
घिरिङ गाउँपालिकाको वडा नम्बर ८ को मोचाबारीबाट दक्षिण गोर्दी र मचाबारीबाट उत्तर, वडा नम्बर ५ को धाकर्दीबाट दक्षिण, बेलभञ्ज्याङबाट पूर्व साभुङ र मानपुरबाट दक्षिण, वडा नम्बर ३ को खिलाबाट दक्षिण, पोखरीछाप र डाँडाथोकबाट दक्षिण, गैराथोक नजिकै, नेवार हटिया नजिकै, सिलिङचोकबाट दक्षिण, वडा नम्बर २ को फलादीबाट दक्षिण, देउरालीबाट उत्तर, दुमकोटबाट उत्तर, वडा नम्बर १ को चङमराङबाट उत्तरतर्फको जग्गा अधिग्रहण गरिनेछ । परियोजनामार्फत् रातमाटेदेखि नयाँ दमौली र नयाँ बुटवलदेखि नयाँ दमौलीसम्म प्रसारणलाइन निर्माण हुनेछ ।