Logo

अव्यवस्थित विद्युतीय पोल हटाइने

महेन्द्रनगर– महेन्द्रनगरको मुख्य बजार क्षेत्रका सडकबीचमा ठडिएका विद्युतीय पोल एक महिनाभित्र हटाइने भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास कार्यक्रमले भीमदत्त नगरपालिकाभित्र निर्माण गरिरहेको अत्याधुनिक सडक कुरुप हुने गरी सडकबीचमा रहेका पोल हटाउन लागिएको हो ।

उक्त पोल हटाएर मुख्य बजार पछाडिपट्टिका गल्लीमा सार्ने काम विगत सात महिनादेखि रोकिएको छ । समयमै ११ मिटरका उक्त पोल नपाएपछि पुरानो पोल नसारीकनै ठेकेदार कम्पनीहरूले काम गरिरहेका थिए । त्यसैगरी नेपाल विद्युत प्राधिकरणले ११ मिटरका पोल गाड्नुपर्ने भनेपछि उक्त विद्युतीय पोल जहाँ छन् त्यहीँ छोडेर ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सनले सडक निर्माण गरेको थियो ।

सडकको डिजाइनमा नौ मिटरका पोल भएको तर पछि प्राधिकरणले ११ मिटर चाहिने भनेपछि उक्त पोलहरू सार्ने काम प्रभावित भएको थियो । त्यसैगरी क्षेत्रीय सहरी विकास कार्यक्रमका डिभिजनल इन्जिनियर रमेश थिङले सहरी विकास मन्त्रालयले पोलको लागतभन्दा थप रकम स्वीकृत नगरेको बताए । उनले भने, ‘सहरी विकास कार्यक्रमले नौ मिटरका पोल विद्युत प्राधिकरणलाई दिने र प्राधिकरणले ११ मिटरका पोल खरिद गरी जडान गर्ने सहमतिपछि उक्त पोल तथा लाइन सार्ने काम सुरु हुन लागेको हो ।’

थिङका अनुसार पोल खरिद प्रक्रिया सुरु भइसकेको छ भने अबको एक महिनामा पोल र लाइन सार्ने काम सुरु हुन्छ । त्यसैगरी महेन्द्रनगरको मुख्य बजारलगायतको क्षेत्रमा ११ मिटर अग्ला २ सय ९६ वटा पोल आवश्यक रहेको बताइएको छ । एडिबीको सहयोगमा हाल महेन्द्रनगरमा सडकपेटी, सतह ढल र सडक बत्तीसहित दुई लेनको १४ किलोमिटर सडक निर्माण भइरहेको छ । एडिबी परामर्शदाता कम्पनीका इन्जिनियर अरविन्द यादवका अनुसार ठेकेदार कम्पनीले लगभग ९० प्रतिशत काम पूरा गरिसकेको छ ।

उनले भने, ‘विद्युतीय पोलमा आएको समस्याले बाँकी काम हुन सकिरहेको छैन भने ११ मिटरको विद्युतीय पोल नपाउँदा ठेकेदारले आफ्ना कर्मचारीलाई बिदा दिएको छ ।’ ‘इन्जिनियर यादवका अनुसार ठेकेदारले सानातिना काम गरिरहेको छ भने निर्माण सकिन लागेको भए पनि झन्डै एक दर्जन ठाउँमा देखिएको विवाद भने समाधन भएको छैन । विवादका कारण ठाउँ–ठाउँमा सडक निर्माणका काम अधुरो रहेका छन् ।

एयरपोर्ट रोडका दुई ठाउँ, मदन चोकमा २२ सटरको विवाद, आँखा अस्पताल रोडमा एक ठाउँ र कटानका दुई ठाउँलगायतमा विवाद हुँदा उक्त ठाउँमा सडक अपुरो रहेका छन् । त्यसैगरी भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले सबै विवादको समाधान हुने गरी आफूले पहल थाल्ने बताए । उनले भने, ‘एक हप्ताभित्रै विवाद समाधानसमेत हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्