पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग «
Logo

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

पोखरा– पोखराको आर्थिक विकास र समृद्धिका लागि यहाँको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न माग गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको समन्वयमा सोमबार भएको छलफलमा सहभागी नागरिक समाज, उद्योगी–व्यवसायी लगायतले नियमित उडानको व्यवस्था गर्न माग गरेका हुन् ।

पोखराबाट चीनका विभिन्न सहरसम्म नियमित रुपमा सिधा हवाई उडान गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनीहरुको माग छ । करिब २३ अर्बमा निर्माण भएको विमानस्थलको भरपूर उपयोग गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए । भूकम्प, त्यसपछि कोभिड र रुस–युक्रेन तथा हाल देशमा देखिएको आर्थिक मन्दीले गर्दा गण्डकी प्रदेशको राजधानी पोखरा र यस आसपासको क्षेत्रलाई चलायमान बनाउन नियमित उडानको विकल्प नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी महिना चीन भ्रमण गर्ने कार्यक्रम तय भएकाले पोखरा क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि चीन सरकारसमक्ष पोखरेलीका माग पूरा गर्न विशेष पहलका लागि आफूहरूले आग्रह गर्नेे उनले सुनाए । त्यसैगरी पोखरा–कोरोला नाका खुला गर्न पहल गर्नुपर्ने, पोखरालाई चिनियाँ पर्यटकको गन्तव्य बनाउन माग गर्ने, पोखरामा चिनियाँ महावाणिज्य दूतावासको स्थापना गर्न माग गर्ने मुल्मीको भनाइ छ । पोखराको आधुनिक ७२ किलोमिटर चक्रपथ निर्माण गर्न पनि प्रधानमन्त्रीसमक्ष माग गर्ने उनले सुनाए ।

पृथ्वी राजमार्ग विस्तारमा चिनियाँ कम्पनीले ढिलासुस्ती गरेकाले त्यसलाई द्रुत गतिमा काम अघि बढाउन पनि माग गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । साथै पोखराको पर्यटन प्रवर्द्धन हुने विभिन्न कार्यक्रम गर्न, पोखरामा चीन र नेपालको संयुक्त लगानीमा उद्योग स्थापना गर्न सहभागीले माग गरेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बताए । नेपाली युवालाई स्वदेशमै रोक्ने गरी युवा लक्षित र रोजगारमूलक कार्यक्रम ल्याउन माग गरिने उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जनाए ।

प्रतिक्रिया दिनुहोस्