स्वार्थ समूह हाबी हुँदा कानून बनाउन सकिएन «

स्वार्थ समूह हाबी हुँदा कानून बनाउन सकिएन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताएकी छन् । बिहीबार मिडिया एड्भोकेसी ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानून निर्माणमा समस्या भएको बताइन् ।

उनले साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन विभिन्न स्वार्थ समूहको कारण अहिलेसम्म टुंगो लाग्न नसकेको दावी गरिन् । मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल शुरु हुने बित्तिकै विधेयकको सानो अंक बाहिर झिकेर कानूनको अपव्याख्या शुरु गरेको उनको भनाइ छ ।

‘सूचना सम्बन्धि विधेयकमा सामाजिक सञ्जालसम्बन्धि ऐन समेटिएको रहेछ । त्यो कानूनको विषयमा मन्त्रालयले छलफल मात्रै के गरेको थियो । सबैको फोन ट्यापिङ भइसक्यो भन्ने ढङ्गले बाहिर छलफल भयो’ उनले भनिन्, ‘त्यसलाई कानून बनाउन नकेर थन्काएका छौं । फेरि एक पटक स्टेकहोल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउनु पर्छ । कानून बनाउन यस्ता धेरै समस्याहरु छन् । स्टेक होल्डरहरुसँग के आवश्यक हो कहाँ के लेख्ने भनेर छलफल गर्ने प्रयासमा रहेका छौं ।’

मन्त्री शार्माले कानूनको अपव्याख्या र खरो रुपमा प्रहार गर्ने गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाउने गरेको दाबी गरिन् । उनले सरकारले ल्याउन लागेको सूचना सम्बन्धित विधेयकमा सामाजिक सञ्जाल सम्बन्धि ऐन पनि समेटिएकाले उक्त कानूनको विषयमा छलफल गर्दा सबैको फोन ट्यापिङ भइसक्यो भन्ने रुपमा बाहिर हल्ला गरिएको गुनासोसमेत गरिन् ।

‘सञ्चार मन्त्रालयमा यति धेरै प्रकारका स्वार्थ समूहहरु हुँदा रहेछन् । एउटा कानून बनाउन थाल्यो भने स्वच्छ मनले काम गर्न खोज्यो कहीँ कही त्यो कानूनले कसैलाई छाई हाल्दो रहेछ । कसलाई छोयो भन्ने थाहा हुँदैन’ उनले भनिन्, ‘त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानूनलाई अपव्याख्या गरेर अर्कै ढङ्गले प्रहार हुन्छ । त्यो प्रहारले सञ्चार मन्त्रालयले कानून बनाउन सकिँदैन भन्ने जस्तो फिल हुन्छ ।’

उक्त कानून बनाउन स्वार्थ समूहको कारण अगाडि बढाउन नसकेकाले थन्काएर राखिएको उनको भनाइ छ । मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने प्रष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्