Logo

‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यसमितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजीबीच सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका हुन् ।

उनले भने,‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।’ नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे । राष्ट्रपति पौडेल उद्योगी व्यवसायीले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पारे ।

उनले भने, ‘रोजगारी सिर्जना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला–बेलामा अबरोध देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धिलगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने अवस्थामा निजी सार्वजानिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लाग्छ’ उनले भने ।

उनले नेपालमा रोजगारी सिजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफुले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।’ उनले महासंघसँग पहिले नै भेटन चाहेकोमा स्वास्थ्य सुधार नभएकाले भेट केही ढिला भएको बताए ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सुचकहरू सकारात्मक रहेपनि आम नागरिक र व्यवसायीको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए । भेटका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेका अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने बताए । सरकारले पुँजीगत खर्च गर्न नसकेको र बैंक वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको छ ।

यस्तो अवस्थामा पुँजीको लागत कम गरि लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेकोमा अध्यक्ष ढकालले जोड दिए । व्यवसाय सतप्रतिशत चल्न सक्ने आधारमा राजस्वको लक्ष्य राखिएको हुन्छ । तर व्यवसाय दुई तिहाइ खुम्चिदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजस्व संकलन भएको छ । यससँगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत विन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पुँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्नेतर्फ उनले जोड दिएका थिए ।

त्यसैगरी अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवर्द्धनमा विशेष पहल आवश्यक रहेको पनि बताए । महासंघका पदाधिकारी लगायत कार्यसमितिले राष्ट्रपति समक्ष भेट गरेको हो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताए । उपाध्यक्ष हेमराज ढकालले यसपटक आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित रहेकोले तत्काल सुधार आवश्यक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्