नाका सञ्चालनमा चिनियाँ उदासीनता

कर्णालीको उपल्लो डोल्पालाई चीनसँग जोड्ने दुई नाका बन्द भएको चार–पाँच वर्ष भएको छ । कोभिड महामारी सुरु भएपछि चीनले बन्द गरेका क्याटो र मरिम नाका अझै खुलेका छैनन् । यी दुई नाकामा सदियौंदेखि व्यापारिक मेला लाग्दै आएको थियो । उपल्लो डोल्पाका बासिन्दाले व्यापारिक मेलाबाट आफूलाई आवश्यक पर्ने सामान खरिद गरी घरखर्च चलाउँदै आएका थिए । उपल्लो डोल्पामा चिनियाँ नाका हुँदै खाद्यान्न तथा नुन आयात नभएको पाँच वर्ष भइसकेको छ ।
कोरोना सुरु भएसँगै चीनबाट उपल्लो डोल्पामा आउने सबै खालका व्यापारिक सामान ल्याउने काम ठप्प भएको छ । नाका बन्द हुनुअघि काठमाडौंबाट तिब्बतको बाटो हुँदै मरिम र क्याटो नाकाबाट उपल्लो डोल्पामा चामल तथा नुन आयात हुँदै आएको थियो । प्रत्येक वर्ष १५ दिन हाटबजारको नाममा यी नाका खुल्थे । तर, कोभिडको समयदेखि हालसम्म नाका खुलेका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्न पनि चीनको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
यस्तै साल्ट ट्रेडिङलाई पनि नुन ढुवानीका लागि यही मात्र विकल्प छ । तर, कोभिडको समयमा बन्द गरिएको नाका अहिलेसम्म नखुल्दा उपल्लो डोल्पावासीले सरकारी अनुदानको खाद्यान्न र नुन उपभोग गर्न पाएका छैनन् । यस्तो अवस्थामा जनप्रतिनिधिहरूले १५ दिन भए पनि नाका खोली स्थानीयलाई सामान खरिद गर्ने वातावरण सिर्जना गर्न सरकारसँग अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्य धनबहादुर बूढा र शे फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले परराष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएका छन् ।
राजनीतिक रूपमा नेपाल र चीनबीच कुनै ठूलो विवाद नदेखिए पनि पछिल्ला केही वर्षदेखि चीनसँगको व्यापारिक सम्बन्धमा निकै उतारचढाव आइरहेको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले निकट भविष्यमै गर्न लागेको चीन भ्रमणका क्रममा मरिम र क्याटो नाकाको कुरा उठाउन पनि उपल्लो डोल्पावासीले माग गरेका छन् । तिब्बतबाट उपल्लो डोल्पाको आधा भागसम्म सडक निर्माण भइसकेको छ । यसले खाद्यान्न तथा अन्य सामग्री ढुवानी गर्न सहज बनाएको छ । नेपाली भूमिबाट उपल्लो डोल्पासँगको सहज पहुँच छैन । डोल्पाको दुनैबाट उपल्लो डोल्पा जाने घोडेटो बाटोसमेत राम्रो छैन ।
भेरी करिडोर हुँदै घोडा, खच्चडमा उपल्लो डोल्पा पुर्याएको खाद्यान्न तथा अन्य सामग्री निकै महँगो पर्छ । अर्कातिर वर्षमा एकमात्र बाली पाक्ने उपल्लो डोल्पामा उत्पादित अन्नले तीन महिनाभन्दा बढी पुग्दैन । बाँकी समय आयातित खाद्यान्नको विकल्प छैन । यस्तोमा वर्षको एकपटक लाग्ने मेलामा जानसमेत नाका बन्द भएपछि उपल्लो डोल्पावासी समस्यामा छन् । त्यसो त यहाँ मात्र होइन, नेपालसँग जोडिएका सबैजसो नाकाबाट हुने व्यापारिक गतिविधिलाई सहज बनाउने सवालमा उत्तरी छिमेकी चीन त्यति खुलेको देखिँदैन ।
राजनीतिक रूपमा नेपाल र चीनबीच कुनै ठूलो विवाद नदेखिए पनि पछिल्ला केही वर्षदेखि चीनसँगको व्यापारिक सम्बन्धमा निकै उतारचढाव आइरहेको छ । २०७२ को भूकम्पअघि चीनसँगको व्यापारमा खासै कुनै ठूलो समस्या देखिएको थिएन । कहिलेकाहीं देखिने सानातिना समस्या तत्कालै समाधान हुने गरेका थिए । तर, भूकम्पपछिको व्यापारिक सम्बन्ध विगतको जस्तो सुमधुर रहन सकेको छैन । नेपाल र चीनबीच हुने कुल व्यापारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने तातोपानी–खासा नाका एक किसिमले हराएर गएजस्तो छ ।
तातोपानी–खासा नाकाबाट कारोबार नभएपछि दुई मुलुकबीच भइरहेको व्यापारको गतिमा नै गिरावट आएको देखिन्छ । चीनले तातोपानी नाका बन्द गरेपछि रसुवागढीबाट व्यापार बढेको छ । तर, तातोपानीबाट हुने परिमाणबराबरको हिस्सा लिन सकेको छैन । तातोपानी खासा बन्द भएपछि नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका बनेको केरुङ–रसुवागढी पनि कोभिड कालका तीन वर्ष बन्द भएको थियो । यो नाका गत जेठबाट मानवीय आवागमनबाहेक आंशिक रूपमा सञ्चालनमा आएको थियो भने अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
यस्तै तातोपानी खासामार्फत पनि मानवीयबाहेक व्यापारिक गतिविधि सुरु भएको छ । चीनसँग जोडिएका नाका द्विपक्षीय सहमतिभन्दा पनि चीनकै एकपक्षीय निर्णयमा खुल्दै–बन्द हुँदै आएका छन् । चीनले के कारणले नाका बन्द गर्छ र किन फेरि खुला गर्छ, आधिकारिक रूपमा भन्न सकिने अवस्था छैन । वास्तवमा व्यापारिक सवालमा चीनले नेपाललाई खासै वास्ता गरेको देखिँदैन । संसारभर ठूलो मात्रामा वस्तु तथा सेवा बेच्ने चीनले नेपालसँगको सानो व्यापारलाई महत्त्व नदिएको देखिन्छ । त्यही कारण नाका सञ्चालनमा चीनले चासो नदिएको हो ।