Logo

बँदेलले मकै बालीमा क्षति पुर्‍याउँदा चिन्तामा कृषक

दाङ– जिल्लामा जंगली बँदेलले मकै बालीमा क्षति पुर्‍याएपछि कृषकहरू चिन्तित भएका छन् । जंगली बँदेलले भर्खर घोंगा लागेको मकै बालीमा क्षति पुर्‍याएपछि स्थानीयले रातभर थाल तथा ढोल बजाएर जागराम बसी बँदेल धपाउने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ तमाखेका सीता भण्डारीलाई बारीका मकै जंगली जनावर बँदेलबाट कसरी जोगाउने भन्ने चिन्ता छ ।

उनको करिब पाँच कट्ठा बारीमा लगाएको मकैबाली बँदेलले सखाप पारिसकेको छ । ‘नौ कट्ठामा मकैखेती छ, बँदेलले पाँच कट्ठा बारीको मकै सखाप पारेको छ,’ उनले भनिन्, ‘यसपालि पनि मकैबाली खान पाइँदैन कि भन्ने चिन्ता छ ।’ उनीजस्तै ढुण्डीराज पराजुलीको बारीमा पनि बँदेल आतंक छ । बँदेलले बारीमा मकै सखाप पार्न थालेपछि मकैको सुरक्षाका लागि रातभर बारीमा थाल ठटाउँदै बस्ने गरेका छन् ।

‘बँदेलले मकै सक्न थालेपछि बारीमा रातभर जाग्राम बस्ने गरेका छौँ,’ उनले भने, ‘बारीमै जाग्राम बसे पनि लगभग सबै मकै बँदेलले सकिसकेको छ ।’ तमाखे र आसपासका बस्तीमा करिब २५० बिघा जग्गामा लगाएको मकैबालीमा बँदेलको आतंक छ । बँदेलले खान तयारी हुन लागेको मकै सखाप बनाएपछि किसान चिन्तित छन् । स्थानीय सरकारले आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेदेखि बालीको सुरक्षाका लागि वन तारबार गर्नुपर्ने किसानको माग छ ।

तमाखेकै श्रीराम टोलका किसान इन्द्रमणि पोखरेलले पाक्नै थालेको मकै बँदेलले खाइदिएपछि आफ्ना बालबच्चा कसरी पाल्ने भन्ने चिन्तामा छन् । पोखरेलको करिब नौ कट्ठा जग्गामा लगाएको मकै दुई दिनमा ठूलो क्षति पुर्‍यायो । उनी पनि रातभरि जाग्राम बसेर मकैको सुरक्षा गर्न नसकिने बताउँछन् । समस्या समाधानका लागि स्थानीय सरकारले जिल्ला वन कार्यालयसँग समन्वय जतिसक्यो चाँडो गरी दिनुपर्ने पोखरेलको माग छ ।

अर्का किसान पुष्पा वली राति बँदेलको बथान लखेट्न चार पटकसम्म बारीमा पुगिन् तर बिहान उठ्दा ठूलो मात्रामा मकै बँदेलले खाइदिएको देखेपछि निरास भएको बताउँछिन् । ‘राति आएको बँदेलको एक हुलले आठ कट्ठामध्ये आधा बारीको मकै एक रातमै सकेछन्,’ उनले भनिन्, ‘मकै कहिल्यै सिंगो भित्र्याउन पाइँदैन ।’ मकैखेती भएको यो क्षेत्रमा तलसीपुर–७ को श्री गणेश सामुदायिक वन र गैराखाली सामुदायिक वनबाट जंगली जनावरको आतंक छ ।

दुईवटा सामुदायिक वन क्षेत्रबाट आउने वन्यजन्तुले बालीनाली नष्ट गर्ने गरेको किसान वसन्ता पोखरेलले बताइन् । उनकोे करिब नौ कट्ठा बारीमा मकैखेती छ । ‘समयमै समस्या समाधानमा सरकारले चासो नदिए बारीका सबै मकै बँदेलले सखाप पार्न सक्छ,’ उनले भनिन्, ‘चाँडोभन्दा चाँडो समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’ किसान यशोदा पौडेलको पीडा पनि उस्तै छ ।

‘बँदेलले खाएको नल वस्तुभाउले पनि खाँदैनन्, हामीले खान घोंगा हुँदैन,’ उनले भनिन् ‘आफूलाई खाना र गाईभैंसीलाई दाना दुवैबाट वञ्चित भएका छौं ।’ राप्ती शान्ति उद्यान (गणेशपुर पार्क)का अध्यक्ष डिल्लीराज भण्डारीले स्थानीय सरकारसँग समन्वय गरी जिल्ला वन कार्यालयबाट सामुदायिक वन परिसरमा तारवारको व्यवस्थापन गर्न सकेमात्रै पनि किसानका खेतीबाली जोगाउन सकिने बताए ।

तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसीले आफू यस विषयमा गम्भीर रहेको बताए । ‘आफ्ना वडाबासी पीडित हुनु भनेको वडा परिवार आफै पीडित हुनु हो,’ उनले भने, ‘हामी यस विषयमा गम्भीर छौँ, वडाबासीको समस्या भनेको वडाकै समस्या हो ।’ उनले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि आफूले सम्बन्धित निकायसँग पहल गरिरहेको बताए । उनले वन्यजन्तुले बालीमा क्षति पुर्‍याएका किसानलाई राहत वितरण गरिने बताए ।

‘वन्यजन्तुबाट पीडित परिवारलाई यथाशक्य चाँडो वडामा सम्पर्क गर्न अनुरोध गर्दछु,’ उनले भने, ‘ती पीडितका लागि निरन्तर आवाज उठाइरहेको छु । बरू पीडित परिवारलाई क्षतिको विवरण लिएर मलाई भेट्दा क्षतिपूर्तिका लागि पहल गर्न सजिलो हुनेछ ।’ तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले वन्यजन्तुले बालीनाली सखाप गर्दा नागरिक पीडित भएको सञ्चार माध्यमबाट सुने पनि उपमहानगरसम्म कुनै गुनासो नआएको बताए । उनले पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन प्रयत्न गर्ने बताए ।

उनले आगामी बस्ने कार्यपालिका बैठकमा यस विषयमा कुरा उठाउने उल्लेख गरे । ‘मैले केही कुरा त सुनेको छु । तर ७ नम्बर वडाबासीबाट त्यस्तो कुनै गुनासो उपमहानगरसम्म आएको छैन,’ उनले भने, ‘गुनासो आएन भन्दैमा हामी चुप लागेर बस्दैनौ, आगामी कार्यपालिका बैठकमा यो विषय उठाएर समाधानको प्रयास हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्