विदेश जाने महिलालाई सुरक्षित बनाऊ

मुलुकमा रोजगारी नपाएर विदेश जाने युवाको संख्या प्रत्येक वर्ष बढ्दै गएकोमा महिला पनि थपिएका छन् । पछिल्लो पाँच वर्षको तथ्यांक मात्र हेर्ने हो भने कामका लागि विदेश जाने महिलाको संख्या दोब्बरभन्दा धेरै भएको छ । पाँच वर्षअघि विदेश जाने महिलाको संख्या विदेश जाने कुल संख्याको ५ प्रतिशत रहेकोमा अहिले ९.२ प्रतिशत पुगेको छ ।
तथ्यांकमा हेर्दा आव ०७५/७६ मा ३२ हजार १ सय २३ जना महिला विदेश गएका थिए । त्यसको पाँच वर्षपछि आव ०७९/८० मा यो संख्या ७२ हजार १ सय ३४ पुगेको छ । यो सबै श्रमस्वीकृति लिएर गएका महिलाको तथ्यांक हो । श्रमस्वीकृति नलिई विभिन्न माध्यमबाट विदेश जानेको संख्या पनि उल्लेख्य छ । विगतमा वैदेशिक रोजगारीमा गएका अधिकांश महिला घरेलु हिंसामा परेका घटना सार्वजनिक भएपछि सरकारले घरेलु श्रमिकका रूपमा श्रमस्वीकृति रोक्का गरेको थियो । अहिले त्यो खुलाइएको अवस्था छ ।
नेपालले औपचारिक रूपमा १ सय ११ वटा देशमा वैदेशिक रोजगारी खुला गरेको छ । अधिकांश महिला आप्रवासी कामदार केयरटेकर, नर्स र घरेलु कामदारका रूपमा युएई, कतार, इजरायल, मलेसिया, साउदी अरेबिया, कुवेत, साइप्रस, जोर्डनआदि मुलुकमा जाने गरेका छन् । पछिल्ला दिनमा सरकारी तवरबाट कोरिया तथा इजरायल जान श्रमस्वीकृति लिने महिलाको संख्या पनि बढेको छ । त्यसमा पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, युएई र कुवेत संस्थागत वैदेशिक रोजगारीका मुख्य गन्तव्य देखिएका छन् ।
यसमध्ये युएई र कतारले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् । तर, संस्थागतबाट वैदेशिक रोजगारीमा जानेमा महिलाको अनुपात ३ प्रतिशतभन्दा कम छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने कुल संख्या हेर्दा अधिकांश तराईका जिल्ला र त्यसमा पनि मधेस प्रदेशको बाहुल्य छ । तर, महिला श्रम आप्रवासनको प्रकृति फरक छ । वैदेशिक रोजगारीमा जाने महिलाको कुल संख्यालाई हेर्दा मिश्रित समुदायमा बसेका तराईका जिल्ला र बागमती प्रदेशका पहाडी जिल्लाको बाहुल्य छ ।
प्रत्येक वर्ष विदेश जाने महिलाको संख्या बढ्दा उनीहरूको सुरक्षामाथि पनि चुनौती थपिएको छ । सरकारले यसमा चनाखो भएर काम गर्नुपर्ने आवश्यकता छ ।
जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडाैंका महिला गएका छन् । सरकारी तथ्यांकले ४ लाख ६ हजार १ सय ६३ महिला विदेशमा रहेको बताउँछ । पछिल्ला दुई दशकयता वैदेशिक रोजगारी नेपालीका लागि रहर नभएर बाध्यता बनेको छ । यो अवधिमा आमजनताको सहभागितामा राजतन्त्र फालेर मुलुकमा गणतन्त्र स्थापना भए पनि जनताका लागि वास्तविक गणतन्त्र आएको छैन । देशमा क्रमिक रूपमा विकास र सुधार नभएको होइन, तर जुन रफ्तारमा हुनुपर्ने हो त्यो भएको छैन ।
समयको गतिभन्दा पनि धीमा विकासले आमजनताका आकांक्षा पूरा हुन सकेका छैनन् । मुलुकभित्र एकाध महिलालाई मात्र रोजगारीका अवसर छन्, त्यो पनि न्यून पारिश्रमिकमा । अहिले उद्योग प्रतिष्ठानहरूले महिनाको १५ हजार हाराहारीमा मजदुरलाई तलब सुविधा उपलब्ध गराउँदै आएका छन् । महिनाको १५ हजारले घर खर्च पनि चलाउन पुग्दैन भने महँगो स्वास्थ्य र शिक्षाका लागि कहाँबाट पैसा जुटाउने ? यस्तै कारण परिवारको गर्जो टार्न र आफ्नो सुनौलो भविष्यको खोजीमा युवा बाहिर गइरहेको छ ।
प्रतिदिन औसतमा २ हजारभन्दा माथिको संख्यामा नेपाली जनशक्ति कामका लागि विदेश पुग्ने गरेका छन् । गत आर्थिक वर्ष श्रमस्वीकृति लिएर विदेश जानेको संख्या साढे ७ लाखको हाराहारीमा थियो । यस्तै एनओसी लिएर विदेश पढ्न जाने विद्यार्थी १ लाख हाराहारी छन् । यो संख्या पनि अर्को वर्ष रोजगारीमै जोडिन पुग्छ । श्रम स्वीकृति नलिई अवैध रूपमा विदेशमा काम गर्न जानेको संख्या पनि धेरै छ । यो सबै सरकारको नालायकीपनका कारण भएको हो ।
सरकारले प्रत्येक वर्षको बजेटमा लाखौंको संख्यामा रोजगारी सिर्जना हुने बताउने गर्छ । तर, त्यसको २० प्रतिशत पनि रोजगारीका अवसर सिर्जना हुने गरेको छैन । सरकारबाहेक निजी क्षेत्रले ठूलो संख्यालाई रोजगारी प्रदान गर्न सकेको छैन । अर्कातिर वैदेशिक रोजगारीमा विदेश गएकाहरू पनि समस्यारहित छैनन् । पहिलो त उनीहरू स्वदेशमा नै ठगिएर विदेश पुग्न बाध्य छन् । यहाँका मेनपावर व्यवसायी र तिनका देशभर छरिएर रहेका दलालहरूले विदेश जानेहरूलाई पाइला–पाइलामा ठग्ने गरेका छन् ।
यसो भन्दैमा सबै मेनपावर व्यवसायी नराम्रा र ठगी धन्दामा मात्र छन् भन्नु गलत हुनेछ । अधिकांश व्यवसायीले पेसागत मर्यादामा रहेर युवालाई विदेश पठाएका छन् । तर, केही व्यवसायीको ठगी धन्दा मौलाउँदो छ । दोस्रो, विदेश पुगेर पनि स्थानीय कम्पनीहरूले नेपाली युवालाई दु:ख दिने गरेका छन् । श्रम स्वीकृति लिँदा भनिएअनुसारको काम नदिने, समयमा तलब नदिने, असजिलो र अप्ठ्यारो काम लगाउने, यातना दिनेलगायतका दुव्र्यवहार भोग्य बाध्य बनेका छन् ।
विदेशमा नेपाली कामदारले भोगिरहेको समस्याका सवालमा महिला कामदारमाथि हुने शोषण झनै डरलाग्दो छ । खासगरी घरेलु कामदारका रूपमा काम गर्ने कतिपय महिला यौनशोषणमा पर्दै आएका छन् । यो सन्दर्भमा, प्रत्येक वर्ष विदेश जाने महिलाको संख्या बढ्दा उनीहरूको सुरक्षामाथि पनि चुनौती थपिएको छ । सरकारले यसमा चनाखो भएर काम गर्नुपर्ने आवश्यकता छ । खासगरी नेपाली जाने श्रम गन्तव्यहरूमा रहेका सरकारका प्रतिनिधिमूलक संस्थाले महिला सुरक्षाका लागि थप क्रियाशील हुनु जरुरी बनेको छ ।