टिमुर उत्पादनमा आधाले कमी «

टिमुर उत्पादनमा आधाले कमी

जिल्लामा टिम्मुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा टिमुरको उत्पादनमा दोब्बरले कमी आएको हो । आव २०७८/०७९ मा जिल्लाबाट दुई लाख ४१ हजार ७४२ केजी निर्यात भएको थियो तर आव २०७९/०८० मा ८५ हजार ९०६ केजीमात्रै टिमुर निर्यात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले बताए । चौधरीका अनुसार गत वर्ष करिब एक लाख ५५ हजार ८३६ केजी टिमुर कम निर्यात भएको छ ।

सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८/०७९ मा राष्ट्रिय वनमा २९ हजार ५५० केजी र निजी वनबाट दुई लाख १२ हजार १९२ केजी टिमुर जिल्ला बाहिर निर्यात भएको थियो । त्यसबाट तीन लाख २० हजार राजस्व संकलन भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । २०७९/०८० मा राष्ट्रिय वनबाट १३ हजार केजी र निजी वनबाट ७२ हजार ९०६ केजी निर्यात हुँदा एक लाख ४५ हजार रुपैयाँमात्रै राजस्व संकलन भएको छ । गत वर्ष जिल्लामा टिमुर कम उत्पादन हुँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताए ।

‘जिल्लाबाट निकासी भएको भएको टिमुरको परिमाणलाई हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब दोब्बर कम बिक्री भएको छ,’ सहायक वन अधिकृत चौधरीले भने, ‘यसको मुख्य कारण भनेको उत्पादनमा कमी नै हो ।’ टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बंगलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाका पहाडी क्षेत्रमा टिमुरखेती हुने गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिम्मुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिम्मरको राजस्व लिने नगरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सहायक वन अधिकृत चौधरीका अनुसार २०७९/०८० मा तीन लाख ६१ हजार ८२६ केजी विभिन्न प्रजातिको जडिबुटी निर्यात भएको छ । जसअन्तर्गत पाँच हजार सात सय केजी र निजीवनबाट दुई लाख ७६ हजार १२६ केजी जडिबुटी निर्यात हुँदा पाँच लाख ६१ हजार पाँच सय राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा चार लाख तीन हजार ९५२ केजी जडिबुटी निर्यात हुँदा ६ लाख ३८ हजार राजस्व संकलन भएको थियो ।

डिभिजन वन कार्यालय घोराहीका अनुसार २०७८/०७९ मा राष्ट्रिय वनबाट ११ हजार केजी र निजी वनबाट ३२ हजार १० केजी गरेर ४३ हजार १० केजी निर्यात भएकोमा २०७८/०७९ मा राष्ट्रिय वनबाट तीन हजार र निजी वनबाट २८ हजार चार सय गरेर ३१ हजार चार सय केजी रिठा निर्यात भएको छ । डिभिजन वन कार्यालयका अनुसारका आर्थिक वर्ष २०७८/०७९ मा ४४ हजार एक सय केजी तेजपात निर्यात भएको छ भने गत आर्थिक वर्षमा २५ हजार एक सय निर्यात भएको थियो । जसबाट १९ हजार राजस्व संकलन भएको छ । अमलाको निर्यात भने बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार केजी निर्यात भएकोमा आव २०७९/०८० मा १० हजार केजी भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय वनबाट एक हजार पाँच सय केजी, लहरे गुर्जाे दुई हजार पाँच सय केजी, ब्राहमी एक हजार, चुत्रोको बोक्रा दुई हजार केजी भएको छ भने २०७९/०८० मा बर्रो पाँच सय केजी, लहरे गुर्जाे दुई हजार केजी, धाइरोको फुल, बेलचना, पुदिना र भृङराज ५/५ सय केजी, दुधेलहरा १५ सय केजी, ब्राहमी एक हजार केजी, चुत्रोको बोक्राका सात हजार सात सय केजी, दालचिनी तीन हजार केजी, टटेलोको बोक्रा चार हजार केजी, कालिकाठको दाना १४ हजार केजी बिक्री भएको छ ।

निजी वनबाट आर्थिक वर्ष २०७८/०७९ मा २७ हजार चार सय केजी, काउलो बोक्रा २९ हजार, मालागेडी ५५ हजार दुई सय केजी, तिगेडी, चुत्रो र कालिकाठ एक हजार निर्यात भएको छ । त्यसैगरी पाषणवेद एक हजार ६ सय, फलखोटो दुई हजार, अमलावेद ६५० केजी भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा दालचिनीको बोक्रा सात हजार १४५ केजी, मालागेडी १३ हजार पाँच सय, काउलो बोक्रा ४३ हजार ९९५ केजी निर्यात भएको थियो । अमला फल एक हजार केजी, तिगेडी पाँच हजार र कालिकाठ ८० हजार ८० केजी निर्यात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्