Logo

कानुनविपरीत राखिएका विज्ञापन बोर्ड हटाउन निर्देशन

डिभिजन वन कार्यालय गोरखाले मनकामनास्थित एक सामुदायिक वनमा कानसनविपरीत राखिएका विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ । वन ऐन र नियमावलीमा भएको व्यवस्थाविपरीत सहिद लखन गाउँपालिका–३ को शिखर सामुदायिक वन क्षेत्रमा राखिएको व्यावसायिक उत्पादनको होर्डिङ बोर्ड ३५ दिनभित्र हटाउन कार्यालयले निर्देशन दिएको हो ।

अहिले वन क्षेत्रभित्र सिटिजन बैंक, फोन पे र होङ्शी सिमेन्टका विज्ञापन बोर्ड छन् । वन समूहसँग सम्झौता गरी विज्ञापन एजेन्सीमार्फत् र कम्पनीले सिधै यस्ता बोर्ड राखेका हुन् । सामुदायिक वनसँगको सम्झौतामा मनकामना केवलकारको चेरेसस्थित तल्लो स्टेसनको पारि गोरखातर्फको झण्डै एक रोपनी वन क्षेत्रमा विभिन्न व्यावसायिक उत्पादनको होर्डिङ बोर्ड राखिएको सहायक वन अधिकृत महेश पौडेलले बताए ।

‘कार्यालयबाट वन क्षेत्र अतिक्रमण गरी यस्ता बोर्ड नराख्न पटकपटक पत्राचार गरे पनि वन समूहले अटेरी गर्दै आएको छ,’ उनले भने, ‘बोर्ड राख्ने काम ऐनविपरीत भएकाले अहिले पनि ३५ दिनभित्र हटाउनका लागि पत्राचार गरेका छौं ।’ गत साउन ११ गते मनकामनामा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, डिभिजन वन प्रमुखसहितको सर्वपक्षीय बैठकले बोर्ड हटाउनका लागि ३५ दिनको समय दिने निर्णय गरेको थियो । सोही निर्णयको प्रतिलिपि सहितको पत्र सामुदायिक वन समूह र विज्ञापनदातालाई पनि पठाइएको पौडेलले बताए ।

वन ऐन २०७६ को दफा ४९ को उपदफा (ग)मा राष्ट्रिय वन फाँड्ने वा वन क्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिजकार्य उत्खनन् गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने, घर वा छाप्रो बनाउने, ब्यवसाय सञ्चालन गर्ने वा अतिक्रमण गर्ने काम गरे गराएमा कसुर गरेको मानिने उल्लेख छ । यस्तै वननियमावली २०७९ को नियम ५४ मा नेपाल सरकारको स्वीकृति नलिई सामुदायिक वनको जग्गा कसैलाई प्रयोग गर्न दिन नहुने व्यवस्था छ ।

सोही नियमावलीमा ‘सामुदायिक वन उपभोक्ता समूहले आफूलाई हस्तान्तरण गरेको सामुदायिक वनमा कुनै पनि किसिमको अतिक्रमण हुन नदिने व्यवस्था मिलाउनु पर्नेछ र कुनै अतिक्रमण भएमा डिभिजन वन कार्यालयको समन्वयमा हटाउनुपर्ने भनिएको छ । ऐन कानुनमा भएका यी व्यवस्थाअनुसार त्यस्ता संरचना हटाउन पत्राचार गरेपछि २०७८ सालमा केही बोर्ड हटाइए पनि वन समूहले फेरि बोर्ड राख्न दिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्