Logo

२४ प्रतिशत घट्यो जीवन बीमा व्यवसाय

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कबापतको रकम गत आर्थिक वर्ष २४ प्रतिशतले घटेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले गत आवको असारसम्ममा ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो २४ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूले यस्तो शुल्क ४१ अर्ब ४४ करोड आर्जन गरेका थिए । असारसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सबैभन्दा कम प्रतिशतले नयाँ व्यवसाय घटेको छ । गत आवमा यो कम्पनीले ९५ करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्कबापत आर्जन गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले ९६ करोड ३९ लाख आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा यो कम्पनीको १ प्रतिशत हाराहारीमा मात्रै प्रथम बीमा व्यवसाय घटेको छ । गत आवमा सन नेपाल लाइफले १ अर्ब ७८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा यो कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । यस्तै आइएमई लाइफ इन्स्यनेरेन्सले १ अर्ब ३४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा नेपाल लाइफको ६ अर्ब ५६ करोड रुपैयाँ आर्जन भएको छ ।

यस्तै मेट लाइफको १ अर्ब २४ करोड, नेशनल लाइफको ३ अर्ब ८७ करोड, सानिमा रिलायन्स लाइफको १ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन भएको छ । गत आवमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क कमाउँदा एशियन लाइफले १ अर्ब ५४ करोड, सूर्यज्योति लाइफले २ अर्ब ३८ करोड, सिटिजन लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ५० करोड, हिमालयन लाइफले २ अर्ब २८ करोड र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीमध्ये गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसायमा ४९.९० प्रतिशतले सर्वाधिक गिरावट आएको छ । त्यस्तै हिमालयन लाइफको प्रथम बीमाशुल्क गत आवको तुलनामा ४८ प्रतिशत, रिलायबल नेपाल लाइफको ३७ प्रतिशत, सिटिजन्स लाइफको ३१ प्रतिशत र अन्य कम्पनीको ३० प्रतिशतभन्दा कम प्रतिशतले घटेको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण गत आवमा बीमा व्यवसाय प्रभावित भएको सरोकारवालाहरू बताउँछन् ।

क्रयशक्ति कम हुँदा बीमाप्रति आकर्षण कम हुन पुगेको कम्पनीहरूको समेत बुझाइ छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले पछिल्लो समय जनतामा क्रयशक्ति कमजोर हुँदा बीमा व्यवसायमा पनि असर परेको सुनाए । उनले भने, ‘अहिलेको अवस्थामा जनतामा क्रयशक्ति निकै कमजोर छ । यस्तो अवस्थामा बीमा गर्न आउनेहरू कम भएका हुन् ।’ गत आवको चौथो त्रैमाससम्ममा करिब २७ प्रतिशतले बीमा पोलिसी परित्याग भएको उनले जानकारी दिए ।

उनले भने, ‘अर्थतन्त्रमा आएको सुस्तताका कारण खर्च टार्न पनि धौधौ भएको अवस्था आयो । यसकारण पोलिसी त्याग्नेहरू करिब २७ प्रतिशतले बढेका छन् ।’ निश्चित अवधिका लागि खरिद गरिएको पोलिसी विभिन्न कारणले बीचमै रोकिएमा त्यसलाई बीमा पोलिसी त्याग (सरेण्डर) गरिएको मानिन्छ । प्राधिकरणको निर्देशिकाअनुसार बिमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् । यो व्यवस्था हुनुअघि बिमितले बीमालेख खरिद गरेको एक वर्षपछि सरेण्डर गर्न पाउँथे ।

प्राधिकरणले बीमा पोलिसी समर्पण मूल्यसमेत निर्धारण गरी तीन वर्षपछि समर्पण गर्न पाउने व्यवस्था गरेको छ । यसअनुसार बिमितलाई बीमा पोलिसी समर्पण गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्नेछ । साथै सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोडिने व्यवस्था प्राधिकरणले गरेको छ । अहिले बीमा पोलिसी सरेण्डर गर्नेहरूमा यो व्यवस्था लागु हुनुअघिका बढी भएको प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बताए ।

अर्थतन्त्रमा सुस्तता आउँदा सरेण्डर हुने क्रम बढेको उनको भनाइ छ । यसबाहेक अभिकर्ताहरूले एकातिर सरेण्डर गराएर अर्काेतिर बीमा गराउने प्रवृत्ति भएकाले पनि यस्तो संख्या बढेको छ । यसले गर्दा पनि बीमा कम्पनीहरूको व्यवसायमा उतारचढाव हुने गरेको हो । कार्यकारी निर्देशक पौडेलले तीन वर्षे व्यवस्थाले त्यस्तो प्रवृत्तिलाई केही रोके पनि पूर्ण रुपमा रोक्न नसक्दा तथ्यांक बढेको बताए । उनले सरेण्डरलाई पूर्ण रुपमा रोक्न नसकिने समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्