बागमतीले २४ करोड खर्चिएर बनायो नौ भ्यूटावर

बागमती प्रदेश सरकारले चार वर्षको अवधिमा प्रदेशका विभिन्न स्थानमा नौवटा भ्यूटावर निर्माण गरेको छ । आव २०७५–७६ देखि २०७९–८० सम्ममा विभिन्न जिल्लामा गरी भ्यूटावर निर्माण गर्न करिब २४ करोड रुपैयाँ खर्च गरेको हो ।
प्रदेशको पर्यटन मन्त्रालयका अनुसार मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङ र दोलाखामा भ्यूटावर निर्माण सम्पन्न भएका छन् । ती भ्यूटावरको कुल लगानी २३ करोड ८७ लाख रुपैयाँ रहेको मन्त्रालयका सूचना अधिकारी अमृतकुमार श्रेष्ठले जानकारी दिए । मन्त्रालयले भ्यूटावर निर्माणका लागि २०७६ सालमा सम्झौता गरेकोमा २०७९ सालसम्ममा सबै भ्यूटावर निर्माण सम्पन्न गरेको हो ।
दुई करोड ९९ लाख रुपैयाँ लागतमा मकवानपुर जिल्लाको चित्लाङ हिलस्टेसन निर्माण गरिएको छ । पर्यटन विकास आयोजना हेटौंडामार्फत् २०७६ मंसिरमा सम्झौता भई २०७७ चैत अन्तिममा निर्माण कार्य सम्पन्न भएको हो । त्यस्तै, नुवाकोटमा तीन करोड ३२ लाख रुपैयाँ खर्चिएर ककनी हिलस्टेसन निर्माण गरिएको छ । २०७६ मंसिरमा सम्झौता भई २०७७ चैत अन्तिममा उक्त हिलस्टेसन निर्माण सम्पन्न भएको थियो ।
सिन्धुपाल्चोकमा तीन करोड पाँच लाख रुपैयाँमा भ्यूटावर निर्माण भएको थियो । उक्त भ्यूटावर पनि २०७७ पुसमा सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले बताए । काभ्रेको रोसी भूमिचुलीमा दुई करोड १९ लाख रुपैयाँमा २०७८ चैत अन्तिममा भ्यूटावर तयार गरिएको छ । रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवीमा पनि भ्यूटावर निर्माण गर्न प्रदेश सरकारले दुई करोड ६५ लाख ८६ हजार लगानी गरेको छ ।
२०७८ माघ महिनामै उक्त टावर निर्माणको काम सकिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, सिन्धुलीको ऐतिहासिक सिद्धबाबा चुचुरोमा दुई करोड सात लाख लागतमा भ्यूटावर निर्माण गरिएको छ भने नुवाकोटको चिम्टेश्वरमा पनि दुई करोड ७४ लाखमा भ्यूटावर निर्माण भएको छ । त्यसैगरी धादिङको तोप्लाङमा दुई करोड १८ लाख रुपैयाँ लागतमा भ्यूटावर निर्माण सम्पन्न भएको छ । दोलखा जिल्लाको जिरी हिलस्टेसन २०७९ फागुन अन्तिममा निर्माण सम्पन्न भएको छ, जसको लगानी दुई करोड ६४ लाख रुपैयाँ छ ।
भ्यूटावर निर्माण सम्पन्न भए पनि सञ्चालन कार्यविधि भने निर्माण भएको छैन । बागमती प्रदेश सरकार तथा निजी क्षेत्रको लगानीमा निर्माण भएका पर्यटकीय पूर्वाधारको प्रभावकारी सञ्चालन, दिगो व्यवस्थापन एवं समुचित उपयोगका लागि पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ को मस्यौदा तयार गरिएको छ । मस्यौदा सहमतिका लागि गत साउन ९ गते अर्थ मन्त्रालयमा पठाइएको छ ।
कार्यविधिको मस्यौदामा निर्माण सम्पन्न भइसकेका भ्यूटावर स्थानीय तहलाई हस्तान्तरण गरिने उल्लेख छ । स्थानीय तहले व्यवस्थापन गर्न नसके निजी क्षेत्रलाई र वन क्षेत्रमा बनेका भ्यूटावर सम्बन्धित सामुदायिक वनलाई व्यवस्थापनको जिम्मा दिने तयारी भएको पर्यटन विकास आयोजना हेटौंडा प्रमुख रोशनकुमार श्रीवास्तवले बताए ।