बैंकिङ कसुरका मुद्दा बढे

झापामा पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढेका छन् । बैंकिङ कारोबार बढेसँगै चेक बाउन्स, ठगीलगायतका बैंकिङ कसुरका मुद्दा बढेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको हो ।
आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा ६० प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आर्थिक वर्ष ०७९/८० मा आर्थिक अपराध सम्बन्धी २९४ वटा मुद्दा दर्ता भएकोमा ती मध्ये २४३ वटा बैंकिङ कसुरका मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिजाल बताउँछन् ।
त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा आर्थिक अपराध सम्बन्धीका १७० मुद्दा दर्ता भएकोमा कुल दर्ता भएका मुद्दा मध्ये १४६ वटा मुद्दा बैंकिङ कसुरका रहेको उपरीक्षक रिजालले बताए । बैंकिङ कसुरका सवै मुद्दा चेक बाउन्ससँग सम्बन्धित रहेको बताउँदै उनले बैंकिङ कसुरका मुद्दाको चाप दोब्बरभन्दा धेरै भएको जानकारी दिए ।
आर्थिक मन्दीले चेक बाउन्सका घटनासँगै बैंकिङ कसुरका मुद्दा बढेको र बैंकिङ कसुरका मुद्घामध्ये शतप्रतिशत चेक बाउन्स सम्बन्धी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए । चेक बाउन्सका मुद्घा बढ्दै जाने हो भने चालु आर्थिक वर्ष ०८०/०८१ मा ५ सयभन्दा बढी मुद्दा पुग्न सक्ने उनको भनाइ छ ।
वैदेशिक रोजगारीमा ठगीसँगै चेक बाउन्सका मुद्दा बढेको बताउँदै उनले विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पर्ने गरेको बताए । कतिपयलाई चेक बाउन्ससम्बन्धी मुद्घामा हुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा वास्तविकभन्दा धेरै रकम भरेर प्रहरीमा पुग्ने गरेको उनले बताए ।
यस्ता मुद्दा आर्थिक अपराधसँग जोडिने गरेको बताउँदै उनले सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा प्रहरीकहाँ आउने गरेको बताए । फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभइ दिएका चेक बाउन्ससम्बन्धी घटना समेत प्रहरीकहाँ आउने गरेको उनको भनाइ छ ।
विगतमा चेक बाउन्सका घटनामा सर्वसाधारण चेक अनादार मुद्दा लिएर अदालत जाने गरेपनि अदालती शुल्क तथा कानून व्यवसायीमा खर्च हुने भएकाले अहिले सिधै प्रहरीकहाँ आउने गरेका छन् । आरोपीलाई थुनामा राखेर पैसा तिराउने प्रवृत्तिले केही वर्षयता बैंक तथा वित्तीय क्षेत्रमा बैंकिङ कसुरका घटना बढ्दो रहेको उनको भनाइ छ ।
यसैबीच आर्थिक वर्ष ०७८/७९ मा ठगीका २४ र चेक बाउन्सका १४६ मुद्दा फस्र्यौट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रिजाल बताउँछन् । गत आर्थिक वर्ष वर्ष ०७९/०८० मा आर्थिक अपराध सम्बन्धिका २९४ मुद्दा मध्ये ठगीका १८ र बैंकिङ कसुरका चेक बाउन्स सम्बन्धी ९३ वटामात्र फस्र्यौट भएको उनले बताए ।