Logo

खराब कर्जाको संकेत

मुलुकमा सञ्चालित वाणिज्य बैंकहरूको खराब कर्जा एकै वर्षमा दोब्बरले बढ्नु वित्तीय क्षेत्रका लागि राम्रो संकेत होइन । गत वर्ष अर्थतन्त्रमा सुस्तता देखिए पनि अहिलेसम्म बैंकिङ क्षेत्रमा कुनै समस्या देखिएको थिएन । बैंकहरूले गत वर्ष ७० अर्बभन्दा धेरै कमाएका छन् । तर, वर्षको अन्त्यमा आउँदा खराब कर्जा बढेर ३ प्रतिशत नजिक पुग्नु पक्कै राम्रो संकेत होइन । २०७९ असारमा १.२० प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा यो असारमा आउँदा दोब्बरभन्दा बढीले बढेर २.७ प्रतिशत पुगेको छ । बैंकहरूले प्रकाशन गरेको गत आवको वित्तीय विवरण हेर्दा चौथो त्रैमासमा साँवाब्याज असुलीमा सुधार आएको देखाइएको छ ।

तर, यो पूर्ण वास्तविकता भने होइन । वर्षको अन्तिम समयमा केही न केही रकम तिर्न बाध्य भएका कतिपय ठूला–साना व्यवसायीले बैंकहरूबाट ऋण लिएर कर्जाको साँवाब्याज भुक्तानी गर्छन् । यसलाई वास्तविक रूपमा कर्जा तिरेको अर्थमा लिनु हुँदैन । तत्कालको समस्या समाधान गरेको मात्र मान्नुपर्छ । गत चैतमा ३.२३ प्रतिशत पुगेको खराब कर्जा तीन महिनामा सुधार आएर २.७ प्रतिशतमा झर्न मुलुकभित्र अर्थतन्त्रमा चमत्कारिक गतिविधि हुनुपथ्र्यो । तर, यस्तो भएको देखिँदैन ।

यसअघि राष्ट्र बैंकका अधिकारीहरूले गत आवमा खराब कर्जा ५ प्रतिशत पुग्न सक्ने भन्दै त्यसका लागि तयार रहन बैंकलाई सुझाएका थिए । यस्तो अवस्था आउने डरले बैंकहरू कर्जा प्रवाहमा कडाइ गरेर असुलीमा केन्द्रित भएका थिए । यसले पनि पछिल्लो त्रैमासको अवस्थामा केही सुधार आएको मानिन्छ । राष्ट्र बैंकले असारमा कर्जालाई ‘रिस्ट्रक्चर’ गर्न सक्ने सुविधा दिएको थियो । ठूला व्यापारीहरूले कर्जालाई रिस्ट्रक्चर गर्दा पनि खराब कर्जा केही घटेको देखिएको छ । तर, बैंकको खराब कर्जा केही घटे पनि कर्जा लिनेहरूलाई आगामी दिनमा झनै बोझ थपिएको छ ।

बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि त्यसको प्रयोग भएन भने कुनै अर्थ रहँदैन । न त अर्थतन्त्रको विस्तारमा त्यसले कुनै योगदान पुर्‍याउँछ ।

अर्थतन्त्रमा समस्या आएका कारण बैंकिङ क्षेत्रमा पनि त्यसको छाया देखिएको हो । विगतमा निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन कर्जाको ब्याजदर घटाउन माग गरेको थियो । चर्को ब्याजको विरुद्धमा निजी क्षेत्र पहिलो पटक सडकमा समेत उत्रिएको हो । खासगरी ब्याजदरलाई दोष देखाएर गत वर्षभरि नै निजी क्षेत्र खुम्चिएर बसेको थियो । अहिले बैंकिङ प्रणालीमा समस्या देखिनुको पछाडि निजी क्षेत्र खुम्चिनु पहिलो कारण हो । मुलुकको अर्थतन्त्र चलायमान हुन सकेको भए बैंकहरूलाई कर्जा असुलीमा समस्या आउने थिएन ।

न त एकै वर्षमा खराब कर्जा दोब्बर पुग्ने नै थियो । खासमा खराब कर्जा दोब्बर बन्नुमा केही दोष बैंकहरूको पनि छ । अर्कातिर कोभिडका नाममा सरकारले दिएको सुविधा दुरुपयोग गर्दै चालू पुँजी कर्जामा देखिएको बेथितिले पनि अहिले समस्या ल्याएको हुन सक्छ । चालू पुँजीका नाममा लिएको ऋणमध्ये अधिकांश घरजग्गा र सेयरमा लगानी भएको शंका गरिएको छ । अहिले घरजग्गा कारोबार शून्यजस्तै छ । जग्गाको मूल्य बढ्नुभन्दा उल्टो घट्दो क्रममा छ । मूल्य कम गरेर बेच्छु भन्दा पनि बिक्री हुने अवस्था छैन । यस्तै सेयर बजार पनि उकालो लाग्न सकेको छैन । ३२ सयमाथि पुगेको परिसूचक अहिले २१ सय वरपरमा घुमिरहेको छ ।

घरजग्गाजस्तो होइन, मूल्य घटाएर बेच्न खोजे सेयर भने बिक्री हुन सक्छ । यसैले बैंकको खराब कर्जा बढ्नुको पछाडि केही दोष दुरुपयोग भएको चालू पुँजी कर्जाको पनि छ । खराब कर्जा बढ्नुको अर्को ठूलो कारण गत वर्ष अर्थतन्त्रमा आएको सुस्तता नै हो । गत वर्षभर आर्थिक गतिविधि सुस्त रहे । उत्पादनदेखि वितरण र उपभोगसम्मको चक्र प्रभावित बन्यो । उद्योगहरू क्षमताको आधा पनि सञ्चालनमा आएनन् । धेरैको रोजगारी गुम्न पुग्यो । बजार पूरै सुनसान बने । राजधानीको न्युरोड, किङ्स वे, पुतलीसडक, बानेश्वारजस्ता स्थानका सटर खाली हुन पुगे ।

गतिविधि नहुँदा कर्जा लिएर सुरु गरेको व्यापार डुब्न पुग्यो । उद्योगी व्यापारीले पनि सामान उत्पादन र बिक्री गर्न नसक्दा लिएको कर्जाको साँवाब्याज तिर्न असमर्थ रहे । यी सबैको परिणाम अहिले बैंकको कर्जा असुलीमा देखिएको छ । आगामी दिनमा पनि अर्थतन्त्रमा अहिलेको समस्या जारी रह्यो भने बैंकिङ क्षेत्रले कर्जाको साँवाब्याज असुली गर्न सक्ने अवस्था आउनेछैन । यस्तोमा आगामी दिन झनै कठिन हुनेछन् । बैंकिङ प्रणालीमा नै समस्या आए त्यसको असर चौतर्फी पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरूको बढी ध्यान कर्जा असुलीमा हुनेछ । यस्तोमा निजी क्षेत्रमा जाने नयाँ कर्जा प्रवाहमा सुस्तता आउनेछ । बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि त्यसको प्रयोग भएन भने कुनै अर्थ रहँदैन । न त अर्थतन्त्रको विस्तारमा त्यसले कुनै योगदान पुर्‍याउँछ । त्यसैले आगामी दिनमा अर्थतन्त्र चलायमान गराएर निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन बैंकिङ क्षेत्रबाट पनि सहयोग हुन जरुरी छ । नभए सुरुमा निजी क्षेत्र र त्यसको लगत्तै बैंकिङ प्रणाली डुब्नेछ । एक आर्थिक वर्षमा खराब कर्जा दोब्बरभन्दा धेरैले बढेर देखाएको संकेत यही हो ।

प्रतिक्रिया दिनुहोस्