Logo

प्रदेशबाट श्रमस्वीकृति लिने ४४ प्रतिशत बढे

वैदेशिक रोजगारीको श्रमस्वीकृति सेवा विकेन्द्रीकरण गरेर दिन थालिएपछि एक वर्षमा ७५ हजार युवा प्रदेशबाटै काम गराएर लाभान्वित भएका छन् ।

श्रमस्वीकृतिको काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि गत आर्थिक वर्षमा ७५ हजार ११८ युवाले पुन: र व्यक्तिगत श्रमस्वीकृति लिएका हुन् । यसमा पुन: श्रमस्वीकृति लिनेको संख्या ६९ हजार ५९५ र व्यक्तिगत श्रमस्वीकृतिको संख्या ५ हजार ५२३ रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७८–०७९ मा यसरी श्रमस्वीकृति लिनेको संख्या ५२ हजार ६७९ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा उपत्यका बाहिरबाट श्रमस्वीकृति सेवा लिनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको छ । सरकारले २०७५ सालदेखि पुन: श्रमस्वीकृति सेवा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट गर्दै आएकोमा गत वर्षदेखि श्रमस्वीकृतिका अन्य सेवा पनि सुरु गरेको थियो ।

विभागका निर्देशक मणिनाथ गोपले वैदेशिक रोजगार विभागबाट हुँदै आएको श्रमस्वीकृति सेवा श्रम विभाग अन्तर्गतका कार्यालयबाट सोझै हुने गरेका कारण यसका लागि युवा काठमाडौं आउनुपर्ने झन्झट हटेको बताए । विभाग मातहतका श्रम कार्यालयको जनशक्ति प्रयोग गरेर दुई वर्षयता श्रमस्वीकृतिको काम हुँदै आएको छ ।

सबै श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत संस्थागत, व्यक्तिगत र पुन: श्रमस्वीकृति सेवा प्रवाह हुने गरी पूर्वाधार तयार भएको विभागले जनाएको छ । हाल वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका अतिरिक्त श्रम तथा रोजगार कार्यालय विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट अनलाइनमार्फत श्रमस्वीकृति सेवा विस्तार गरिएको छ ।

सरकारले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले लिने सेवालाई विकेन्द्रीकरण गर्ने निर्णय गरेर गत वर्ष माघबाट सबै प्रकारका सेवा प्रदेश स्तरबाट सुरु गरेको थियो । नयाँ श्रमस्वीकृतिका लागि मागपत्र, सम्झौतापत्र लगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भएकाले कार्यसम्पादन केही ढिलो भने हुने गरेको छ ।

श्रमस्वीकृति सहित वैदेशिक रोजगारसम्बन्धी सेवा घरपायक विस्तार गरेपछि हजारौं खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट हटेको छ । यसअघि श्रमस्वीकृति सेवा लिन काठमाडाैं आउँदा प्रतिव्यक्ति १० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको थियो । काठमाडौंबाहिर हाल ५१ वटा मेनपावरका शाखा कार्यालयले वैदेशिक रोजगारीका लागि श्रमिक छनोट र भर्नाको काम गरिरहेका छन् भने काठमाडौंमा ८७८ कार्यालय छन् ।

२०७५ सालदेखि धनगढी, सुर्खेत, पोखरा, जनकपुर, बुटवल, पोखरा र विराटनगरबाट पुन: श्रमस्वीकृतिको काममात्र हुँदै आएको थियो । वार्षिक औसत ७ लाख ७० नेपालीले आवेदन दिने श्रमस्वीकृतिको सेवा प्रदेशस्तरमा विस्तार गरेसँगै वैदेशिक रोजगार कार्यालय ताहचलमा भीडभाड कम हुने अनुमान गरिए पनि जानकारी अभावका कारण काठमाडौंबाट लिने सेवाको चापमा पनि कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्