Logo

पर्यटक तान्ने कार्यक्रम ल्याऊ

मुलुकभरमा वार्षिक ३५ लाख विदेशी पर्यटकलाई सेवा दिन सक्ने गरी पूर्वाधार विस्तार हुनु पक्कै सानो विषय होइन । स्तरीयसँगै साना होटलको क्षमता पनि जोड्ने हो भने यो संख्या ४० लाखसम्म पुगेको छ । विगतमा १२ लाखसम्म पर्यटक आएको पृष्ठभूमिमा होटल व्यवसायीले यति ठूलो पूर्वाधार बनाउँदा जोखिम भने बढेको छ । आगामी दिनमा पर्यटक आगमनमा उच्च रूपमा सुधार नभए समस्या निम्तिन सक्नेछ । मुलुकभित्र पर्याप्त मात्रामा लगानी गरेर होटल पूर्वाधार तयार हुँदा सरकार भने बेखबरजस्तै छ ।

मुलुकभरका पर्यटक स्तरीय होटलमा दैनिक १० हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता बनेको छ । सरकारी लक्ष्य यो वर्ष पनि १० लाख पर्यटक ल्याउने छ । ४० लाख पर्यटकलाई पुग्ने पूर्वाधार तयार हुँदा वार्षिक लक्ष्य एक चौथाइ राखिनु आफंैमा लाजमर्दो विषय हो । राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको छ । यो पनि आफैंमा सानो लक्ष्य हो । अहिलेसम्मको तथ्यांक हेर्दा स्थलमार्गबाट आउने भारतीयबाहेक वार्षिक औसत ७ लाख १४ हजार पर्यटक नेपाल आएका छन् । यो वर्ष १० लाख भित्रिने संकेत देखिएको छ ।

कोभिड महामारीका साढे दुई वर्षमा पर्यटक आएनन् । त्यो स्वाभाविकै हो । तर अब पनि पर्यटक आउँदैनन् भनेर लक्ष्य कम गर्नु आफैंलाई धोका दिनु हो । होटल तथा पर्यटन क्षेत्रमा करिब २० खर्ब लगानी पुगेको छ र यो थपिने क्रममा छ । गएको वर्ष मात्र २० अर्बभन्दा बढी लगानीमा करिब एक दर्जन होटल तथा रिसोर्ट सञ्चालनमा आएका छन् । डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ भने तारेस्तरबाहेकका डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ पुगेको छ । तारेस्तरका होटलमा बेड संख्या १६ हजार ३ सय ३५ छ ।

होटल पूर्वाधार निर्माणमा खर्बौं रुपैयाँ लगानी गरेर निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा गरेको छ । अब सरकारले यो क्षेत्रको विकासका लागि थप कार्यक्रम ल्याउनु जरुरी छ ।

तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका बेडको संख्या ३७ हजार ३० पुगेको छ । निजी क्षेत्रले ठूलो जोखिम लिएर होटल पूर्वाधार तयार गर्दा बैंक तथा वित्तीय संस्थाको पनि खर्बौं लगानी परेको छ । बैंक तथा वित्तीय संस्थाको लगानी हुनु भनेको निक्षेप जम्मा गर्ने सर्वसाधारण पनि जोडिनु हो । मुलुकको आर्थिक प्रगतिको सबैभन्दा प्रमुख क्षेत्र नै पर्यटन हो । यो यस कारण कि हामीले औद्योगीकरण गरेर वा ऊर्जा निर्यात गरेर मनग्य आम्दानी गर्न सक्ने अवस्था छैन । हाम्रै छिमेकी मुलुकले हामीले भन्दा धेरै गुणा कममा वस्तु उत्पादन गर्छन् ।

अन्य मुलुक होइन, यिनैसँग हामी प्रतिस्पर्धामा जान सक्दैनौं । यसो भन्दैमा हामीले केही गर्न नसक्ने भन्ने पनि होइन । औद्योगिक उत्पादनबाहेकका वस्तु उत्पादन गरी निर्यात गर्न सक्ने ठाउँ छ । यस्तै ऊर्जामा केही सम्भावना छ तर सम्भावनाभन्दा बढी छिमेकी भारत बाधक छ । भारतले लगानी, उत्पादक कम्पनीलगायतका विषय झिकेर न आफूले हामीले चाहेजति बिजुली खरिद गर्छ, न त बंगलादेशलगायतका अन्य मुलुकमा लैजान बाटो नै दिन्छ । केही मात्रामा खरिद गरे पनि त्यो निकै सस्तोमा हुनेछ । यसैले हाम्रो विकासको आधार नै पर्यटन हो । सरकारले अहिलेसम्म यसलाई बुझ्न सकेको छैन ।

पर्यटक प्रशस्त आए विदेशी मुद्राको आम्दानी त हुन्छ नै, त्यसका अतिरिक्त ठूलो मात्रामा रोजगारीका अवसर सिर्जना हुनेछन् । यस्तै स्थानीय वस्तुले बजार पाउनेछन् । हाम्रोमा लुम्बिनी, काठमाडौं उपत्यकाको संस्कृतिलगायत पर्यटक आकर्षण गर्ने थुप्रै क्षेत्र छन् । यीभन्दा पनि बढी हाम्रा लागि हिमाल हो । विश्वको सबैभन्दा अग्लो सगरमाथालगायतका थुप्रै हिमाललाई हामीले बेच्नै सकेका छैनौं । अहिलेका पर्यटकको मुख्य गन्तव्य भनेकै समुद्र र हिमाल हो । विश्वका अन्य मुलुकहरूले समुद्रलाई बेच्दा हामीले हिमाललाई त्यसै छोडेका छौं ।

हिमालका काखसम्म पुग्ने सजिलो सडक वा अन्य कुनै मार्ग बनाउने र स्तरीय खाना र बसोबासको व्यवस्था गर्न सके मात्र पनि लाखौंको संख्यामा पर्यटक आउनु कुनै ठूलो कुरा हुनेछैन । हिमालका काखमा पुग्न अहिले ज्यानकै जोखिम मोल्नुपर्ने अवस्था छ । केही स्थानमा सडक यातायात पुर्‍याए पनि त्यो भन्नुमात्रको छ । हवाई यातायात झनै भरपर्दो छैन । हिमाली क्षेत्रमा हुने सबै उडान जोखिमले भरिएका छन् । यस्तो अवस्थामा पर्यटक आकर्षित हुने अवस्था रहँदैन । स्वीजरल्यान्डले हिमाली क्षेत्रलाई कसरी बेचिरहेको छ, त्यसैको सिको गरे मात्र पनि अहिले हामीलाई पुग्छ । तर, यसतर्फ सरकारको खासै ध्यान पुगेको देखिँदैन ।

हाम्रा दुवै छिमेकीको अर्थतन्त्र बलियो बन्दै गएको छ । त्यहाँका नागरिकमा घुम्न जाने संस्कृतिको विकास भएको छ र पर्याप्त जनसंख्या छ । यस्तोमा छिमेकी मुलुकलाई लक्ष्य गरेर मात्र पनि सरकारले कार्यक्रम ल्याउन सक्छ । निजी क्षेत्रले पनि छिमेकीलाई छुटलगायतका सुविधा दिन सक्छन् । दुवै छिमेकीबाट वैदेशिक भ्रमणका लागि निस्किने कुल पर्यटकको २ प्रतिशत मात्र नेपाल ल्याउन सके वार्षिक ४० लाख आउने वातावरण बन्न सक्छ । होटल पूर्वाधार निर्माणमा खर्बौं रुपैयाँ लगानी गरेर निजी क्षेत्रले आफ्नो जिम्मेवारी पूरा गरेको छ । अब सरकारले यो क्षेत्रको विकासका लागि थप कार्यक्रम ल्याउनु जरुरी छ । नत्र खर्बौंको लगानी डुब्नेछ ।

प्रतिक्रिया दिनुहोस्