Logo

बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्ब रुपैयाँभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन ।

सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।

यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैचा, अलैची, अम्रिसो, कुकुर तथा विरालाको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गत आवमा मुलुकले २४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

भन्सार विभागको तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा नेपालबाट रु ४१ अर्ब बढीको कार्पेट (गलैँचा) निर्यात भएको छ । गत आवमा २०७९/८० मा एक ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपैयाँको गलैँचा निर्यात भएको विभागको भनाइ छ ।

यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुुलुकमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा यूरोप नै हो । गत आवमा अमेरिकामा मात्रै सात अर्ब १८ करोड २५ लाख ६७ हजार रुपैयाँबराबरको गलैँचा निर्यात भएको छ ।

साथै जर्मनीमा ८८ करोड ७० लाख २२ हजार रुपैयाँ, बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार रुपैयाँ, इटलीमा ६१ करोड ४६ लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आवमा फ्रान्समा ३४ करोड २५ लाख ९२ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार अघिल्लो आवमा कूल रु नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । त्यस्तै आव २०७७/७८ मा सात अर्ब २४ करोड ४० लाख ५० हजार, आव २०७६/७७ मा छ अर्ब १५ करोड ७७ लाख छ हजार रुपैयाँको तथा आव २०७५/७६मा सात अर्ब ३६ करोड ९६ लाख ९५ हजार रुपैयाँको गलैँचा विभिन्न देशमा निर्यात भएको छ ।

आठ अर्बको अलैँची निर्यात
विभागका अनुसार गत आवमा रु आठ अर्बभन्दा बढीको अलैँची निर्यात भएको छ । मुलुकको वैदेशिक व्यापारमा अलैची निर्यातको मूख्य भूमिका छ । गत आवमा आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको अलैँची मूलुकबाट निर्यात भएको छ । जुन अघिल्लो आवमा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ थियो ।

विभागका अनुसार आव २०७७/७८ मा सात अर्ब एक करोड आठ लाख २९ हजार रुपैयाँ, आव २०७६/७७ मा दुई अर्ब ५३ करोड ९५ लाख ९५ हजार रुपैयाँ तथा आव २०७५/७६ मा दुई अर्ब ७१ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको अलैैची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मूलुकमा अलैँची निर्यात हुने गरेको छ ।

कुकुर तथा विरालाको खानाको निर्यात बढ्दो
पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा विरालाको खानासमेत पर्दै गएको छ । विगत पाँच वर्षमा मात्रै मुलुकबाट १० अर्ब रुपैयाँको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ ।

गत आवमा मात्रै तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको यस्ता वस्तु मूलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । गत आवमा दुई अर्ब ९६ करोड ७६ लाख रुपैयाँका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो । त्यस्तै २९ करोड ४२ लाख ३५ हजार रुपैयाँको क्यानडा, तीन करोड ९३ लाख ५६ हजार रुपैयाँ बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ ।

नेपालले अघिल्लो आवमा दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर तथा विरालाका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ । त्यस्तै आव २०७७/७८मा एक अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ, आव २०७६/७७ मा एक अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ तथा आव २०७५/७६ मा एक अर्ब पाँच करोड २८ लाख ७६ हजार रुपैयाँको यस्ता बस्तु मुलुकबाट निर्यात भएको विवरण्मा उल्लेख छ ।

पाँच वर्षमा रु तीन अर्बको अम्रिसो निर्यात
नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट तीन अर्ब ३३ करोड छ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ । गत आवमा एक अर्ब ८८ लाख रुपैयाँको अम्रिसो भारत निर्यात भएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मूख्य गन्तव्य भारत हो ।

विभागको विवरणानुसार अघिल्लो आवमा रु ६९ करोड ९८ लाख ६२ हजारको अम्रिसो नियात भएको छ । त्यस्तै आव २०७७/७८मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँको, आव २०७६/७७मा रु ५५ कराड ७४ लाख ७८ हजार तथा आव २०७५/७६ मा ४० करोड ५७ लाख ३९ हजार रुपैयाँको अम्रिसो मूलुकबाट निर्यात भएको छ ।

एक वर्षमा ४४ करोड रुपैयाँको यार्सागुम्बा निर्यात
विभागका अनुसार गत आवमा ४४ करोड ३१ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्ष यताकै उच्च हो ।

अघिल्लो आवमा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७७/७८ मा १५ करोड ७६ लाख २५ हजार रुपैयाँको, आव २०७६/७७ मा २० करोड २२ लाख ३५ हजार रुपैयाँको तथा आव २०७५/७६मा रु १७ करोड ९४ लाख आठ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको छ ।

विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन् ।

प्रतिक्रिया दिनुहोस्