युवाले सुरु गरे माछापालन «

युवाले सुरु गरे माछापालन

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारका युवाले सामूहिक माछापालन सुरु गरेका छन् । ६ जना युवाले निरन्तर कृषक समूह गठन गरी गाँउमै माछापालन सुरु गरेका हुन् ।
प्रतिव्यक्ति ६० हजार रुपैयाँ र गाउँपालिकाको १० लाख ५० हजार रुपैयाँ अनुदानमा उनीहरूले ३ वटा पोखरीमा माछाका भुरा हालेका छन् । ७० रोपनी जग्गा भाडामा लिएका उनीहरूले अहिले पहिलो चरणमा १० रोपनी जमिनमा ३ वटा पोखरी खनेर माछाका भुरा हालेको सञ्चालक सुदिप कार्की गौरवले बताए ।
पोखरीमा रघु, नैनी, कमनक्राफ्ट जातका माछा हालिएको छ । माछाका भुरा जनकपुरबाट ल्याइएको उनले बताए । “सुनकोसीको तिरमा बसेर पनि तराईका माछा खाइरहेका छौं,” कार्कीले भने, “तराईका माछालाई सुनकोसीको पानीले पखालेर वेच्नुभन्दा गाउँमै माछा उत्पादन गरौँ भनेर माछापालन सुरु गरेका हौं ।” बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सञ्चालित होटलले बाहिरी जिल्लाबाट माछा ल्याउने गरेका छन् । ती सबै होटलका भान्छासम्म जिल्लाकै लोकल उत्पादन पु¥याउने आफूहरूको उद्देश्य रहेको उनले बताए । “गोलञ्जोर र सुनकोसी गाउँपालिकामा मात्रै सयौंको संख्यामा होटल सञ्चालन छन्, ती होटलमा असोज महिनादेखि नै माछा पु¥याउने योजना छ,” कार्कीले भने, “३ वटा पोखरीमा साना–ठूला गरी भुरा मिलाएर हालेका छौं । अहिले हालेको ठूला फौस भुरा असोजमा तयार हुन्छ ।” अहिले पोखरीमा ४ हजार ५६० भुरा र २२ सय फौसका भुरा हालिएको उनले बताए । असोजदेखि माघसम्म माछा बिक्री वितरण गरिने छ । साथै माछासँगै १५ वटा हाँस पनि पालिएको कार्कीले बताए ।
कुल १७ लाख रुपैयाँ लगानीमा सुरु गरिएको माछापालनबाट वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको उनले बताए । “उत्पादन गर्न सके बजारको सम्भावना राम्रो छ । व्यवसायीहरूले भने जस्तै उत्पादन भयो भने सबै खर्च कटाएर ६ लाख आम्दानी हुन्छ भन्ने आशा छ,” कार्कीले भने, “यहाँको हावापानी माछाका लागि उपयुक्त छ भनेरै लगानी गरेका हौं । पानीको कुनै समस्या छैन ।” यो वर्ष ३ वटा पोखरीलाई परीक्षणको रूपमा हेरिएको भन्दै कार्कीले उत्पादन राम्रो भए अर्काे वर्ष ७० रोपनी जग्गामा नै माछा पालन गर्ने सोच बनाएको बताए ।
उनीहरूले व्यावसायीकरूपमा माछापालन सुरु गरेसँगै स्थानीय एक युवाले रोजगारीसमेत पाएका छन् । माछाको रेखदेखका लागि खान, बस्नबाहेक मासिक १५ हजार रुपैयाँ दिएर एक जनालाई काममा राखिएको उनले बताए ।
गाउँमै पहिलो पटक माछा व्यवसाय थालनी गरेका युवा गाउँपालिकालाई नै माछा पकेट क्षेत्रको रूपमा विकास गर्न जुटेका छन् । गाउँपालिकाले आर्थिकसँगै प्राविधिक सहयोग गरिदिए अझै व्यवसाय गर्न सहज हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्