नेपालमा गाँजाखेतीको बहस

गाँजा सेवन गर्दा नशा दिने हुँदा यसलाई लागूऔषध मानिन्छ । यो नेपाल तथा दक्षिण एसियाका पहाडी भागमा पाइने एक प्रकारको वनस्पति हो । गाँजा फूल, पात र जरालाई सुकाएर बनाइन्छ भने पातलाई पिसेर भाङ बनाइन्छ । यसको प्रयोग युगौंदेखि हुँदै आएको छ । नेपालमा गाँजा, भाङ प्रतिबन्ध छ । लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ३ मा गाँजालाई लागूऔषधका रूपमा परिभाषित गर्दै भनिएको छ ।
नेपालमा गाँजाको इतिहास
नेपालमा गाँजाको उत्पादन, बिक्री–वितरण र प्रयोग खुला देखेर धेरै हिप्पीहरू गाँजाकै लागि नेपाल आउन थालेपछि सरकारले सन् १९६१ मा नयाँ कानुन ल्यायो । गाँजा बिक्रीका लागि करिब ३० वटा पसललाई लाइसेन्स दिइयो र त्यहाँबाट कर उठाउन थालियो । त्यस समय पसलहरूमा ‘यहाँ गाँजा र चरेस पाइन्छ’ लेखिएको बोर्ड राखिएको हुन्थ्यो । त्यस समय नेपालमा उत्पादित गाँजा विश्वमै गुणस्तर कोटीको गाँजाको रूपमा मानिन्थ्यो ।
२००८ सालमा खाद्य तथा कृषि मन्त्रालयले प्रत्येक जिल्लामा १० बिघा जग्गामा गाँजाको खेती गर्न पनि आह्वान गरेको थियो । यता तराईका बारा, सिरहा, धनुषालगायत जिल्ला र पश्चिमका हिमाली जिल्लाहरूमा ठूलो मात्रामा नगदे बालीका रूपमै गाँजाखेती गरिन्थ्यो । त्यस बेला नेपाल सरकारले गाँजाबाट निकै राम्रो राजस्व प्राप्त गथ्र्यो । सो समयमा हजारौं अमेरिकी युवा नेपालमा गाँजाकै लागि आउने गरेका थिए । कति त दुव्र्यसनमा फसेर यतै लामो समय बिताउने गर्थे । उनीहरूसँगै वैदेशिक मुद्रा नेपाल भित्रिएको थियो । यो अमेरिकाको लागि चिन्ताको विषय बन्यो ।
प्रयोगका दृष्टिले गाँजा लागूऔषध एवम् औषधीय दुवै खाले वनस्पति मान्न सकिन्छ । विश्वका विभिन्न मुलुकले गाँजालाई वैधानिकता दिन थालेको सन्दर्भमा यसलाई लागूऔषधको रूपमा मात्रै नहेरी गैरअपराधीकरण विषयमा अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुसन्धानका तथ्यहरूलाई आधार बनाएर आर्थिक रूपान्तरणका लागि प्रयोग गर्नु आजको आवश्यकता हो ।
यही समय संयुक्त राष्ट्रसंघले ‘द सिंगल कन्मेसन अन नार्कोर्टिक ड्रग्स, १९६१’ पारित गर्यो, जसले गाँजालाई पनि अफिमसरहको कडा खालको लागूऔषध मान्दै यसको प्रतिबन्ध लगायोे । पछि अमेरिकाका राष्ट्रपति रिचार्ड निक्सनले सन् १९७१ जुलाईमा ‘वार अन ड्रग्स’ घोषणा गरी लागूऔषध प्रयोग गर्नेलाई नम्बर वान शत्रु ठानी यसको नियन्त्रणमा ठूलै रणनीति अपनाएका थिए । संयुक्त राष्ट्रसंघको १९६१ को सन्धिमा नेपालले पनि हस्ताक्षर गरोस् भन्ने अमेरिका चाहन्थ्यो ।
यसका लागि अमेरिकाको अनुरोधमा राष्ट्रसंघले नेपाललाई दबाब दियो । सन् १६ जुलाई, १९७३ मा नेपालले यस सन्धिमा हस्ताक्षर गर्यो । परिणामस्वरूप नेपालमा ‘लागूऔषध नियन्त्रण ऐन, २०३३’ लागू भयो, जसअनुसार गाँजाको खेती, भण्डारण, सेवन र बिक्री–वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो ।
गाँजाबाट हुने फाइदा
गाँजा विष मात्र होइन, प्रयोग गर्न जानेमा औषधि पनि हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार गाँजा वा भाङमा औषधीय गुण हुन्छ । विश्वको करिब २.५ प्रतिशत जनसंख्याले गाँजा खाने गर्छन् । सहज रूपमा उपलब्ध हुने भएकाले यसका प्रयोगकर्ताको संख्या बढ्दै गएको मानिन्छ । गाँजालाई प्राकृतिक चिकित्सा क्षेत्रमा मानसिक रोगको उपचारमा पनि प्रयोग गरिन्छ । एकाग्रताको कमी हुने मानिसलाई डाक्टरहरूले सही मात्रामा प्रयोग गर्न सल्लाह दिन्छन् ।
छिटो–छिटो पिसाब आउने समस्या भएकाहरूको उपचारमा पनि यसको प्रयोग हुन्छ । कान दुखेमा गाँजाको पात पिसेर त्यसको रस राख्नाले राहत मिल्ने बताइन्छ । साथै, धेरै खोकी लागेमा गाँजाको सुकेको पात, पीपलको पात, कालो मरिच र सुठो मिलाएर सेवन गर्न सकिन्छ । गाँजाले क्यान्सरका बिरामीमा केमोथेरापीको नकारात्मक असर कम गराउन पनि सहयोग गर्छ । औषधीय गुणले भरिएको गाँजा तनाव, चिन्ता र नैराश्यदेखि पागलपनसम्मको मानसिक रोगको घरेलु तथा अचुक आयुर्वेदिक औषधि हो ।
मूच्र्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपच, क्यान्सर सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने विभिन्न वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेका छन् । गाँजाको बोटबाट विभिन्न औषधि, तेल, उच्चस्तरीय धागो, कागज, उच्च गुणस्तरको कार्डबोर्ड र प्लाइबोर्ड निर्माण गर्न सकिन्छ । यसैगरी जैविक इन्धन, जनावरका लागि उच्च प्रोटिनयुक्त दानालगायत ५० भन्दा बढी बहुउपयोगी वस्तुको औद्योगिक तथा व्यावसायिक उत्पादन गाँजाबाट हुन सक्छ ।
गाँजाबाट हुने हानि
गाँजाको अत्यधिक प्रयोगले हानि पनि गर्छ । यसका क्षणिक प्रभावहरूमा अल्पकालीन स्मरणशक्तिको कमी, मुख सुक्ने, असन्तुलित चाल, आँखाहरू राता हुने र मानसिक उन्माद वा अवसादको भावना हुन सक्छन् । यसै गरी किशोरावस्थामै गाँजा प्रयोग गर्न थालेका किशोर–किशोरीहरूमा देखिने दीर्घकालीन दुष्प्रभावहरूमा, व्यसन र कमजोर मानसिक क्षमता देखिन्छ ।
यसैगरी गर्भवती महिलाले गाँजाको प्रयोग गर्दा भ्रूणको दिमागमा घातक असर पर्छ ।
मानसिक रोगबाट ग्रसित व्यक्तिहरूमा गाँजाले अझ बढी हानि गर्छ । हालै मात्र हार्वर्ड विश्वविद्यालयको एक टोलीले गरेको अनुसन्धानमा कलिलो उमेर समूहका व्यक्तिहरूमा गाँजाले मानसिक रूपमा अत्यधिक प्रभाव पार्ने गरेको निष्कर्ष निकालिएको छ । त्यसैले गाँजा प्रयोगको सही मात्रालाई प्रमाणीकरण गर्न नसके यसले भयावह स्थिति सिर्जना गर्न सक्ने चुनौती उत्तिकै रहेको देखिन्छ ।
गाँजाप्रतिको आम दृष्टिकोण
विश्व समुदायमा एक समय खतरनाक लागूऔषधको रूपमा लिइने गाँजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन हुँदै गएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाँजा खुला गरिएको छ । त्यसैगरी बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन, थाइल्यान्ड आदि देशहरू गाँजा प्रयोगमा केही उदार हुँदै गएका छन् । अमेरिकाका २३ राज्यले गाँजालाई औषधिको रूपमा प्रयोग गर्न अनुमति दिएका छन् । भारत र चीन पनि गाँजा उत्पानका सम्बन्धमा आंशिक रूपमा उदार देखिँदै आएका छन् ।
नेपालमा अझै पनि गाँजालाई लागूऔषधको रूपमा मात्र हेरिन्छ । कानुनी रूपमा गाँजाखेती दण्डनीय पनि छ । त्यसैगरी गाँजाको नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने र यसको समर्थनमा केही बोले वा लेखे पनि त्यसलाई नकारात्मक रूपमा हेर्ने दृष्टिकोण छ । साथै, हाल विश्वमा गाँजालाई औषधिजन्य उत्पादनका रूपमा उपयोग गर्दै आर्थिक लाभ लिन थालिएको पक्षलाई नजरअन्दाज गर्ने गरिएको छ ।
त्यसैगरी सामाजिक दुष्परिणामबारे सचेत भई सोहीअनुसार कानुन निर्माण गरी औषधिजन्य उत्पादनका लागि गाँजाखेती खुला गरिनुपर्ने तर्क पनि उठ्न थालेका छन् । हालै मात्र बजेटमा औषधि प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता खोजिने भनी उल्लेख गरिएबाट भविष्यमा नेपालमा गाँजाखेतीलाई अर्थोपार्जनको माध्यम बनाउन सकिने सम्भावना छ ।
गाँजाबारे अर्थदृष्टि
गाँजाको बोटका कलिला पात र यसका अन्य प्रशोधित रासायनिक पदार्थलाई औषधीय प्रयोगका लागि बिक्री–वितरण गर्न उपलब्ध गराइएको उत्पादनलाई औषधीय गाँजा भनिन्छ । पछिल्लो समय विश्वभरि नै यस्तो औषधीय गाँजाको माग हरेक वर्ष बढिरहेको छ । एक तथ्यांकका आधारमा गत वर्षको तुलनामा यस वर्ष औषधीय गाँजाको माग करिब २२ प्रतिशतले बढेको र यो वर्ष मात्र विश्व बजारमा करिब ३ हजार ५ सय करोड अमेरिकी डलर (करिब ४३ खर्ब ४० अर्ब रुपैयाँ) बराबरको कारोबार भएको अनुमान गरिएको छ ।
नेपालमा पनि गाँजालाई वैधानिकता दिने विषयमा बेलाबखत चर्चा भइरहन्छ । नेपालको माटो गाँजाखेतीका लागि राम्रो रहेको, गाँजाबाट किसानले मनग्य आम्दानी गर्न सक्ने दलिल पेस गर्दै केही सभासद्हरूले यसमाथिको प्रतिबन्ध हटाउनुपर्ने मागसमेत राख्दै आएका छन् । गाँजाखेती फुकुवा गर्न विधेयक पेस गर्ने क्रममा गाँजाको कारोबार गर्न सके नेपालको बजेट ६० खर्बसम्म हुने कुरा बताइएको छ । यसले गाँजाखेतीका लागि युवाहरूको आकर्षण बढ्न सक्ने र वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने प्रवृत्तिमा कमी ल्याउन सकिने देखिन्छ ।
साथै, औषधिजन्य पद्धार्थको उत्पादन र निर्यातबाट मनग्य वैदेशिक मुद्रा आयात गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । गाँजाको उपयोग औषधि निर्माण तथा यसको रेसाबाट कपडालगायत सामग्रीको उत्पादन गर्न सकिने र डाँठ फर्निचर बोर्ड तथा इँटासमेतका लागि उपयोगी हुन सक्ने भएकाले गाँजाको अर्थशास्त्रीय उपयोगिता पनि रहेको देखिन्छ ।
निष्कर्ष
प्रयोगका दृष्टिले गाँजा लागूऔषध एवम् औषधीय दुवै खाले वनस्पति मान्न सकिन्छ । विश्वका विभिन्न मुलुकले गाँजालाई वैधानिकता दिन थालेको सन्दर्भमा यसलाई लागूऔषधको रूपमा मात्रै नहेरी गैरअपराधीकरण विषयमा अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुसन्धानका तथ्यहरूलाई आधार बनाएर आर्थिक रूपान्तरणका लागि प्रयोग गर्नु आजको आवश्यकता हो । विश्वमा भइरहेका वैज्ञानिक अनुसन्धानको नतिजाले आज गाँजाप्रति विश्वबजारको दृष्टिकोण बदलिँदै गएको छ ।
अमेरिका, जर्मनी, बेलायत, स्वीजरल्यान्ड, इटाली, मेक्सिको, इजरायल, क्यानडा, जमैका, थाइल्यान्ड, उरुग्वे, पेरु, स्पेन, दक्षिण अफ्रिका, नेदरल्यान्डलगायत ३० भन्दा बढी देशमा यो कानुनी रूपमै उत्पादन र कारोबार हुन थालेको छ । त्यसैले विद्यमान कानुनमा संशोधन गर्दै निश्चित उमेर समूहका मानिस एवम् लागूऔषधको रूपमा गाँजाको प्रयोगलाई बन्देज लगाई औषधीय प्रयोगको सुनिश्चितता गर्दै गाँजा उत्पादनलाई खुला गर्न सके नेपालले पनि गाँजाबाट आर्थिक प्रगति गर्न सक्छ ।
तर, यसो भन्दैमा गाँजाको जथाभावी प्रयोगमा युवाहरूलाई निस्तेज गर्न सकिएन भने यसले सामाजिक बेथिति निम्त्याउन सक्छ । त्यसैले उचित कानुन बनाएर सजगताका साथ गाँजाखेती गर्नु आवश्यक छ । सही ढंगले यसको अनुगमन गर्दै व्यावसायिकतामा जोड दिने हो भने गाँजाखेती देशलाई समृद्ध बनाउने एउटा कोसेढुंगा हुन सक्छ ।