पेट्रोल र डिजेल ५ रुपैयाँ घट्यो

सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आयल निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ५–५ रुपैयाँ घटाएको हो । त्यस्तै, तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाइएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटेको छ ।
सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । यसपटक वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरिएको निगमले बताएको छ । तराई (चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको छ भने दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल परेका छन् ।
नयाँ मूल्यअनुसार अब काठमाडौं, पोखरा र दिपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मटीतेलको प्रतिलिटर १५० पर्नेछ । त्यस्तै तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्नेछ भने डिजेल र मटीतेलको मूल्य प्रतिलिटर १४७.५ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मटीतेलको मूल्य प्रतिलिटर १४९ पर्नेछ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ । मूल्य घटेपछि आन्तरिक हवाई इन्धनको १३६ रुपैयाँ र बाह्यको १.०३५ अमेरिकी डलर कायम भएको छ ।