Logo

बैंकहरुबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन्ः प्रभु साह

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् । आम जनता बैंकहरुबाट ऋण नपाएपछि मिटरब्याजीहरुको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरुबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको भन्दै गरिबले पनि बैंकहरुबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाई दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले गरिब जनताबाट निक्षेप संकलन हुने तर केही मुठीभर मानिसहरुले मात्रै ऋण पाउने अवस्थाको अन्त्य नभएसम्म मुलुकमा समृद्धि सम्भव नरहेको पनि पटकपटक दोहोर्‍याए । अध्यक्ष साहले निक्षेप संकलन भएकाले बैंकहरु खुशी भएपनि ऋण नपाउँदा गरिब जनता मारमा परिरहेको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्