कुकुर फुर्तिलो बनाउन भिडियो गेम «

कुकुर फुर्तिलो बनाउन भिडियो गेम

बुढ्यौली लाग्न थालेपछि स्मरण शक्ति मानिसहरूमा ह्रास हुन थालेजस्तै कुकुरमा पनि स्मरण शक्तिको ह्रास हुने पाइएको छ । स्मरण शक्तिमा ह्रास हुने भएपछि कुकुरमा पनि कामकाज गर्ने प्रवृत्तिमा शिथिलता आउने गर्छ । त्यसैले कुकुरहरूलाई तालिम दिएर फुर्तिलो बनाउने गरिन्छ । युवा अवस्थाका कुकुरहरूमा सिक्ने प्रवृत्ति तीव्र हुन्छ भने बढी उमेरका कुकुरहरूमा यो क्षमता कम हुने गर्छ ।
कुकुरहरूको बारेमा अनुसन्धानकर्ताहरूले बूढो उमेरका कुकुरहरूलाई फुर्तिलो बनाउन कम्प्युटर गेम खेल्न सिकाउन थालेका छन् । अनुसन्धानकर्ताहरूले बढी उमेरका कुकुरहरूलाई कम्प्युटर गेम खेलाउने तालिम दिन थालेपछि उनीहरूमा सकारात्मक परिर्वतन आएको पाइएको बताएका छन् । गेम खेलाउने तालिम दिएपछि उनीहरूमा ह्रास हुँदै गएको संज्ञानात्मक शक्तिको क्षयीकरण रोक्न सकारात्मक परिणाम आएको हो ।
टच स्क्रिनमा कम्प्युटर गेम खेल्न तालिम दिँदा यस्तो परिणाम अनुसन्धानबाट खुल्न आएको हो । बढी उमेरका कुकुरलाई आदेश दिएमा उनीहरू त्यसको अटेर गर्न सक्ने भएको अध्ययनबाट देखिएपछि भिएनास्थित युनिभर्सिटी अफ भेटरिनरी मेडिसिनका अनुसन्धानकर्ताले टच स्क्रिनबाट कम्प्युटर गेम खेलाउँदा बुढ्यौली उमेरमा प्रवेश गरेका कुकुरहरूमा संज्ञानात्मक क्षमतालाई ह्रास हुन नदिने सक्षमता प्राप्त भएका छन् । यस्ता कम्प्युटर गेमबाट मगज र समस्या समाधान गर्ने तालिम दिँदा उनीहरूको मगजले गर्ने कार्यमा हुने ह्रासको क्रम सुस्त हुन पुगेको अनुसन्धानकर्ताहरूले पता लगाका छन् ।
कुकुरलाई दिइने परम्परागत तालिमबाट प्राप्त हुन नसकेको उपलब्धी नयाँ प्रविधिबाट पाइएको जनाइएको छ । अध्ययनअनुसार पाका उमेरका कुकुरहरू सामान्य रूपले हाम्रो जीवनसँग एकाकार हुन्छन् । हामीले ती कुकुरहरूले गर्ने अटेरी वा हट्ठीपनालाई प्रायः माफ गर्ने गर्छौं । यसका अतिरिक्त त्यस्ता कुकुरहरूको बढ्दो उमेरको सीमालाई ध्यान दिई हामीले उनीहरूलाई तालिमहरूबाट टाढा राख्न खोज्छांै र उनीहरूको साटो युवा जनवारहरूलाई तालिमका लागि रोज्छौं ।
टच स्क्रिनका गेम खेलाउने अध्ययनसँग सम्बद्ध अनुसन्धानकर्ताहरूले कुकुरहरूलाई दिइने भौतिक तालिमको राम्रो विकल्प टच स्क्रिन गेम भएको दाबी गर्छन् । कठोर किसिमको भौतिक तालिमलाई बूढा कुुकुरहरूले पूरा गर्न सक्दैनन् । तर उनीहरूले मगजलाई सक्रिय पार्ने यस्ता कम्प्युटर गेमहरूबाट दिइने तालिमप्रति उत्सुकता जनाउने गर्छन् । कुकुर पालेर रमाउने व्यक्तिहरूका लागि उनीहरूको कुकुरलाई मानसिक रूपमा फिट राख्न टच स्क्रिन प्रविधि उपयोगी हुने अनुसन्धानकर्ताहरूको दाबी छ । यस्तो खाले तालिमले कुकुरहरूको मानसिक क्रियाकलापलाई ह्रास हुनबाट जोगाउँछ ।
नयाँ अध्ययनअनुसार कम्प्युटर गेम पुरस्कार प्रणालीबाट जोडिएका हुन्छन् । जब यस्ता क्रियाकलापमा कुकुरहरू सहभागी हुन्छन्, त्यतिखेर उनीहरूको मगजको शक्तिलाई वृद्धि गराउँछ र भौतिक तालिमको मागलाई विस्थापित गराउँछ । यो प्रक्रियालाई प्रयोगशाला अध्ययनबाट परीक्षण गरिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार अब यो अध्ययन विधिको परीक्षण प्रक्रियालाई मानिसहरूको लिभिङ रूमको मैत्रीपूर्ण परिवेशमा सञ्चालन गरिनेछ । यसबाट कुकुर पाल्नेहरूका लागि आफ्ना कुकुरहरूलाई टच स्क्रिन तालिम दिन सहजता प्राप्त हुनेछ ।
यो अध्ययनले बूढो उमेरका कुकुरलाई मानिससँग तुलना गरेको छ । कुकुर र मानिसका लागि सुडोकु पजल नामक कम्प्युटर गेमबाट यो तुलनात्मक अध्ययन गरिएको छ । यो अध्ययन प्रतिवेदनका लेखक लिसा वालिसले टच स्क्रिन विधिमा प्रयोग गरिएका बूढो उमेरका कुकुर र युवा उमेरका कुकुरहरूबीचको समाजिकीकरण वा चुनौतीको अवस्था त्यति फरक खालको नरहेको बताइन् ।
अध्ययनले जनाएअनुसार जब हाम्रो कुकुर बुढो हुन जान्छ, हामीले अचेतन मनले उनीहरूलाई दिइने नियमित तहको तालिमलाई घटाउँछौं । तर यो बुढो कुुकुरहरूको हितमा नभएको विषयमा वालिसले सावधान गराउँछिन् । वालिस भन्छिन्, “यो व्यवहारले जनावरहरूको मानिसक अनुभवमा हुने सकारात्मक सिर्जनात्मक क्षमताको विकासका अवसरलाई बाधा पार्छ । बूढो उमेरमा उनीहरूको सिक्ने क्षमता जिवितै हुने हुनाले नियमित सिकाइलाई बेवास्ता गर्न हुँदैन ।”
मानिसहरूमा हुनेजस्तै बढ्दो उमेरका कुकुरहरूमा डोपामाइन उत्पादन खस्किँदो अवस्थामा हुन्छ । डोपामाइनको ह्रासले यसले गर्दा स्मरण क्षमता र गतिशीलतालाई परिचालन क्षमतामा ह्रास ल्याउँछ । संज्ञानात्मक सीपको विशिष्ट तालिमको सहयोगले प्राकृतिक रूपमा हुने यो ह्रासलाई रोक्न सकिने अध्ययनबाट थाहा भएको हो । यो अध्ययनका अनुसन्धानकर्ताहरूले कुकुरलाई टच स्क्रिनसँग परिचित हुन चुनौतीपूर्ण भएको स्वीकार गरे । तर एक पटक जनावरले कम्प्युटर गेमप्रतिको उत्सुकता जगाउन ट्रिक थाहा पाएमा यो सहज हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
वैज्ञानिकहरूले पता लगाएअनुसार सामान्य रूपमा युवा पाल्तुहरूको मूल्यांकन गर्न टच स्क्रिन प्रयोगमा रहेका छन् । यस्ता उपकरणको प्रयोग बूढो उमेरका कुकुरलाई प्रभावकारी तालिम दिन सहयोगी हुनेछन् । अध्ययनका सहलेखक लुडविग हुबरले भने, “टच स्क्रिन अन्तरक्रिया युवा कुकुरको बानी व्यवहारको विश्लेषण गर्न प्रयोग गरिन्छ । तर हामीले यसको प्रयोग गरी बढ्दो उमेरका कुकुरहरूले पनि यो संज्ञानात्मक तालिम विधिप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेको दर्शायौं ।”
यस्ता तालिममा सहभागी पुरस्कृत गरिएका कुकुरहरूको व्यवहार महत्वपूर्ण हुन्छन् भन्दै हुबरले भने, “पुरस्कार प्रणालीमा आधारित यो तालिमले कुनै नयाँ वा चुनौतीपूर्ण काम जनावरबाट गर्न लगाउँदा उनीहरूलाई प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्छ ।” अध्ययन प्रतिवेदनका लेखकहरूका अनुसार टच स्क्रिनले मगजलाई प्रेरित गर्ने कुकुरको अनुभव बढ्दो उमेरका मानिसहरूले कुनै मनोरञ्जक कार्य गरेर पाउने नयाँ सिकाइको नयाँ अनुभव जस्तो हुनेछ । हुबरले भने, “नियमित मगजको तालिमले हामीमा हलचल ल्याउने होइन, बढ्दो उमेरका कुकुरहरूमा पनि त्यस्तो हुन्छ । उनीहरूको प्रेरणा र व्यस्ततालाई बढाउँदै सिकाइका अवसरहरूको अधिकतम अवसर उपलब्ध गराउँछ ।”
सुस्त स्मरण शक्ति वा तालिमको अभावको परिणामले कुकुरहरूमा हुने मानसिक ह्रासमा कतिको असर पार्छ भन्ने त्यसको निर्धारण भने गरिएको छ । तर उनीहरूले टच स्क्रिनको मगज प्रेरणा (ब्रेन टिजर)ले स्मरण क्षमता बढाउन सहयोगी हुने पता लगाएका छन् । अनुसन्धानकर्ताहरूको टोलीले यो अध्ययनबाट टेक्निसियन वा सफ्टवेयर डिभलपरहरूलाई मात्र प्रेरित गर्दैन, यसले कुकुरका मालिकहरूलाई उनीहरूका कुकुर भविष्यमा सहयोग गर्ने विषयमा रूचि बढाउने विश्वास व्यक्त गरेको । यो तालिम विधिको विकासमा अथक प्रयास गरेकी वालिसले भनिन्, “हाम्रो यो वैज्ञानिक विधिले जनावरमा जीवनभर सिक्न सक्ने क्षमताको महत्वबारे ज्ञान अभिवृद्धि गराउने एक उत्साहप्रद वैज्ञानिक परियोजना प्रस्तुत गर्न सक्छ ।”
मानव जीवनमा जनावरहरूको उपयोग विभिन्न कार्यका लागि मानव समाज शिकारी युगमा रहेका बेला देखि भईआएको छ । कुकुरको प्रयोग शिकारी युगमा शिकारको खोजीका लागि गर्ने गरिएको मानवशास्त्रीहरूको अध्ययबाट थाहा हुन्छ । डुलुवा जीवनपछि मानव समाज स्थानविशेषमा बस्न थालेयता कुकुर उनीहरूको बासस्थानको सुरक्षाका लागि उपयोग हुँदै आएको भनाइ मानवशास्त्रीहरूको अध्ययनबाट थाहा हुने गरेको छ । जनावरहरूको मगज विकासका लागि यो प्रविधि यसका अनुसन्धानकर्ताहरूले दाबी गरेअनुसार फलदायी हुनेमा विश्वास गर्न सकिने ठाउँ प्रशस्त छ ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्