‘६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् ।
शुक्रबार परिसंघको २०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चुनौतीपूर्व अर्थतन्त्रकाबीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नुपर्ने अवस्था रहेको बताए । उनले मौद्रिक नीति लगानी मैत्री र खुकुलो नभएर ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउनु माग गरे ।
उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धि ७३ बुँदा सफल कार्यान्वयनक हुन आवश्यक रहेको बताए । उनले आर्थिक संवाहक निजी क्षेत्रले सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । उनले लगानीको वातावरण निर्माणका लागि राज्य प्रशासन संयन्त्र सहयोगी होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए ।
अध्यक्ष अग्रवालले व्यवसायीहरुले अहिले भएको व्यवस्थामा लगानी गर्ने र छोटो अवधिमा नै नीतिगत परिवर्तनले लगानीको सुनिश्चितता प्रभावकारी नहुने अवस्था रहेको बताए । उनले लगानीको वातावरण सुनिश्चित गर्नको लागि कम्तिमा १० वर्ष ऐन, नीति, नियम परिवर्तन नहुने सरकारले ग्यारेन्टी गर्नुपर्ने बताए । उनले यस्तो ग्यारेन्टी भए मुलुकलाई आर्थिक समृद्धिमा लैजान मद्दत पुग्ने बताए ।