उच्च व्यापारघाटाले बढाएको चिन्ता «

उच्च व्यापारघाटाले बढाएको चिन्ता

आन्तरिक उत्पादन क्षमता बढाउनका लागि अब नयाँ नीतिका साथ अघि बढ्नु जरुरी छ ।

भन्सार विभागले भर्खरै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७५-७६ को बाह्य व्यापारको तथ्यांकले कहालीलाग्दो चित्र प्रस्तुत गरेको छ । गत आर्थिक वर्षभरिमा कुल १४ खर्ब १८ अर्बको आयात हुँदा मुलुकले जम्मा ९७ अर्बको मात्र निर्यात गर्न सकेको छ । देशको निर्यात डालो नै कमजोर रहँदा व्यापारघाटाको आयातन पनि १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको बजेटभन्दा बढी हो । गत आर्थिक वर्षमा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेकोमा मुस्किलले १० खर्ब ९५ अर्ब रुपैयाँमात्र खर्च गर्न सक्यो । मुलुकको व्यापारघाटाले बजेटको आकारसमेत नाघ्नु भनेको गम्भीर चिन्ताको विषय हो । यसले मुलुकको समग्र बाह्य व्यापार सन्तुलन कमजोर रहेको भन्ने देखाउँछ । मुलुकले बाह्य मुलुकमा आफ्ना उत्पादनको बजारीकरण त गर्न सकेन नै, निर्यातमूलक उत्पादन विस्तारका लागिसमेत ठोस पहल नै गर्न सकेन । निर्यात बढाउनका लागि नेपाल एकीकृत व्यापार रणनीति बनाएको भए पनि रणनीतिले प्राथमिकता दिएका उत्पादनहरूलाई नै प्राथमिकता दिने गरी थप योजना तथा कार्यक्रम सरकारले बनाउनै सकेन । बढीजसो कृषिजन्य उत्पादनमा केन्द्रित रहेको यो रणनीतिले पनि कुनै ठोस प्रतिफल दिन सक्ने थिएन र भयो पनि त्यस्तै । मुख्यतया भारत, बंगलादेश र चीनको स्वशाषित क्षेत्र तिब्बत नेपालका कृषिजन्य वस्तुका प्रमुख बजार हुन् । भारतसँगको निर्यात व्यापारमा नेपालले ठूलो अनुपातमा गैरभन्सारजन्य अवरोध बेहोर्नुपरिरहेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक गरेको श्वेतपत्रमा उच्च स्तरको व्यापारघाटालाई अर्थतन्त्रकै लागि जोखिम भन्ने उल्लेख गरेका थिए, तर सरकारको पहिलो बजेट आएदेखि त्यसको कार्यान्वयनमा समेत उच्च व्यापारघाटा नियन्त्रणका लागि प्रभावकारी व्यवस्था गर्न नसक्दा व्यापारघाटा चुलिएको हो । अर्थमन्त्रालयका प्रवक्ताले हालै सरकारले राखेको लक्ष्यअनुसार आयात नभएका कारण कम भन्सार राजस्व उठेको बताएका थिए । जब सरकारले नै औपचारिक रूपमा आयात बढाउने र त्यसबाट बढी राजस्व आर्जन गर्ने लक्ष्य राख्छ भने उच्च तहको व्यापारघाटा नियन्त्रण हुन सक्ने वा सरकारले त्यसका लागि कुनै ठोस पहल गर्न सक्ने सम्भावना पनि निकै कम रहन्छ ।
व्यापारघाटा कम गर्नका लागि आन्तरिक उत्पादनमा जोड दिनु नै सबैभन्दा प्रभावकारी उपाय हो नै, त्यसपछिको अर्को उपाय भनेको मुलुकका लागि गैर–आवश्यक र तुलनात्मक रूपमा विलासिताका वस्तु भनेर चिनिएका वस्तुको आयातलाई निरुत्साहित गर्ने नै हो । आन्तरिक उत्पादनलाई बढावा दिन र तिनको संरक्षणका लागि विश्वका धेरै मुलुकले परिणात्मक बन्देजका उपाय अवलम्बन गर्दै आएका छन्, जसलाई विश्व व्यापार संगठन (डब्लूटीओ)ले समेत धेरै हदसम्म अनुमति प्रदान गर्छ । नेपालका हकमा अतिकम विकसित मुलुक (एलडीसी) भएका नाताले डब्लूटीआका कतिपय नियम र व्यवस्थाहरूमा खुकुलोपन कायम गरिएका छन् । नेपालले आफ्नो अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र आन्तरिक उत्पादनको संरक्षणका लागि यस्ता व्यवस्थाहरूको बढीभन्दा बढी उपयोग गर्न सक्नुपर्छ । परम्परागत ढर्राका व्यापार रणनीति र कार्ययोजना विफल नै सावित भइसकेका छन्, त्यसका पछाडि हाम्रो क्षमताजन्य कमजोरीले विशेष भूमिका खेलेको छ । त्यसैले आन्तरिक उत्पादन क्षमता बढाउनका लागि अब नयाँ नीतिका साथ अघि बढ्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्