Logo

फर्जी आवेदनले रोकियो घोराही सिमेन्टको आईपीओ

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया रोकेको छ । कम्पनीको आईपीओमा फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारेको चर्चा चल्न थालेपछि अनुसन्धानका लागि भन्दै बोर्डले सोमबार आईपीओ निष्कासनको प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हो ।

बोर्डका सहायक निर्देशक सरिता महर्जनले सूचना जारी गर्दै कम्पनीको आईपीओ प्रक्रिया तत्काललाई रोक्ने निर्णय भएको जानकारी दिएकी छन् । कम्पनीको आइपीओमा १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवेदन परेको थियो । आईपीओमा फर्जी आवेदन परेको देखिएपछि सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले बोर्डलाई जानकारी गराएको थियो ।

बोर्डका अध्यक्ष रमेश हमालले फर्जी आवेदनसँगै रेटिङको समेत गुनासो आएपछि प्रक्रिया स्थगन गर्नुपरेको बताए । कारोबारसँग उनले भने, “हामीले लगानीकर्ताको लगानीको सुरक्षा गर्नुपर्छ । गुनासो आएपछि साना वा ठूला जस्तो केसलाई पनि अनुसन्धान गरेर स्पष्ट पार्नुपर्छ । सोहीअनुरुप घोराही सिमेन्टको आईपीओ प्रक्रिया स्थगन गरिएको हो ।”

कम्पनीले माग गरेको भन्दा बढी आवेदन भइसक्दा पनि म्याद थप्न अनुरोध गरेको थियो । आईपीओमा मागभन्दा बढी आवेदन परेपछि पनि समय थपका लागि अनुरोध भएको र यसबारे स्पष्टीकरण माग गर्दा प्राप्त नभएको बोर्डले जनाएको छ । बोर्डले सर्वसाधारण लगानीकर्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियत जाँचबुझका लागि सार्वजनिक निष्कासन प्रक्रिया स्थगित गरिएको जनाएको छ ।

बोर्डले आईपीओ निष्कासन प्रक्रिया रोक्नुअघि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले झुटा आवेदन परेको देखिएको बोर्डलाई जानकारी गराएको थियो । कम्पनीको आईपीओमा १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवेदन परेको थियो । अत्यधिक फर्जी आवेदन परेपछि सीडीएस एण्ड क्लियरिङले घोराही सिमेन्टको आईपीओमा झुटो आवेदन देखिएको जनाएको थियो ।

लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने, “सानो कित्ता वा हजार रुपैयाँको सेयर भर्नेहरूमा पनि केही यस्तो केस हुन्थ्यो । तर, यति ठूलो भोल्युममा भएको थिएन ।” १० लाख कित्ता किन्न ४ करोड ३५ लाख रुपैयाँ आवश्यक हुन्छ । तर, खातामा जम्मा १ लाखभन्दा कम भएकाहरूले पनि त्यति ठूलो कित्तामा आवेदन दिएको पाइएको उनले बताए । उनले भने, “अनुसन्धान नै गरेर मनसायबारे जानकारी लिनुपर्ने देखिन्छ ।”

फर्जी आवेदनमा लगातार वृद्धि भएपछि धितोपत्र बोर्डले इस्यु म्यानेजर हिमालयन क्यापिटललाई तत्काल आवेदन स्थगन गर्न पत्र पठाएको हो । यससँगै कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । बोर्डले कम्पनीको आईपीओ रेटिङमा पनि समस्या देखिएको जनाएको छ । फर्जी आवेदनमध्ये १० लाख कित्ता दरका ९० लाख कित्तामा नौ जनाले आवेदन दिएका थिए । ठूलो संख्यामा फर्जी आवेदन परेपछि कम्पनीको सेयरमा उच्च आकर्षण देखाउन खोजिएको आशंका सरोकारवालाहरूले गरेका छन् ।

कम्पनीले सामूहिक लगानी कोष, कर्मचारी, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको सेयर सबै बिक्री हुन नसकेपछि त्यो समेत थपेर सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो । असार चारसम्म आवेदन दिने म्याद रहेको कम्पनीको सेयरमा मागभन्दा २ गुणा बढी आवेदन परे पनि समय थप भएको थियो । कम्पनीले सोमबार सूचना जारी गरी आवेदन भेरिफाइ भइरहेकाले म्याद थप भएको जनाएको थियो ।

धितोपत्र बोर्डबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा तीन सय प्रिमियम थप गरी प्रतिकित्ता चार सय रुपैयाँको सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । सर्वसाधारणका लागि भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने अनुमति कम्पनीले पाएको थियो ।

झुटा आवेदकलाई कस्तो कारबाही हुन्छ ?

धितोपत्रको सार्वजनिक निष्कासनमा झुटा आवेदन परेमा धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार कारबाही गर्ने व्यवस्था छ । ऐनअनुसार कुनै पनि संगठित संस्था वा कम्पनीले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिएमा झुटा आवेदन ठहर्ने व्यवस्था छ ।

संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा त्यसलाई झुटा एवं जालसाजीयुक्त कारोबार मानिने सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । ऐनको दफा १०१ (३) अनुसार जालसाजीयुक्त कारोबार गर्नेलाई १ देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ । त्यस्तो कारोबारबाट कसैलाई हानीनोक्सानी भएमा क्षतिपूर्ति समेत भराउने व्यवस्था ऐनले गरेको छ ।

पैसा नहुँदा सेयर भरेमा कारबाही हुने

यो घटनासँगै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अबदेखि पैसा नभएको वा सेयरका लागि अपुग रकम भएको बैंक खाताबाट सेयर भरेमा कारबाही हुने जनाएको छ । सोमबार नै सूचना जारी गर्दै क्लियरिङले आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने जनाएको हो । हालसम्म त्यस्तो अवस्थामा सेयर आवेदन रद्दमात्रै हुँदै आएको थियो ।

‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासन (सेयर) भर्दा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेकोभन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार झुटा एवं जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कारबाही हुने ब्यहोरा जानकारी गराउँछौं,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्